पारि क्षितिजमा हेर्दा लाग्दै थियो आज घामले औसत भन्दा बढी नै ताप छर्नेवाला छ। म भने चिसोले मलाई पराजित गर्न नसकोस् भनेर बन्यानमाथि दुई थरि सुइटर र बाहिर हावा छेक्ने ज्याकेट लागाएर निस्किएको थिएँ। आजै जिन्सको पाइन्ट भित्र ट्राउजर पनि लगाएकाे थिएँ।
चिसाे काठमाडाैँ। त्यसमा एकाबिहानै निस्किएकाे म। आफूलाई चिसाेबाट बचाउन दुई-दुई वटा सुइटरले शरीर ढाकेकाे छु। जुत्ता पनि न्यानाे छ। बुबालाई आफैले ‘बाबुको मुख हेर्ने दिन’ किनिदिएको जुत्ता लगाएर। बुबालाई मैले किनिदिएकाे जुत्ता रत्तिभर मन नपरेपछि आमाले आउने बेला मेरो झोलामा राखि दिनुभएको थियो। त्यहीँ जुत्ताको आजै उद्घाटन पनि भएकाे थियाे।
टक्क अडिएकाे छु। बसकाे पर्खाइमा। परैबाट हरियो बस मै उभिए तिर हुँकिएकाे देखेँ। बस देख्ना साथ म अलि चनाखो भएँ। म मात्र थिइन बसकाे पर्खाइमा। म भन्दा अलि पर कलेज ड्रेसमा रहेकी एउटी युवती घरि हातको घडी हेर्दै थिइन्। घरि परबाट आउँदै गरेको बस।
हामी दुवै अन्जान थियौँ। तर दुवै त्यो समयमा एउटै बसको प्रतिक्षामा थियौँ। विश्वास पनि थियो हामीलाई बसले गन्तव्यमा छोड्ने छ। संयोगवस् उनी र म एउटै सिटमा पर्यौँ। किनकि अन्तिम बाहेक कुनै सिट खाली थिएन, बस्नका लागि।
खाली त मेरो मस्तिष्क पो थियो!
कहाँ गइरहेछु? के सोचेर हिडिरहेछु? गर्नु के छ? केही थिएन दिमागमा। फेरि यसो होइन् कि बिना उदेश्य म राजधानी छिरेको हो। कोरिया जान राम्रो इन्स्टिच्युडमा भाषा पढ्न काठमाडौं ओर्लिएको आज तीन दिन भयो। तर म काठमाडौं ओर्लिएकै दिन ललितपुरमा जे घट्ना भयो (काेरिया परीक्षा दिन पाउनु पर्ने माग गर्दै आन्दाेलन गर्दा प्रहरीकाे गाेली लागेर दुई जनाकाे मृत्यु भएकाे थियी) त्यसले मलाई आफ्नो सपनाबारे फेरि एकपटक सोच्न बाध्य बनायो।
समाजिक सञ्जालमा अनेक टिप्पणीहरू छताछुल्ल भएर पोखिरहेका छन्। हुन त टिप्पणी कुन कुराको हुँदैन र? देख्दा लाग्छ समाजका एक हुल मानिस टिप्पणी दिनै जन्मिएका हुन्, समाधान होइन। मेरो छेउमा बसेकी ती युवती बस चढ्नासाथ कानमा इयरफोन लगाएर केही भिडियो हेर्दै थिइन्।
अरुको व्यक्तिगत विषयमा चासो दिन हुन्न भन्ने ज्ञान हुँदाहुँदै पनि मेरो आँखा उनकाे माेबाइलकाे स्क्रिनमा गइहाल्यो। उनी कुनै क्लास लिँदै थिइन्, ह्वाइट बोर्ड अगाडि उभिएको एक जना व्यक्तिसम्म ठम्याउन भ्याएँ। मेरो अनुहार एकाएक उज्यालो भयो। मनै खुशी भएर आयो।
ऊ पनि कुनै भाषाको कक्षा लिदैछिन् भन्ने भान हुदाँ म किन यति बिधि खुसी? न चिनेको छ, न बोलचाल नै भएकाेछ। कुन कुराले मनलाई यति शितलता दिँदैथ्यो, आखिर मलाई?
कुरा के भने सिटमा बस्ने बेला जब मैले ती युवतीको कोटमा विश्वविद्यालयको लोगो देखें त्यहीँदेखि मलाई खल्लो लाग्दै थियो। १२ पछि विदेश जाने रहर र रहरकाबीच उनी कसरी नेपालकै क्याम्पस धाउँदै छिन्? सबै विदेश पलायन भइरहेकाे यस्तो माहोलमा उनी कसरी नेपालमै स्नातक पढ्दैछिन्? यी सब कुरा सोच्दा मात्र पनि मलाई उनी माथि नजानिँदो डाहा लागिरहेको थियो।
यस्ताबीचमा पनि भाषाकै कक्षा लिइरहेको जस्तो देख्दा म खुशी भएको थिएँ, सायद। म भित्रको अहम हाँसेको थियो। म विद्यालयमा एकदमै राम्रो विधार्थी हुँ। त्यस्तो कुनै प्रतिस्पर्धा थिएन जुनमा मैले भाग नलिएको होस्। शिक्षकहरू मलाई एक होसियार छात्र मान्थे र यो केटो त देशको भविष्यको कर्णधार हो भन्थे।
त्यहीँ भविष्यको कर्णधारको तक्मा भिरेको म आज अन्योलपूर्ण भविष्य बोकेर यात्रा गरिरहेको थिएँ। यस्तो यात्रा जसले मेरो रहर त पूरा गर्थ्यो, मेरो बुबा आमालाई केही सुख पनि दिन्थ्यो। तर त्यसको बदलामा मैले आफ्ना क्षमता, प्रतिभा अनि सिर्जनशीलता दबाउनु परेकाे थियाे।
म जस्तो केही गर्नु पर्छ भन्ने हुटहुटी भएको मान्छे कति बेला कुन चिजबाट यता मोडिए मै आफैलाई थाहा छैन। मैले एसइई दिएर आफ्नै ठाउँको विद्यालयमै प्लस टु पढ्छु भन्दा मेरो बुबाको छाति गर्वले फुलेको थियो। मलाई याद छ बुबाले हाम्रो पसलमा आउने जाने प्राय: सबैलाई मेरो छोरो यति बुझ्ने भैसक्यो भनेर घमण्डका साथ भन्ने गर्नुहुन्थ्यो।
त्यो सम्झिँदा अहिले मलाई लाग्छ कुनै पनि बुबाआमाले आफ्ना सन्तानमाथि त्यति बिघ्न घमण्ड नगरेकै राम्रो रहेछ। किनकि आमाबुबाको माया पो स्थिर हुन्छ त। अहिलेका छोराछोरीको रहरमा त व्यापक फेरबदल भैरहने रहेछ। त्यति मात्र होइन विद्यालय स्तरमा अध्ययनमा खासै राम्रो नगर्ने बच्चाले पनि पछि आफूलाई पहिचान बनाउन सक्छ।
छोरोले आफ्नो गाउँसम्म छोडेन भनेर खुसी भएका मेरो बुबालाई छोरोले दिएको एकैपटक देशै छोड्ने निर्णयको सर्प्राइज कसरी मन पर्न सक्थ्यो र?
यसरी आफ्नो सपनामाथि रहरलाई राखेर, बुबाआमाको खुसी भन्दामाथि बुबाआमाको सुविधालाई राखेर, देशमा केही हुन्न सोचेर, पढिरहेको स्नातकलाई चटक्कै छोडि रन्थनिएको मस्तिष्क बोकेर हिँडेको मलाई मजस्तै अर्को देख्दा खुशी लाग्नु स्वाभाविक थियो।
मलाई लाग्यो म जस्तो पनि रैछन् जो त्रिभुवन विश्वविद्यालयको लोगो भएको पोशाक लगाएर अरू देशको भाषा पढ्दैछन्। मलाई लाग्यो म मात्र होइन जो अन्योलमा छु। मलाई लाग्यो म मात्र होइन जो देशमा खुसी छैन। यदि विदेशको भुतै लागेको भए पनि म मात्र छैन जसलाई झाँक्रिको खाँचो छ। यहाँ लाखौँ छन् जसलाई आवश्यक छ विदेशको भूत उतार्न।
बस कालिमाटीको जाममा रोकियो। तर अब म भने मनको उकुसमुकुस रोकेर चुप बस्न सकिनँ। सोधें कुन देश जाने तयारी हो? उनले पनि भनिन्, 'नेपालमै बस्ने यतारी!' हाहाहा म हाँसे! 'नेपालमा बस्न पनि तयारी गर्नु पर्छ र?' 'पर्छ नि! जवाफ आयाे। हामी अरुको भुमीमा टेक्न जुन स्तरको तयारी गर्छौँ, जुन तामझाम गर्छौँ, त्यहीँ तयारी मैले नेपालमा बस्न गर्दा हाँस्नु पर्ने के छ र?' छुट्टै मिठास थियो, उनको बोलिमा।
अनि सम्भावना थियो शब्द–शब्दमा। मलाई प्याच्च बोलेकोमा ग्लानि भयो।
मैले आफ्नो फुत्किसकेको कथन सच्याउने मनसायले थपेँ। मैले आजसम्म अस्ट्रेलिया जाने तयारी, यूरोप जाने तयारी, कोरिया जाने तयारी मात्र सुनेको थिएँ तर आज पहिलो पटक नेपालमा बस्ने तयारी सुन्दा अचम्म लाग्यो।
उनले भिडियो अघिनै 'पज' गरिसकेकी थिइन्। अहिले इयरफोन पनि कानबाट निकालेर भनिन्, 'अहिले सबैको मुखमा अरु देशको नाम मात्र सुनिन्छ जुन गलत होइन। मानिसहरूले अनेक तिक्डम समेत अपनाउँछन् अरुको माटोमा पाइलासम्म राख्न। आफ्नो सपना, जायजेथा, ऋण, ज्यान सबै धितो राख्न तयार छन्।
तर मेरो एउटा मात्र प्रश्न छ, हामीले नेपालमै बस्न चाहीँ के कति प्रयास गर्यौं त? वर्षौंदेखि प्रयास गरेर राज्य, प्रणाली सबै–सबैबाट धोका पाएर कुनै विकल्प नभएकाहरूले अरू भुमीको सपना बुन्नु स्वभाविक हो। तर यहाँ त रत्तिभर प्रयास नगर्ने, आफ्नो सपना पछ्याउने चेष्टासम्म नगरेर यहाँ केही छैन भन्ने भाष्य फैलाएर देश छोड्ने हरूलाई हो प्रश्न, देशमै सान पूर्वक बस्न तपाईंले कति तयारी गर्नु भयो अनि कति प्रयास?'
'नेपालमा बस्ने प्रयास नै नगरी विदेशीदै हुनुहुन्छ भने बिन्ती, यहाँ केही छैन, यहाँ केही पनि हुनसक्दैन। भन्ने भाष्य चाहीँ कम्तीमा नबनाइदिनुहोस्। बालबालिका जो नयाँ सिर्जना, नयाँ उपाय, फरक आशाका साथ हुर्कँदैछन्, कमसेकम उनीहरूको मनोविज्ञानको ख्याल गरेर भए पनि बिनाप्रयत्न धावा नबोलि दिनुहोस्। बरू सक्नुहुन्छ भने विदेशबाट आइफोनकाे साटो साथीभाईलाई विदेशको सिर्जनात्मक आइडिया पठाइदिनु होस्।'
उनले यति भनि नसक्दै आवाज आइहाल्यो सुन्धारा! सुन्धारा! सुन्धारा ल झर्नुस! झर्नुस!
एए.. मैले त एउटा कुरा सोध्नै बिर्सेको अनि तपाईंले नेपालमै बस्न चाहीँ के को तयारी गर्दै हुनुहुन्छ? बसबाट झर्दा जवाफ आयाे–'सुब्बा’को। यसमा नभए पनि मैले अरू तयारीबारे पनि सोचेको छु। ताकी भोलि मैले विदेश जानै पर्ने अवस्था आउँदा पनि कमसेकम मलाई आफूमाथि कुनै गुनासो बाँकी नरहोस्।'
ऊ बसबाट ओर्ली टिकेटलाई नजिकैको डष्टबिनमा फ्याली र मानिसहरूको भिडमा मिसिहाली। मैले भ्याउन्जेल उसको निलो कोर्ट अनि भिरिएको कालो झोलालाई आँखाले देखुन्जेल हेरिरहें। ...ऊ बिस्तारै ओझेल भइ।
करिब एक घण्टाको यात्रामा उसले मलाई यस्तो मानसिकतामा पुर्याइ कि मलाई न केही बोल्न मन थियो न कहीँ जान। म त्यहीँ बेन्चमा थचक्क बसेँ। उ को थिइ! उसले न आदर्शका कुरा गरि न त म विदेश कहिल्यै जान्न नै भनि। उसले मात्र प्रयासको कुरा गरि। जुन ऊ गर्न चाहान्छे। आफ्नो सपनाका निम्ति, सायद आफ्नो जन्मभूमि मै बस्नका निम्ति। ऊ बिना कोसिस आरोप लगाउन चाहान्न आफ्नो देशलाई, सायद।
म ऊ गएको बाटोतिर कुर्दै बसेँ। सायद त्यही बाटो आउँछे कि भनेर। तर उ त आइन तर मेरो मनमा अनौंठो उर्जा भने आयो। लाग्यो कसैले मलाई लहलहैमा लाग्नबाट रोक्यो र सोच्न बाध्य बनायो। यहीं कुरा मलाई मेरा बाबुआमाले भनेको भए मैले बाबुआमालाई पिर परेछ बुढेशकालमा कस्ले पाल्छ भन्ने सोच्थेँ।
अनि कुनै साथीभाईले भनेको भए लाग्थ्यो रिस माने मैले प्रगति गर्छु भन्ने। तर एक अन्जानले भन्दा लाग्यो उसको के स्वार्थ म सित? हैन स्वार्थ त थियो उसको देशमै बसोस्। केही गरोस्, देशकै लागि भन्ने स्वार्थ। अस्तु।