रुसी सेनामा भर्ती भएका थप एक जना नेपालीकाे मृत्यु भएकाे छ।
लमजुङको दूधपोखरी गाउँपालिका–१ घामर चोकका ३२ वर्षीय साजन गुरुङको रुस–युक्रेन युद्धमा मृत्यु भएकाे हाे।
यद्यपि, उनकाे मृत्युबारे सरकारले भने पुष्टि नगरेकाे स्थानीय शिक्षक पृथ्वीराज गुरूङले जानकारी दिए।
शिक्षक गुरूङका अनुसार साजनसँगै रुसी सेनामा रहेका साथीहरुले जर्मनीमा रहेका उनका भाइ कुमार गुरुङलाई मृत्युकाे खबर पठाएका थिए। भाइले साजनको मृत्युको खबर घर पठाएका थिए।
गत भदाै महिनामा राेजगारीकाे सिलसिलामा उनी रुस पुगेका थिए। साजनकाे मृत्युको खबर पाएसँगै उनकाे परिवारले पुस २९ गते काजक्रियासमेत गरिसकेकाे पृथ्वीराजले बताए।
स्थानीय शिक्षकका अनुसार साजनकाे मृत्युबारे दूतावासमा सम्पर्क गर्दा यसबारे खबर नआएको जनाएकाे छ।
याेसँगै रुस–युक्रेन युद्धमा परेकाे एक दर्जनभन्दा बढी नेपालीको मृत्यु भइसकेकाे छ।