सरकारको वर्षदिन: आफैं गयल भएर प्रचण्डले दिइरहेको ‘अन्तिम परीक्षा’ 

Breaknlinks
Breaknlinks

गत वर्षको पुसमासमा बाक्लिन थालेको चिसो मौसमभित्र देशको राजनीति भने निकै तातिएको थियो। चुनावी ‘गठबन्धन’मा गाँसिएर सबैभन्दा धेरै सांसद भएको पार्टी नेपाली काँग्रेस र उसैसँग मिलेर उसकोभन्दा अलि कम सांसद लिएर आएको माओवादीबीच अन्तिम समयमा सरकारको नेतृत्वबारे रस्काकस्सी भयो।

‘फेरि दोहोरिने’ आशमा बसिरहेका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटार छोड्दै छोडेका थिएनन्। ठूलो दल भएका कारण नेपाली काँग्रसको दाबी स्वभाविकै थियो, त्यसमाथि देउवा पार्टीको संसदीय दलको नेता पनि चुनिइसकेका थिए। 

त्यही गठबन्धनको एउटा बलियो घटक मानिएको नेकपा माओवादीको दाबी पनि उत्तिकै बलियो थियो। तर्क अनि तथ्यहरू एकातिर थिए, प्रचण्डले ‘अन्तिम पटक’ भन्दै देउवासँग त्यसका लागि सौदाबाजी खोजिरहेका थिए। 

उता राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्रीको नाम कुरी बसेकी थिइन्, यता ‘फाइनल’ कुरा गर्न बालुवाटार पुगेका प्रचण्डसँग भेट्न देउवा ‘कोठी’बाट निस्किँदै निस्केनन्। 

रन्फनिएर प्रचण्ड सिधै बालकोट पुगे। केहीबेर केपी ओलीसँगको ‘कोठी भेट’पछि प्रचण्ड-केपी दुई हात उठाउँदै बार्दलीमा आए।

बालुवाटारमा काँग्रेस नेताहरूले ‘प्रचण्ड खाजा खान निस्किनुभएको’ भनेर कुरिरहेका थिए उता बालकोटले प्रचण्डलाई प्रधानमन्त्रीका रुपमा सार्वजनिक गरिसकेको थियो। 

पुस १० गते पुष्पकमल दाहाल प्रचण्ड जीवनमा तेस्रोपटक प्रधानमन्त्री भए। 

त्यसको १७ दिनपछि अर्थात् पुस २७ गते संसदमा प्रचण्डले राजनीतिक इतिहासकै ‘अभूतपूर्व विश्वासको मत’ पाए। संसदीय इतिहासमा २०५१ साल पुस ७ गते तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले २०५ सांसदमध्ये १९८ जना सांसदको मत पाएका थिए।  

त्यसको करिब २८ वर्षपछि नेपाली संसदमा अर्का एकजना कम्युनिस्ट प्रधानमन्त्रीले त्यस्तै ‘अभूतपूर्व’ मत पाएका थिए, प्रचण्डले।

यसपालि संसदमा रहेका २७५ जना सांसदमध्ये उनलाई २६८ जनाले विश्वासको मत दिए। उपस्थितमध्ये दुईजना सांसदले मात्रै उनलाई मत दिएनन्। 

आफैंलाई छोडेर हिँडेका प्रधानमन्त्री प्रचण्डलाई नेपाली काँग्रेसले पनि विश्वासको मत दियो। संसदीय अभ्यासमा देखिने यो एउटा बिरलै राजनीतिक घटना थियो। त्यो बेला संसद प्रतिपक्षविहीनजस्तै भयो।

‘हिँज क्रान्ति सुरु गर्दा जुन आवेग मसँग थियो, बीचमा केही अलमलिएजस्तो देखिए पनि त्यही आवेग र अठोटका साथ मैले संकल्प लिएको छु’ विश्वासको मत माग्दै त्यो बेला प्रचण्डले भनेका थिए ‘तेस्रोपटक म प्रधानमन्त्रीका रुपमा नाम लेखाउन वा सिंहदरबारमा अर्को कार्यकालको फोटो झुन्ड्याउनमात्रै म यहाँ उभिएको पटक्कै होइन। इतिहास आजैबाट सुरु हुन्छ म भन्दिनँ। म एउटा परीक्षा दिन चाहन्छु।’

‘परीक्षा’काे त्यही रापमा रापिइरहेका प्रचण्डले प्रधानमन्त्री भएको तीन महिनामै फेरि दोस्रोपटक विश्वासको मत माग्नु पर्‍यो। प्रचण्ड परीक्षाको यो एउटा सुरुवाती विडम्बना थियो।

पहिलोपटक नै काँग्रेसले उनलाई दिएको मतमाथि ‘शंका’को बादल देखिसकेको एमालेका अध्यक्ष केपी शर्मा ओलीले भनेका थिए ‘यो समर्थन कुनै जाल होइन भने यो समर्थन ढोक्सा होइन भने स्वागतयोग्य छ।’

ओलीको शंकाभित्र बेरिएको त्यो जालमा काँग्रेसले केही दिनभित्र प्रधानमन्त्री प्रचण्डलाई पारिसकेको थियो। त्यसैको परिणाम थियो तीन महिनाभित्रै फेरि प्रधानमन्त्रीले संसदमा मतको हात थाप्नुपर्‍यो।

केही दिनमै सरकारबाट सारा मन्त्रीहरू फिर्ता बोलाएर एमालेले प्रतिपक्षको सिट रोजिसकेको थियो। त्यो खाली ठाउँ भर्न काँग्रेस र जसपाले आफ्ना केही मन्त्रीहरू पठाए। 

ओलीले भनेजस्तो काँग्रेसले त्यो जाल ‘माछा नभएको खोला’मा फ्याँकेको थिएन। र, उनले भनेजस्तो त्यो काँग्रेसी ‘ढोक्सा’ खाली पनि भएन। बरु त्यसमा काँग्रेसले राष्ट्रपति पायो। सरकारमा ‘इन्ट्री’ पायो। अनि केन्द्रीय सत्तामात्रै होइन, सारा प्रदेशमा आफ्नो वर्चश्व बनायो। जहाँ यी सब ठाउँबाट एमालेले हात धुनुपर्‍यो। 

‘राष्ट्रिय स्वतन्त्र पार्टी’को आफ्नै परिवन्द अनि राप्रपाभित्रको बेमेलका कारण प्रचण्डले नयाँ भनिएका यी दल सांसदहरूको साथ त प्रचण्डले गुमाए तर नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले निकै चुतुर भएर हानेको ‘जाल’बाट माछा भने फुत्किएन। भलै त्यो देउवाले भनेजस्तो भएन होला।

‘धक्का’ नपुगेको ‘लास्ट इनिङ’

प्रचण्ड आफैंले भन्दै आएका छन्, यसपालि सरकारको नेतृत्व उनको राजनीतिक जीवनको ‘अन्तिम इनिङ’ हो। करिब ४ दशकदेखि आफ्नो ‘सुप्रिम’ पद जोगाउनका लागि उनले पार्टीभित्र फ्याँकेको मन्त्र पनि त्यही थियो- जीवनको ‘अन्तिम इनिङ।’

आफ्नै निजी अनि राजनीतिक र पार्टी जीवनमै किन नहोस्, उनका ‘आवेग-संवेग’, ‘धक्का’ अनि ‘क्रमभंग’का फिलिङ्गासँगै प्रचण्ड धेरै पटक उछिट्टिइसकेका छन्। 

जंगलयुद्धदेखि सिंहदरबारसम्मको यात्रा होस् वा जनसेनाको बिलयदेखि आफैंले खोस्रिएको ‘प्रचण्ड-पथ’को समाधिस्थ। यी सबमाथि प्रचण्ड बेस्सरी निचोरिएका छन्, जसलाई उनकै कम्युनिस्ट भाषामा ‘स्खलित’ भन्दा केही फरक पर्दैन।
 
यी आरोह अवरोह र आफैंसँग संघर्ष गरिरहेका प्रचण्डको तेस्रो सत्तारोहण निकै रोमाञ्चक पनि रह्यो। र, सँगसँगै उनले आँटेको ‘अन्तिम परीक्षा’ र ‘अन्तिम इनिङ’का भयानक इपिसोडहरू पनि उसैगरी आए। 

‘परिवर्तन’को धार उज्याउन खोजिरहेको नेपाली काँग्रेससँगको सहयात्रा प्रचण्डका लागि कम्ता चुनौतीपूर्ण थिएन। त्यसमाथि सुर हराईरहेको जनता समाजवादी अनि नयाँ जागेको राष्ट्रिय उन्मुक्ति र एउटा सानो टुक्रा कम्युनिस्ट अस्तित्व बोकेर यात्रारम्भ गरेको एकीकृत समाजवादीका केही अवयवहरू साथ लाएर हिँडिरहेका प्रधानमन्त्री प्रचण्डसामु यो ‘गठबन्धन’ बरकरार राख्नु सबैभन्दा ठूलो मुस्किलको काम हो।

यही बीचमा उनको खोलेको ललिता निवासको फाइल, अघि बढेको नक्कली भुटानी शरणार्थी प्रकरण र सुन तस्करीका नयाँ र पुरानै आयामहरूले पनि प्रचण्ड आफैं घेरिए। 

आफ्नै सहयात्री दलका निवर्तमान गृहमन्त्री बालकृष्ण खाण र प्रतिपक्षमा लागेका आफ्नै पूर्वसहयोद्धा टोपबहादुर रायमाझीलाई जेलै कोच्नेगरी प्रहरीले पल्टाएको भुटानी शरणार्थीका फाइलहरूमा देशभित्रै मात्रै होइन, अन्तर्राष्ट्रियरुपमै पनि सरकार अनि पूरै देशको बदनामी लेखियो।

बिचमा प्रचण्डले उघार्न खोजेको ललिता निवास अनि गिरीबन्धु टीस्टेटका फाइलहरूमा प्रचण्डले भनेजस्तो ‘धक्का’ दिन सकेनन्। बरु उनले त्यसका लागि सुन काण्डहरूमा मुछिएका आफ्नै नेताहरूका लागि ‘सौदाबाजी’ नै गर्नुपर्‍यो।

राजनीतिको डोरी कस्नका लागि प्रचण्ड सरकारले रेशम चौधरी, रिगल डनको आममाफी अनि बालकृष्ण खाणको रिहाइ र हत्याका अभियुक्त सांसद लक्ष्मी महताे कोइरीको ‘सफाइ’सम्मका प्रकरणहरूले प्रचण्डलाई खेदिरहेका छन्। राजनीतिक सम्झौताका गन्ध आउने यी घटनाहरूमा प्रचण्ड नियतको खोट पनि झल्किएका छन्।

नागरिकता विधेयकको पासोलाई अलिअलि खुकुलो बनाएको प्रचण्ड सरकारले आफ्नै मान्छे मुछिएका काण्डहरूमा भने बदनामीबाहेक केही कमाउन सकेन। 

लुम्बिनी विकास कोषमा ल्हारक्याल लामाकाे नियुक्तिदेखि पशुपति विकास कोष र न्यायाधीशहरूको नियुक्तिसम्मका ‘हर्कत’हरू प्रचण्डका आफैंलाई बिझाउने निर्णय बने। 

‘यसपालि भाषण कम र काम बढी गर्ने’ कसम खाएर सिंहदरबार छिरेका प्रचण्डले केही न केही नयाँ गर्न खोजिरहेका त छन् तर आफ्नै सहयात्री दल, मन्त्री र कर्मचारी नेतृत्वबीच तालमेल नमिल्दा उनले भनेजस्तो केही पनि हुन सकेको छैन। 

आफैंले ‘कार्य सम्पादन सम्झौता’ गरेर पठाएका मन्त्रीहरूको ‘रिपोर्ट कार्ड’ हेरेर केहीदिन अघिमात्रै प्रचण्डले मन्त्रिपरिषदमै स्वीकारेको कुरा हो- कर्मचारीतन्त्रको ‘सिण्डीकेट’ले गर्दा प्रचण्डले दिएको ‘होमवर्क’ मन्त्रीहरूले गर्नैसकेनन्। अनि प्रचण्ड आफैंले त्यो बेला भनेका थिए- यो त हुँदैभएन, कत्ति भएन।

त्यसको मूल कारण प्रचण्ड आफैं हुन्, जो एक्लै बाटो कोर्न खोज्छन् र त्यसमा पनि एक्लै हिँड्न खोज्छन्। युद्धकालीन यो आदतबाट प्रचण्ड अझै मुक्त भइसकेका छैनन्।

वर्षको अन्त्यतिर एउटा दूरसञ्चार कम्पनी ‘एनसेल’को जालझेलपूर्ण किनबेचमा अल्झिएका प्रचण्ड यहीबीचमा १० वर्षे जंगलयुद्धको अवशेषका रुपमा रहेको ‘संक्रमणकालीन न्याय’को बारेमा अझै निर्क्योलमा पुग्न सकेका छैनन्। त्यसका लागि उनले वाचा पनि गरेका हुन्, कोसिस पनि गरेका हुन्। तर, आफ्नै हठले आफैंभित्र निमोठिएका प्रचण्डले त्यसमा अरु दलहरूलाई सहमत गराउन सकेका छैनन्। 

आफ्नै जीवनको अन्तर्राष्ट्रिय ‘स्वीकार्यता’ बढाउन हैसियतै नपुग्ने अन्तर्राष्ट्रिय कार्यक्रममा भाग लिन प्रचण्ड इटालीसमेत पुगे। भारत पुगेर ‘मुर्रा राँगा’ र ‘गेरु बस्त्र’का ‘बकवास’ कहानी बोकी आएका प्रचण्डले छिमेकलाई सन्तुलनमा राख्न आफ्नो विदेश भ्रमणको सूचीलाई मनपरी घुमाइरहे।

संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न अमेरिका पुगेका प्रधानमन्त्री प्रचण्ड उतैबाट चीन पुगेर साता दिनभन्दा धेरै घुमे। एकपटक दुई साता भन्दा धेरैसमय देश सरकार कार्यकारी प्रमुखबिनै चल्यो। 

र, आफ्नो जीवनको सबैभन्दा प्रियपात्र श्रीमती सीता दाहाललाई गुमाएका प्रचण्डको यो वर्षदिन छोरी ‘गंगा’को रजगजमै रुमलिइरहेको छ।

‘सन्तान मोह’को यो निकृष्ट हद ननाघेसम्म प्रचण्डका यी ‘अन्तिम परीक्षा’ र ‘अन्तिम इनिङ’हरू ब्यर्थकै हुनेछन्। भलै प्रचण्डको ‘ठूलै धक्का’ आउन त बाँकी नै छ।

अरु त बस्, उनले भनेजस्तै ‘सिंहदरबारका भित्तामा झुन्ड्याइने’ प्रधानमन्त्रीमात्रै।

प्रकाशित मिति: : 2023-12-25 21:20:00

प्रतिकृया दिनुहोस्