बाढीले पानीको मुहान बगाएको डेढ वर्षपछि बागबजारका घरकै आँगनमा धारा

गत वर्ष असोज १९ देखि २५ गतेसम्म भएको अबिरल वर्षापछि आएको बाढीले जुम्लाको हिमा गाउँपालिका–७ बागबजारमा खानेपानीको मुहानै बगायो। मुहान बगाएपछि बागबजारमा पानीको हाहाकार भयो। 

पानीको मुहान बगाएको डेढ वर्षपछि अहिले घरघरमै धारा पुगेको छ। ‘गत असोजको बाढीले पानीको मुहानसँगै हाम्रो खुसी पनि बगाएको थियो। हामीसँग नदीको दुषित पानी पिउनु बाहेक उपाय थिएन,’ स्थानीय सर्मिला शाहीले भनिन्, ‘अहिले आँगनमै धारा आएको छ।’ 

बागबजारको घरघरमा धारा पुगेपछि स्थानीय खुसी छन्। ६१ वर्षीया मुनकोइला शाही भन्छिन्– ‘गाउँमा धारा थिएन। भएकै मुहान पनि बाढीले बगाएपछि गाउँमा खानेपानीका साह्रै दु:ख भए। अहिले घरमै पानीको सुविस्ता भयो। नदीको पानी पिउने बाध्यता हट्यो।’

पानीको राम्रो प्रबन्ध हुँदा नाग्म–गमगडी सडक भएर राराताल जाने पर्यटकलाई पनि सहज भएको छ। बागबजारका २२ घरधुरी छन्। सबैमा खानेपानीको धारा पुगेको छ। 

खोलाको पानी खाँदै आएका स्थानीयको घर–घरमा २४सैं घण्टा पानी आइरहेको हिमा–७ का वडाध्यक्ष विक्रम बहादुर शाहीले बताए। उनले भने, ‘आवश्यकता पहिचान गरी खानेपानीको समस्या सुल्झाउने सहयोगाी निकाय पेश नेपाल, प्लान नेपाल र पालिका हुन्।’

प्लान ईन्टरनेश्नल नेपालको आर्थिक सहयोगमा पेश नेपाल जुम्लाद्वारा सञ्चालित (जलवायु उत्थान खानेपानी सरसफाई र स्वच्छता कार्यक्रम) मार्फत बागबजार खानेपानी योजना निर्माण गरिएको पेश नेपालका कार्यकारी निर्देशक किशोर न्यौपानले बताए।

उनकाअनुसार पेश नेपालबाट ६ लाख १४ हजार ५ सय ३०रुपैयाँ, हिमा गाउँपालिकाबाट ७३ हजार ६ सय ५२ र समुदायको श्रमदान ३ लाख १६ हजार गरी कुल १० लाख लगानीमा खानेपानी योजना निर्माण भएको गरिएको छ।  

मंगबालर खानेपानी योजनाको उद्घाटन समेत गरिएको थियो। 

प्रकाशित मिति: : 2023-12-28 08:16:00

प्रतिकृया दिनुहोस्