नेपालमा आयोजित सांगीतिक रियालीटी शोको पाँचौं संस्करणमा इलामका विनोद राई भ्वाइस अफ नेपाल भएका छन्। उनको जितसँगै भ्वाइस अफ नेपाल नेपालकै नेपाली हुने सही मार्गमा भ्वाइस अफ नेपाल फर्किएको छ।
भ्वाइस अफ नेपाल भनेपछि यो नामले नै नेपालको भ्वाइस हो। नेपालको भ्वाइस अमेरिकाको कुनै भिलमा बसेको भुटानी जो अब अमेरिकी नागरिक भैसकेको छ, हुनुनपर्ने हो। किनकि, यो भ्वाइस अफ नेपाली हैन, भ्वाइस अफ नेपाल हो।
भ्वाइस अफ नेपाली भएको भए यसमा संसारभरकै कोही नेपालीभाषी बनाए पनि हुन्छ तर भ्वाइस अफ नेपाल भनेपछि नेपालकै भ्वाइस हुनुपर्छ।
हुनुपर्ने यही हो तर पैसाका लागि जे पनि गर्ने र नेपाल र नेपालीका नाममा इमोसनल ब्लाकमेलिङ गर्ने भ्वाइस अफ नेपालका आयोजकहरूले न आँखामा नेपाल देखे, न कानमा नेपाल सुने। उनीहरूले अमेरिकी डलर, भुटानी नेगुल्ट्रम र भारतीय रूपैयाँ मात्र देखे। त्यसमा पनि खासगरी अमेरिकामा पुनर्बास भएका भुटानी शरणार्थीहरूको अमेरिकी डलर नै बढी देखे।
त्यही अमेरिकी डलरको बलले सुरूदेखि नै भ्वाइस अफ नेपालको टाइटल प्रभावित भयो। पहिलो सिजनका विजयी दीप श्रेष्ठ टिमका सीडी विजय अघिकारी भुटानीका प्रिय गायक तथा संगीतकार हुन्। उनलाई नेपालीले भन्दा बढी भुटानीले नै चिन्छन्। अहिले त अमेरिकामा रहेका भुटानी संगीतको क्षेत्रमा आफ्नै खुट्टामा उभिन सक्ने भए तर सुरूवाति दिनमा उनीहरूलाई स्वर र संगीत दिएर सघाउनेमध्येमा अधिकारी सबैभन्दा अगाडि छन्। उनी भ्वाइस अफ नेपालको सिजन १ का लागि योग्य प्रतिस्पर्धी नै भए पनि उनलाई जिताउन अमेरिकामा रहेका भुटानीहरूको अमेरिकी डलर नै निर्णायक रहेको भने घाम जत्तिकै सत्य हो।
भ्वाइस अफ नेपाल टाइटल विदेशीलाई दिनु नेपालको अपमान र नेपाली प्रतिभामाथिको अन्याय हो। आफूलाई नेपाली हुँ भन्ने र सधैं नेपालको नाम जप्ने आयोजकले काम र व्यवहार पनि नेपाल र नेपाली नै भएर गर्नुपर्छ।
दोस्रो सिजनमा प्रमोद खरेल टिमका झापाका राम लिम्बूले बाजी मारे। यस सिजनमा सहभागी भुटानीहरू भोटिङ राउण्डमै नपुगेकाले उनीहरूको पैसाले खासै काम गरेन। त्यसैले यो सिजनको उपाधी पनि नामअनुसार नेपालकै ्भ्वाइस लिम्बूको पक्षमा गयो ।
तर, तेस्रो सिजनदेखि भ्याइस अफ नेपालको टाइटल बिटुलिए। नामअनुसार नेपालको भ्वाइसले नजितेर अमेरिकाको कोलम्बसका भुटानी किरण गजमेरले भ्वाइस अफ नेपालको उपाधि जिते। अमेरिकी नागरिक भैसकेको एक भुटानी भ्वाइस अफ नेपाल हुनु आफैंमा एक विडम्बना थियो। जो नेपाल जान पनि भिसा लिएर जानुपर्छ, त्यो भ्वाइस अफ नेपाल हुने यो अचम्मको प्रथा नेपाल भित्र्याउन जति आयोजक जिम्मेवार थिए, त्यतिकै जिम्मेवार थिए कोच प्रमोद खरेल। उनले केही चरणमा किरणलाई देखिने गरी पक्षपोषण गरेर नै भोटिङ राउण्डसम्म पुर्याइदिएका थिए। त्यसवापत उनलाई अमेरिकामा हुने भुटानीको मेरो भ्वाइस कपमा जज बनाइदिने लगायतका आश्वासन बाँडिएको सुन्नमा आएको थियो।
एक भुटानी-अमेरिकी भ्वाइस अफ नेपाल हुनु हाँस्यास्पद भए पनि किरण आफैंमा एक प्रतिभाशाली गायक हुन्। उनले गलत टाइटल लिए भन्ने मात्र हो।
चौथो सिजनमा आएर अर्का भुटानी-अमेरिकी करण राई भ्वाइस अफ नेपाल भए। राजु लामा टिमका उनी टाइटलका लागि योग्य नै थिएनन् । भोटको अभावमा उनीभन्दा धेरै प्रतिभाशाली स्वरहरू किनारा लगाइए। भुटानी-अमेरिकी राईले टाइटल जित्दा अमेरिकामा रहेका भुटानीले 'फेरि पनि बस्तीकालाई देखाइयो' भन्न त पाए, तर त्यसले भ्वाइस अल नेपालको ब्राण्डलाई ठूलो क्षति भयो ।
लगातार दुई सिजन नेपालीभाषी भुटानी-अमेरिकी भ्याइस अफ नेपाल भएकोेमा नेपालमा यसको आलोचना भयो। नाम भ्वाइस अफ नेपाल तर पैसाकै बलमा लगातार अमेरिकाका नेपाली भाषी भुटानी-अमेरिकीले टाइटल जित्ने भएपछि धेरै नेपाली प्रतिभाहरूमा किन सहभागी हुने भन्ने प्रश्न उठ्यो। यसले भ्वाइस अफ नेपालको ब्राण्ड इमेजमै गम्भीर धक्का लाग्यो।
नाम भ्वाइस अफ नेपाल हुने तर अर्कै देशको नेपालीभाषीले टाइटल लैजादा नेपालका नेपाली प्रतिभाले अन्याय भएको महसुस गरेका थिए।
भ्वाइस अफ नेपालका निर्णायकहरू बाराम्बार 'गीत राम्ररी भूमिका निभायो' भनिरहेका हुनछन्। आगो निभाइन्छ, भूमिका निर्वाह गरिन्छ भन्ने पनि उनीहरूलाई थाहा छैन। एकपटक हैन, हरेकपटक त्यही सुन्दा दातमै दर्शन ढुंगा लागेजस्तै हुन्छ।
तर, भ्वाइस अफ नेपालको पाँचौ सिजनमा भने त्यस्तो भएन। अमेरिकाका एकजना नेपाली भाषी भुटानी सहभागी भए पनि उनी भोटिङ राउण्डसम्म उक्लिनै सकेनन् जसले गर्दा यसपटक चाहेर पनि अमेरिकाका भुटानीको डलरले काम गरेन। इलामका विनोद राईले बाजी मारे।
यसरी यसअघि लगातार दुईपटक भुटानीलाई भ्वाइस अफ नेपाल बनाएर अल्मलिएको भ्वाइस अफ नेपालको टाइटल फेरि एकपटक टाइटल अनुसारकै नेपाली प्रतिभाको हातमा फर्कनु सन्तोषको विषय हो। यसमा आयोजकको भन्दा पनि नेपाली प्रतिभा र नेपाली मनकारी मतदाताको योगदान छ। उपाधी विजेता विनोद राई आफैंमा एक उम्दा प्रतिभा हुनु र नेपाली मनकारी मतदाताले खल्ती रित्याउनाले उनले यो टाइटल जिते ।
भ्वाइस अफ नेपालको लाइभ राउण्डको जीतको आधार भनेको दर्शककै भोट हो। त्यसैले यो राउण्डमा पुगेको जो कोही पनि विजयी हुन सक्छ। १२औं हुने पनि खल्ती रित्याएर उपाधि विजेता हुन सक्छ। उपाधी जित्ने पनि पैसाको अभावमा १२औं भएर बाहिरिन सक्छ। भ्वाइसको फर्म्याट नै यस्तो भएकाले यसमा भनेर पनि केही हुने हैन।
भ्वाइस अफ नेपालका न्यायाधीश रहेका गायक गायिकाले संगीतको सिमा हुदैन भन्ने सनातनी भनाइको रटान लगाउनुभन्दा पनि यो टाइटल के हो भन्नेतिर सोच्न जरूरी छ। टाइटल भ्वाइस अफ नेपाल भएपछि त्यो भ्वाइस सम्पूर्ण रूपमा नपालकै हुनुपर्छ। यदि नेपाली भाषीलाई सहभागी बनाउने हो भने त्यसका लागि या त फ्रेन्चाइससँग नेपाली विशिष्ठताको बारेमा कुरा गरेर भिन्नै क्याटागोरीमा प्रतिस्पर्धा गराउनुपर्छ या त रियालिटी शोको नाम नै भ्वाइस अफ नेपाली भाषी गरे हुन्छ।
उनीहरूले के पनि बुझ्नुपर्छ भने भ्वाइस अफ नेपाल टाइटल विदेशीलाई दिनु नेपालको अपमान र नेपाली प्रतिभामाथिको अन्याय हो। आफूलाई नेपाली हुँ भन्ने र सधैं नेपालको नाम जप्नेले काम र व्यवहार पनि नेपाल र नेपाली नै भएर गर्नुपर्छ।
आयोजकले पनि पैसा नै सबै हो भन्ने सोच त्याग्नुपर्छ। पैसाकै लागि हो भने अरू नै व्यापार गरे हुन्छ। तर, नेपाली गीत-संगीतको कलेबरमा नेपाल र नेपालीलाई इमोसनल ब्लाकमेलिङ गर्ने हो भने त्यसैअनुसारको व्यवहार पनि गर्नुपर्छ।
अमेरिकामा रहेका नेपालीभाषी भुटानीलाई यसो भनेकोमा दु:ख लाग्ला तर आग्रह/पूर्वाग्रह नराखी ठण्डा दिमाखले आफूलाई प्रश्न गर्दा हुन्छ, 'एकजना भुटानी अहिले अमेरिकी भैसकेको मान्छेले नेपाली भाषा बोल्छ भन्दैमा ऊ कसरी 'भ्वाइस अफ नेपाल' हुन सक्छ र?' यसको उत्तर सही कोणबाट सोचियो भने छर्लङ्गै हुन्छ।नत्र शिविरकाले बस्तीकालाई देखाउने नाममा पैसाले उनीहरूले पुरानो इख त साँध्दान् तर त्यसले नेपाली गीत-संगीतमा खासै योगदान पुग्दैन।
अमेरिकामा रहेका नेपालीभाषी भुटानीले मात्र हैन, संसारभर रहेका नेपाली भाषी जो अर्कै देशको राहदानी बोक्छन् उनीहरूले के बुझ्नुपर्छ भने 'भ्वाइस अफ नेपाल त नामले नै नेपालको भ्वाइस हो नि, नेपाली भ्वाइस त हैन।
स्मरणीय रहोस्, भुटानीले नेपाल जाँदा, नेपाली भेट्दा र नेपाली सञ्चारमाध्यमममा जतिसुकै आफूलाई नेपाल र नेपालको शुभचिन्तक देखाए पनि अपवादबाहेक धेरैले नेपालका नेपालीलाई बस्तीका भन्छन् र उनीहरूले आफूलाई भोटाङे भनेर हेला गरेको र नेपाली नागरिकता नदिएको भनेर रोष प्रकट गर्छन्।
आजसम्म अमेरिकालगायतका विभिन्न देशमा पुनर्बास गरिएका नेपालीभाषी भुटानीले सयौंको संख्यामा संघसंस्था बनाएका छन् तर ती संस्थाका नाममा कतै पनि नेपाली शव्द सम्म भेटिदैन। सबैमा भुटानी मात्रै हुन्छ जस्तो कि भुट्निज अमेरिकन म्युजिक एशोसियसन अमेरिकामा रहेका नेपाली भाषी भुटानीहरूको सांगीतिक संस्था हो भने ग्लोबल भुट्निज लिटरेरी अर्गनाइजेसन (जीबीएलओ) संसारभर पुनर्बास भएका नेपालीभाषी भुटानीहरूको साहित्यिक संस्था हो। यी दुबैका नाममा नेपाली शव्द नै छैन, यद्यपि उनीहरूको साहित्य पनि नेपाली भाषामै हुन्छ, संगीत पनि।
नेपाली शव्द विनाका यी दुई भुटानी संस्थाका नामबाट नै उनीहरू नेपालीप्रति कति पूर्वाग्रही छन् भन्ने प्रतिविम्वित हुन्छ।
घुम्दै फिर्दै रूम्जाटार भनेजस्तै फेरि पनि भ्वाइस अफ नेपालकै प्रसङ्गमा फर्केर कुरोको विट मारौं। भ्वाइस अफ नेपाल नाम भएकाले नामले प्रष्ट भनेजस्तै यो रियालिटी शोमा नेपालभित्रकै भ्वाइसमात्र सहभागी गराऔ। हैन, संसारभरका नेपालीभाषी सहभागी गराउने हो भने यसको नाम भ्वाइस अफ नेपालीभाषी राखौं। भ्वाइस अफ नेपालका आयोजकले नेपालको विशिष्टता देखाउँदै भ्वाइसको मूलसंस्थासँग कुरा गरेर अनुमति लिन सक्छन्।