
प्रदीप भट्टराई
संसारमा हरेक दिन कुनै न कुनै किसिमका काण्ड घटेकै हुन्छन्। तीमध्ये अधिकांश काण्ड लागुपदार्थ, मानव तस्करी तथा बेचबिखन, हत्या, आतंक, बलात्कार, घुसखोरी, भ्रष्टाचारसँग सम्बन्धित हुन्छन्।
अब प्रश्न उठ्छ, आखिर के का लागि घटाइन्छन् त यी काण्ड ? कारण खोज्दै जाँदा सतहमा जे देखिए पनि अन्तर्यमा चुरोचाहिँ पैसा र यौन नै हुन्छ। यदाकदा बीचमा पद, शक्ति र प्रतिष्ठा पनि कारणजस्ता देखिन्छन्। तर, तिनीहरूलाई निफन्दै जाँदा जहाँ पुगिन्छ, त्यहाँ पनि या त पैसा हुन्छ या त यौन।
काण्डका मामलामा नेपाल पनि एक उर्वर देश हो। भूगोल र जनसंख्याले खासै ठूलो नभए पनि यहाँ ठूलो संख्यामा काण्डहरू घटिरहेका हुन्छन्। एउटा काण्ड सेलाएर गर्तमा गएको हुँदैन, अर्को काण्ड झुत्ति खेल्दै सतहमा आइपुगी हाल्छ।
नेपालका हरेक काण्डको अन्तिम साइनो राजनीतिसँग जोडिन्छ। जो काण्ड घटाउँछन् या त उनीहरू आफैं राजनीतिमा हुन्छन् या त उनीहरू राजनीति गर्नेको छत्रछायाँमा हुन्छन्। नेपालमा काण्ड र राजनीतिबीच गहिरो सम्बन्ध छ।
काण्ड एक किसिमको भ्रष्टिकरणको रूप हो वा त्यसको निम्तो हो। नेपालमा काण्डवालहरूले राजनीतिको खोल ओढेर वा ओढाइएर राजनीतिलाई नै भ्रष्टिकरण गरिरहेका छन्। अझ अगाडि बढेर भन्ने हो भने नेपालमा द्रुतगतिमा राजनीतिको आपराधिकरण भैरहेको छ।
हरेक काण्डमा तीन ठूला दलका नेता तथा कार्यकर्ताको संलग्नता भेटिन्छ। प्रश्न ती दलका कुन तहको नेता वा कार्यकर्ता भन्ने मात्र हो, हरेक काण्डमा तीन दलका नेता वा तिनका आफन्त संलग्न भएकै हुन्छन्। र, यी तीन दल र तिनका अध्यक्ष वा सभापति आफूलाई र आफ्नालाई उन्मुक्ति दिन दलीय सिण्डिकेट चलाइरहेका छन्। नेपालको लोकतन्त्रलाई अहिले यही सिण्डिकेटको सेपले सिघ्याउँदैछ।
देशका सबै ठूला दलमा केही न केही मात्रामा अपराधीहरू ओत लागेकै छन्। सबै दलका ठूला नेतालाई चुनाव जित्न मनि (पैसा) र मसल (लठैत) चाहिन्छ। मसलका लागि अपराधी चाहिन्छ, त्यही मसलले मनी पनि जोहो गरिदिन्छ। गफ दिन जान्नेले आफूलाई सुकिलो देखाए पनि नेपालमा राजनीति गर्ने जो कोही मुखिया पनि कम्बल ओढेर घिउ खाने नै हुन्। कोही अपवाद हुन सक्लान्, त्यो बेग्लै कुरा हो।
अस्थिरता त्यो पनि खासगरी राजनीतिक अस्थिरता नेपालको आमचरित्र नै हो। यसको पछाडि नियत सफा नभएका र ल्याकत पनि हासिल नगरेका राजनीतिक दल र नेताहरू त मूलकारण नै छन् नै, स्रोत साधनले नै थेग्न नसक्ने जनताका असिमित चाहना पनि छन्। ती चाहना सम्बोधन हुन नसक्दा उनीहरूमा निराशा र कुण्ठा बढ्छ। परिणामतः देशमा राजनीतिक अस्थिरताले निम्तो पाउँछ।
यसको अर्को पाटो मिश्रित निर्वाचन प्रणालीको आधारमा हुने आवधिक निर्वाचन र त्यसले संसदसहित सरकार बनाउन चाहिने अंकगणितको जोहो गर्नुपर्ने संवैधानिक बाध्यता पनि हो। यसले गर्दा जसले चुनाव जित्नका लागि चाहिने मनी र मसल जम्मा गर्छ, उसैले चुनावमा टिकट पाउने परिस्थिति सिर्जना भएको छ। यो भनेको एक किसिमको व्यापार नै हो। स्वभावतः लगानी गर्नेले अतिरिक्त लाभसहित फाइदा लिन खोज्छ नै।
अहिले नेपालको राजनीतिमा यस्तै चरित्रको व्यापार भएको छ। हरेक ठूला दलको संस्थापन पक्ष यस्तै चंगुलमा छ। नयाँ हुन वा पुराना, कम्युनिष्ट हुन् वा कांग्रेस वा अरू नै किन नहुन्, सबै दलको आमचरित्र यही हो। मात्रामा तलमाथि होला, बाठाहरूले अलि बोल्न नजान्नेतिर आरोप पन्साएर आफूलाई चोखो देखाइरहेका होलान्। तर, यथार्थमा कोही पनि दुधले धोएको बिरालो छैनन्।
यस्तै बेला काण्डहरू बाक्लिन्छन्। काण्डसँगै राजनीतिक आपराधिकरण पनि घना हुन्छ। अहिले नेपालको दारूण अवस्थाको मुलकारण यही हो। माधव नेपाललाई दीपक मनाङे भनिने राजीव गुरूङलाई गण्डकी प्रदेशमा मन्त्री बनाउन खोज्नुपर्ने बाध्यता जेले गरेको छ, शेरबहादुर देउबालाई रोज राणा भनिने सरोज थापालाई लुम्बिनी प्रदेशमा मन्त्री बनाउनुपर्ने बाध्यता पनि उही हो। जगजाहेरै छ, यी दुबै डन हुन्। यिनीहरूमाथि जघन्य फौजदारी अभियोग लागेको हो।
यस्तो संगीन अपराधको अभियोग लाग्दालाग्दै पनि मनाङमा दीपक मनाङे निर्विरोध स्वतन्त्र सांसद भए भने रोज राणा प्युठानमा कांग्रेस उम्मेदवार भएर जिते। जब सांसद भए, मन्त्री हुनका लागि योग्य भए। मन्त्री हुने योग्यता बनाएपछि मन्त्री हुन खोज्नु के अस्वभाविक भयो र ?
यो राजनीतिक अपराधिकरणको पाटो भयो, यसमा पनि एक किसिमको काण्डको श्रृङ्खला हुन्छ। यसपटकचाँहि अलि बिस्तृतमा काण्डमाथि नै कुरा गरौं।
२०७९ को निर्वाचनमा जनता खासै जनार्दन हुन सकेनन्। उनीहरूले जुन किसिमको खण्डित जनादेश दिए, राजनीतिक अस्थिरता त्यहीबाट सुरू भयो। सुरूमै तत्कालीन सत्तारूढ गठबन्धनमा को प्रधानमन्त्री भन्ने कुरा आयो। त्यसको समाधान हुन नसक्दा प्रचण्ड प्रतिपक्षी गठबन्धनमा गएर प्रधानमन्त्री भए। यो एउटा काण्डै थियो। केही दिनपछि राष्ट्रपति बनाउने बेला आयो, प्रचण्ड पुरानै गठबन्धनमा आएर रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउन लागे, यो अर्को काण्ड भयो। त्यसपछि एमाले सरकारबाट बाहिरियो, संघमा मात्र हैन, प्रदेशमा पनि एमाले बढारिदै गयो, काण्ड पनि थपिदै गए।
नेपाल पछिल्लो समय काण्डै काण्डको देश भएको छ। ती काण्डको नालिबेली केलाउँदै जाँदा हरेकमा कुनै न कुनै रूपमा तीन ठूला दल कांग्रेस, एमाले र माओवादीका नेता, कार्यकर्ता वा उनीहरूको आफन्तको संलग्नता रहेकै हुन्छ। जब काण्डको पटाक्षेप हुन्छ तब तीन दलका अध्यक्ष वा सभापति चोचोमा मोचो मिलाउँदै अपराधीको ढाल बन्न आइपुग्छन्। देश अहिले यिनै तीन नेताको सिण्डिकेटले बर्बाद भैरहेको छ।
यही बीचमा तत्कालीन उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता काण्ड आयो। उनले अमेरिकी नागरिकता लुकाएर पुरानै नेपाली नागरिकताबाट सांसद भएको पटाक्षेप भयो। लामिछानेको सांसद पद गयो, उपप्रधानमन्त्री पद गयो। योसँगै लामिछानेको दल सरकारबाट बाहिरियो, यो अर्को काण्ड भयो।
केही समयपछि नै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाप्रसाद श्रेष्ठले मन्त्री हुनका लागि दुर्गा प्रसाइसँग पैसा मागेको काण्ड पटाक्षेप भयो। उनलाई पदबाट त खुस्काइयो तर रविको कोरटिम भने बच्यो।
यस लगत्तै रवि लामिछानेकै दोहोरो राहदानी काण्ड आयो। उनले एकसाथ नेपाली र अमेरिकी राहदानी प्रयोग गरेको देखियो। तर, सरकारका महानायाधिवक्ताले उनले नेपालको राहदानी प्रयोग नगरेको भनेर मुद्दा नै मुल्तवीमा राखेर रविलाई अभयदान दिए। उनको यो दोहोरो राहदानी मुद्दा कुनै पनि बेला ब्युतन सक्ने काण्डका रूपमा महान्यायाधिवक्ताको कार्यालयको फाइलमा रहिरह्यो।
ललितानिवास काण्ड फेरि ब्युतियो। यसमा भाटभटेनीका साहू मीनबहादुर गुरूङ र अन्य केही अभियुक्त जेलको चिसो छिंडीमा पुगे। गुरूङलगायत धेरैजसो बिचौलियाले निम्सरो बनाएको अदालतको छिद्रबाट छिरेर बाहिर आइसकेका छन्। यस प्रकरणमा नाम जोडिएका दुई प्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई उन्मुक्ति दिइएको विषयले पनि यस प्रकरणलाई काण्डकै हैसियतमा उकाल्यो।
केही समयपछि नै १०० केजी सुनकाण्ड आयो। त्यो सुनपछि ६० केजी भयो। सुनलाई लिएर एमालेले संसद अवरूद्ध गर्यो। अन्ततः छानबिन समिति बनाएर सामसुम पारियो। अहिले पनि त्यसको छानबिन भैरहेकै होला। नेपालमा छानबिन समिति बनाएर विषयान्तर गर्ने वा सामसुम पार्ने सनातन नै भैसक्यो।
सुन काण्ड पटाक्षेप हुन नपाउँदै नक्कली भुटानी शरणार्थी काण्ड आयो। यसमा सरकारको गृहमन्त्रालय नै सहभागी भएर नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा अर्वौको कारोबार भयो। एमाले सांसद रहेका पूर्वमन्त्री टोपबहादुर रायमाझी र कांग्रेसका बाहुबली नेता पूर्वगृहमन्त्री बालकृष्ण खाण नै जेल गएको यो काण्ड नेपालका लागि शर्मनाक लाजमर्दो काण्ड थियो। यस काण्डमा नेपालका दुई ठूला राजघराना ‘ओली राजघराना’ र ‘देउवा राजघराना’ नै जोडिए। तर, अनेक प्रपञ्च गरेर यी दुई घरानालाई जोगाइयो। एमालेका पूर्वमन्त्री रायमाझी जेलमै छन् भने कांग्रेसका बाहुबली पूर्वमन्त्री खाण भने जमानीमा छुटे।
सुन काण्ड र भुटानी शरणार्थी काण्ड किनारा लागेकै थिएनन्, फेरि अर्वौको एनसेल काण्ड आयो। अर्वौको एनसेल करोडमा बेच्ने यो काण्डमा फेरि पनि नेपालका तीन ठूला राजघराना जोडिए। तीन दलका मुखिया नै एनसेल खरिद गर्ने सतिशलाल आचार्यको पाहुना भएर दानापानी खाएको समाचार बाहिर आयो। यस काण्डको छानबिन गर्न छानबिन समिति बनाइयो।
यसरी हेर्दा बितेको एक वर्ष नेपाल काण्डैकाण्डको देश बन्यो। र, यी हरेक काण्डको पछाडि नेपालको राजनीतिको छायाँ प्रष्टैसँग देखियो। हरेकमा कुनै न कुनै रूपमा नेपालका राजनीतिक दल र तिनका ठूला नेता जोडिए। सबै काण्डलाई मिडियाले उजागर गर्यो। नागरिक समाजले सोसल अडिट गर्यो। सामाजिक सञ्जालले पनि विषयलाई निरन्तर उठान गर्न अहम् योगदान गर्यो। परिणामतः केही काण्ड राम्ररी नै उजागर भए। केही दोषी कारबाहीको भागी बने, केही बन्ने प्रक्रियामा छन् भने केहीले अझै पनि उन्मुक्ति पाएका छन्।
यो दुर्भाग्य हो कि नेपालको सर्वोच्च अदालत होर्लुङ्गेको झोलुङ्गे पुलजस्तो छ। यो गज्जबले मच्चिन्छ। कहिले न्यायको पक्षमा, कहिले अन्यायको पक्षमा। यहाँका अधिकांश न्यायमूर्ति भर्ना गर्नेप्रति, राजनीतिक आस्थाप्रति, ठूला वकिलको सिण्डिकेटप्रति अझ सिधै भनौं बिचोलियाप्रति उत्तरदायी छन्। त्यसले गर्दा यदाकदा न्याय भए पनि अधिकांश समय कहिले न्याय समयमा नदिएर कहिलै न्याय नै नदिएर अन्याय भैरहेको छ। यस कोणबाट हेर्दा नेपालमा काण्डको संख्या बढाउन न्यायालय पनि उत्तिकै जिम्मेवार छ। यसै पनि भनाइ नै छ, ‘नेपालको कानून दैब जानुन्’।
नेपालका हरेक काण्डमा कुनै न कुनै रूपमा तीन ठूला दलको संलग्नता देखिएको छ। कुन तहको नेता भन्ने मात्र हो, हरेकमा कुनै न कुनै दलको नेता वा उसको आफन्त संलग्न भएकै छन्। र, यी तीन दल र तिनका मुखियाहरू आफूलाई र आफ्नालाई उन्मुक्ति दिन तीन दलीय सहमति गर्दैआएका छन्। अरूबेला निरन्तर दन्तबजान गर्ने यिनीहरूको नाम जब कुनै काण्डमा जोडिन्छ, तब एकअर्कालाई जोगाउन एक ठाउँमा आइपुग्ने गरेका छन्। यी तमाम काण्डमा आफू र आफ्नालाई जोगाउन ओलीले धेरैपटक सिंहदरवार र बालुवाटारको चक्कर काटेका छन् भने देउवा पनि पटकपटक बालुवाटार पुगेका छन्।
यिनीहरूको तीनदलीय सिण्डिकेटले देशमा काण्डको संख्या मात्र बढाइरहेको छैन, देशलाई अरू भ्रष्टिकरण गर्न यथेष्ट योगदान पनि दिएको छ। द्रुतगतिमा राजनीतिको अपराधिकीकरण भैरहेको छ। सबैभन्दा ठूलो दुर्भाग्य त यिनीहरूको गलत मनसाय र निहित स्वार्थको कारण संघीय गणतन्त्रमाथि नै प्रश्न उठेको छ। राष्ट्रका रूपमा नेपाल कमजोर हुँदैछ। देशमा केही नै हुँदैन भन्ने भाष्य जबर्जस्त रूपमा स्थापित हुँदा कोही पनि युवा नेपाल बस्न चाहिरहेका छैनन्। दुःखका साथ भन्नुपर्छ, नेपाल बनाना रिपब्लिक हुने बाटोमा छ।
घरदेशमा हौं वा परदेशमा, हामीले केही दिअघि ईश्वी सम्बत २०२३ लाई विदा गरेर २०२४ लाई स्वागत गरेका छौं। यो एउटा वर्षको अन्त र अर्को वर्षको सुरूवात मात्र हैन, गलत कुरा त्यागेर असल कुराका लागि संकल्प लिने समय पनि हो। हामी जो जहाँ छौं, सबैले आआफ्नो ठाउँबाट ‘समृद्ध नेपाल: खुशी नेपाली’ बनाउन योगदान गरौं। यो आत्मालोचना गर्दै संकल्प गर्ने समय पनि हो।
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया