एनआरएनएमा विभाजन आउनुमा कांग्रेस जिम्मेवार छ: रक्षामन्त्री खड्का

उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले गैरआवासीय नेपाली संघ (एनआरएनए)मा विभाजन आउनुमा नेपाली कांग्रेस जिम्मेवार रहेको बताएका छन्।

कांग्रेसका नेतासमेत रहेका खड्काले पार्टीको प्रवास विभाग संगठन नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको एक कार्यक्रममा एनआरएनए तितर–बितर हुनुमा नेपाली कांग्रेसको हात रहेको बताएका हुन्।

कतार सरकारको निमन्त्रणमा दोहा पुगेका उनले पार्टी प्रतिनिधिसँगकाे अन्तरक्रियामा भने, ‘जब एनआरएनएको चुनाव हुन्छ, तब कांग्रेसी साथीहरू, कांग्रेससँग जोडिएका ‘डेमोक्र्याट’ भनिएकाहरू जहिल्यै पनि तितर–बितर हुनुहुन्छन्।’

उनले कांग्रेसभित्रकै पदाधिकारी एनआरएनएमा खेल्ने गरेकाले विभाजनको आवस्था सृजना भएको जिकिर गरे।

‘प्रवासमा रहेका कांग्रेसीहरू एकआपसमा नमिल्दा एनआरएनए चुनावमा डेमोक्र्याटहरु कमजोर भएका हुन्,’ उनले भने।

एनआरएनएको निर्वाचनमा ७५ प्रतिशत ‘डेम्रोक्र्याट’ भोट छ भनेर चुनावमा होमिए पनि परिणाम उल्टो किन आएको भन्दै उनले प्रश्नसमेत गरे।

‘जति भोट घटेपनि ३ सय ४ सयभन्दा तल भोट झर्दै–झर्दैन भनेर जहिले औँला भाँच्ने (औँला गन्ने) ‘डेमोक्र्याट’हरूले जब चुनाव हुन्छ, आफैँले भाँचेको औँला आफैँ काट्ने ! यो साँच्चिकै भएको छ,’ उनले भने।

एनआरएनएको यसपटकको चुनावमा आफूलाई निकै रमाइलो लागेको खड्काले बताए।

काँग्रेसी उम्मेदवार ‘ग्राउण्ड लेवल’मा नभइ सतहीरुपमा लागेकाले चुनावको परिणाम आफू अनुकुल नआएको उनको भनाइ छ।

‘चुनावको नतिजा जुन आयो, त्यो परिणामले म आश्चर्य भएको छैन। किनभने त्यस्तै हुन्छ भन्ने थाहा पाएर मैले दुई महिनाअघिदेखि नै सचेत बनाउँदै आएको थिएँ। एनआरएनएको चुनाव यस्तै हुन्छ भन्ने मलाई आंकलन थियो,’ उनले भने।

उनले प्रवासका काँग्रेसीहरू एकआपसमा मिलेर जानुको विकल्प नरहेको बताए। एनआरएनएमा आवद्ध काँग्रेसनिकटका व्यक्तिहरूबीच विभाजन ल्याउनमा पार्टी नेतृत्वको दोष भए आफूहरु पनि सुध्रिन तयार रहेको उनले प्रतिबद्धता जनाए।

खड्काले एनआरएनएको चुनाव हार्दैमा आफूहरूले धेरै केही नगुमाएको बताउँदै अब सुध्रिन र सच्चिन आवश्यक रहेको बताए।

‘तपाईंहरू सुध्रिन पर्‍यो। यसका लागि सबैभन्दा पहिला अहंकार, घमण्ड, व्यक्तिगत स्वार्थ, धनको स्वार्थ त्याग्नुपर्छ’, उनले भने, ‘अब उप्रान्त मलगायत हामी सबै इमान्दार हुन जरुरी छ। सुध्रिने र सच्चिने संकल्प गर्न जरुरी छ। त्यो दिशामा हामी देशमा बसेकाहरू र तपाईंहरूबीच भावनाको विकास हुनुपर्छ।’

गत अक्टोबरमा भएको एनआरएनएको निर्वाचनमा काँग्रेसकोतर्फबाट उम्मेदवार बनेका महेश श्रेष्ठ तेस्रो भएका थिए। तीन जनाबीचमा भएको प्रतिस्पर्धामा एमालेनिकट मानिने डा. बद्री केसी विजयी भएका थिए।

प्रकाशित मिति: : 2023-12-09 16:07:00

प्रतिकृया दिनुहोस्