अर्घाखाँचीमा प्रहरी महानिरीक्षक (आइजिपी) वसन्त कुँवरकाे गाडीमाथि ढुङ्गा प्रहार भएकाे छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी कार्यक्रमका लागि सन्धिखर्क गएका कुँवरकाे गाडीमा साेमबार दिउँसाे ढुङ्गा प्रहार भएकाे हाे।
ढुङ्गा प्रहारबाट कुँवर सवार गाडीकाे बिच भागकाे ढाेकाकाे सिसा फुटेकाे छ। ढुङ्गा प्रहारबाट फुटेकाे सिसा चालक र जिल्ला ट्राफिक प्रहरी कार्यालका एक प्रहरीले स्टिकर हाउसमा गएर टालेका छन्। उनीहरूले सन्धिखर्ककाे एक स्टिकर हाउसमा २ सय ५० तिरेर गाडीकाे सिसा टालेका छन्।
यद्यपि, याे घटना लुकाउन प्रहरीले गाडी पार्किङ गरिएका बेला ढुङ्गा आफैँ उछिट्टिएर सिसा फुटेकाे उल्लेख गरेकाे छ।
तर, जिल्ला प्रहरी कार्यालय अर्घाखाँची भने आइजिपी कुँवरकाे गाडीमा ढुङ्गा प्रहार गरेकाे भन्दै नेपाली काँग्रेसका एक कार्यकर्तासहित तीन जनालाई पक्राउ गरिएकाे प्रहरी स्राेतले जनाएकाे छ। प्रहरी स्राेतका अनुसार उनीहरूले ढुङ्गा प्रहार गरेकाे हाे वा हाेइन भन्ने यकिन भएकाे छैन तर उनीहरूमाथि आशङ्का गरिएकाे छ।
नेपाली काँग्रेस सन्धिखर्क नगर समिति सभापति बाबुराम भुसालले विद्यार्थी नेतासमेत रहेकाे आफ्ना कार्यकर्तालाई प्रहरी पक्राउ गरेकाे पुष्टि गरे। उनी अहिले घटनाबारे बुझ्नका लागि जिल्ला प्रहरी कार्यालय पुगेका छन्। त्यहीबाट उनले भने, ‘आइजिपीसापकाे गाडीमा ढुङ्गा लागेछ, अनि हाम्रा साथीहरूलाई प्रहरीले समाएर यहाँ ल्याएकाे छ। भन्न त प्रहरीले साेधपुच्छका लागि भनेकाे छ तर बाँकी के हाे अझै स्पष्ट भएकाे छैन। हामी बुझ्ने प्रयासमा छाैँ।’
यता प्रहरी प्रवक्ता एसएसपी दानबहादुर कार्कीले भने आइजिपी सवार गाडीमा ढुङ्गा प्रहार भएकाेबारे अहिलेसम्म प्रधान कार्यालयमा कुनै सूचना नआएकाे बताए। उनले भने, ‘उहाँ (आइजिपी) अर्घाखाँची त जानु भएकाे हाे तर उहाँ सवार गाडीमा ढुङ्गा प्रहार भएकाे भन्ने सूचना भने अहिलेसम्म यहाँ आएकाे छैन।’