सुरेन्द्र राना ‘घुमफिरे’
कुनै समय उनी अक्षरका खेती गर्थे। पत्रकार थिए, कलम चलाउँथे। समाचार लेख्थे। अब ‘बाइलाइन’ र ‘डेटलाइन’हरू कफीका बोटसँगै भेटिन्छन्- भवानीप्रसाद शर्मा।
निडर र हक्की पत्रकारका रूपमा करिब दुई दशक बढी पत्रकारिता क्षेत्रमा बिताएका शर्माको विगत एक दशकदेखि दिनचर्या व्यावसायिक कृषि कर्ममा बित्ने गरेकाे छ। उनको परिचय फेरिएको छ− पत्रकारबाट कृषि उद्यमी।
तिहारको रमझम लागिसेकेको थियो। कुश्मा बजार झिलीमिली बिजुलीले सजिएको थियो। बजारका चोकचोकमा देउसी-भैलो रन्किरहेको थियो। एक अपराह्नतिर कालिगण्डकी बचाऔँ अभियानका अभियान्ता तथा शताब्दी घरका सञ्चालक मित्र आरके अदिप्ता गिरी, पत्रकार प्रणिस गिरी र म मिलेर भवानीजीको निम्तोमा उनको घर खरेहा पुग्यौँ।

घरको बार्दली पर्वतबाट टाढाटाढासम्म देखिने मनोरम भूगोल अवलोकन गर्दै उनकै फार्ममा उत्पादित अर्गानिक कफीको स्वाद लिँदै निकैबेर गफियौँ। शर्मा दम्पतीले आफ्नै फार्ममा उब्जाएको फलफूल र मह खुशी हुँदै टक्र्याए। अर्गानिक प्रडक्टहरुको स्वादमा गफ पनि निरन्तर चलिरह्यो।
कुराकानीको क्रममा शर्माले विगत कोट्याउँदै विभिन्न राष्ट्रियस्तरका स्पेशटाइम दैनिक, च्यानल नेपाल, एभिन्युज टेलिभिजन, रेडियोलगायतमा पत्रकारको रुपमा काम गरेको बताए। त्यस्तै उनले जिल्लामा दैनिक धौलागिरी पोष्ट दैनिक र प्रेक्षा मासिकजस्ता पत्रिका प्रकाशनसमेत गरेको सुनाए।

२०६७ मा एफएम रेडियो स्थापना गरेपछि उनले रेडियो शालिग्राम सञ्चालन गरी तीन वर्ष अध्यक्ष र स्टेशन म्यानेजरको रुपमा समेत काम गरे। उतिबेला सञ्चार जगतमा केही गर्ने हुटहुटी जागेको भवानीसँग प्रकाशन व्यवसायमा लाखौँ लगानी गरेको र व्यापार डुबेको तिता-मिठा अनुभवको संगालो पनि छ।
विगतका दिनमा युवा जोश र जागरले भरिएका शर्माले पत्रिका प्रकाशन र रेडियोमा आवद्धसँगै धौलागिरि क्षेत्रका विभिन्न कुना काप्चा पुगेर उद्घोषक र पत्रकारिता तालिम दिएको सम्झन्छन्।
पत्रकारिता गर्ने क्रममा राष्ट्रिय रुपमा कफीको समूह गठन गरेका व्यवसायीहरुसँग सम्पर्क भयो। २०४६-०४७ सालदेखि उनले कफीखेतीमा रूचि देखाए पनि व्यावसायिक रूपमा काम थालेकाे भने एक दशक मात्रै भयाे। यसैलाई अभियानको रुपमा अगाडि बढाएर जिल्ला हुँदै राष्ट्रियस्तरमा कफी प्रवर्द्धनको क्षेत्रमा काम गरे।

४९ वर्षका शर्मा टाइकोन्डोका खेलाडी तथा प्रशिक्षक पनि हुन्। उनी फेस रिडिङ्गमा १५ वर्ष अनुसन्धानमा बिताएर स्वदेश तथा विदेशमा पनि सेवा दिए। अहिले पनि फुर्सदतमा फेस रिडिङको सेवा दिँदै आएका छन्।
उनी कुश्मा नगरपालिका–७ खरेहामा कफी उत्पादन, संकलन, प्रशोधन र बजारीकरण गर्ने कार्यमा जुटे छन्। कफीमा उनकाे रूचि २०४६-०४७ सालदेखि नै भए पनि व्यावसायिक कफी खेती थालेकाे भने एक देशक मात्रै भयाे।
उनी ‘धौलागिरि अर्गानिक प्रोडक्ट’ फार्म सञ्चालन गरेर व्यावसायिक रूपमा कृषि उद्यमी बने। उनी पत्रकारबाट कृषि उद्यमी बनेका उनले कफी प्राविधिक रुपमा देशभरका सयौँ कफी उत्पादक किसानहरु र कफी व्यवसायीहरुलाई तालिमसमेत दिँदै आएका छन्। कफीको गहिरो ज्ञान छ उनीसँग।
करिब दुई दशक पत्रकारितामा रुपान्तरण र सामाजिक जागरणमा सफल भएपनि आफूले सोचे जस्तो नभएकोले कृषि उद्यमतिर लागेको शर्मा बताउँछन्। ‘लामो समयसम्म पत्रकारिता गरेर सामाजिक जनचेतना फैल्याउने कार्य गरियो। तर आर्थिक रुपमा सन्तोषजनक प्रगति भएन’, उनी भन्छन्।

पछिल्लो समय पत्रकारिता राजनीतिक चंगुलमा फस्न थालेपछि याे क्षेत्रमा वितृष्णा जागेर कृषितिर लागेको उनी स्विकार्छन्। शर्माले भन्छन्, ‘राज्यको चौथौ अंग पत्रकारितामा राजनीति घुस्याे। सञ्चार माध्यम राजनीतिक पार्टीको मुखपत्र जस्तो भयाे।’
सक्रिय पत्रकारिता छाडे पनि बेलाबेला सामाजिक सञ्जालमार्फत समाजलाई झक्झकाइरहन्छन् उनी। ‘के गर्नु चित्त नबुझेको कुरा लेख्न मन लाग्छ, आफ्ना विचारहरु सामाजिक सञ्जालमा पोख्छु’, उनी सुनाउँछन्।
युरोपका दर्जनजति देश घुमेका उनी विदेशमा पनि अडिएनन्, स्वदेशमै फर्किए। त्यसपछि उनी चट्टक्कै पत्रकारिता छाडेर कृषि पेशामा होमिए।
उनले कुश्माको खरेहा र ज्ञादीमा करिब दश रोपनी जमिनमा व्यावसायिक कफी तथा फलफूल नर्सरी, कफी बिउ उत्पादन तथा संकलन, कफी प्रशोधन उद्योगको साथै अंगुर खेती तथा मौरी पालन सञ्चाल गरिरहेका छन्।

जीवन सङ्गिनी समीक्षासहित २ छोरी र एक छोरासङ्ग कुश्माको खरेहामा शर्मा बस्दै आएका छन्। उनकाे काममा जीवन संगिनीले समेत साथ दिँदै आएकी छिन्।
शर्माकाे नजरमा नेपालमा कफी उत्पादनको अवस्था र चुनौती
शर्माका अनुसार कफी खेती गर्न थुप्रै समस्याहरु छन्। हिजोको दिनमा किसानहरु कृषि पेशामा आस्रित हुँदा उत्पादित कफीले बजार नपाएको उनी सुनाउँछन्। ‘पछि संस्थागत रुपमा उत्पादन गर्न थालेपछि बजारिकरणको लागि हामीले छुट्टै व्यवास्था गर्यो। तर उत्पादन कम हुँदै गयो,’ उनी भन्छन्।
नेपाल सरकारको कुनै पनि निकायमा कफी विज्ञहरु नभएकाे र त्यस कारण कफी क्षेत्रमा काम गर्न असाध्यै अप्ठ्यारो परेको उनले बताए। उनका अनुसार अर्को चुनौती किसानसम्म पुगेर प्राविधिकरुपमा बुझाउन गाह्राे हुनु हाे। यसको साथै नेपालमा कफीको लागि छट्टै किसिमको जग्गा उपलब्ध नहुनु र कफीको लागि उत्तम जग्गा वन भएपनि निषेध गरेको उनको तर्क छ।

‘अन्य देशमा वनभित्र कफी उत्पादन भइरहेको छ। नेपालमा चिया र कफीलाई एकै वास्केटमा हेरिन्छ। जुन ठाउँमा कफी खेती गर्ने हो, पाइएको छैन। धान, कोदो, मकै लगाउने ठाउँमा कफी खेती लगाएको हुनाले समस्या श्रृजना भयो। किसानप्रतिको सरकारी रवैया र असहयोगी नीतिप्रति किसान कत्ति पनि खुशी छैनन्’, उनी भन्छन्।
पछिल्लो समय जनशक्तिको अभावमा उत्पादन भएको कफीलाई टिपेर पल्पिङ सेन्टरसम्म ल्याउने सक्ने अवस्था नरहेको शर्मा बताउँछन्।
‘पहिला र अहिले कफी उत्पादनको अवस्था फेरिएको छ। अहिले पक्की संरचनाहरुको निर्माण भयो र उत्तम माटाे भएन। यसको अर्काे मुख्य समस्या भनेको कामदारको अभाव पनि हो’, उनले भने ‘हिजो प्रतिबोट ७०-८० केजी फल्थ्यो भने हाल जम्मा २०-२२ केजी मात्रै फल्छ। उत्पादन कम हुँदै गएको छ। नेपालको कुल उत्पादकत्व क्षमता जम्मा २ केजी हो।’
सरकारले किसानहरुलाई खासै प्राथमिकता नदिएको हुनाले कफी व्यवसायीहरु पनि घट्दै गएको उनकाे बुझाइ छ।

कफीखेतीसँगै उनले मौरी पालन पनि गरेका छन्। मौरी पालनले कफीलाई परागसेचनमा सहयोग गर्छ। कफीकाे बोट वर्षको ५-६ पल्ट फूल्छ, जसले मौरीलाई चरनको लागि मद्दत पुग्छ। महको लागि कफीकाे फूलको रस उत्तम मानिन्छ, त्यसैले कफीसँगै मौरी पालन पनि गरिएको शर्माले बताए।
कफी विकास बोर्डमा बजेट भएर पनि काम गर्न नसकेको उनको गुनासो छ। सँगसँगै कर्मचारीले पनि खासै चासो नदिएको र जिम्मेवारी देखिएको उनले बताए।

कफी राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा मार्केटिङ भएको प्रडक्ट भएकाले सरकारको नीतिमा सुधार र बैंकिङ क्षेत्रबाट किसानले सहयोग पायो भने व्यावसायिक रुपमा अगाडि बढ्न सक्ने उनको धारणा छ।
‘नेपालको उत्पादन ४००-५०० मेट्रिक टन देखाएको छ, तर समग्रमा उत्पादन हुने भनेको करिब २०० मेट्रिक टन हो। भारतबाट कफी ल्याएर अन्तर्राष्ट्रिय बजारमा पुर्याएको छ। नेपालमा उत्पादित कफीले मात्रै नेपालमा पुग्दैन। ८० प्रतिशत बाहिरबाट यहाँ खपतका लागि ल्याइन्छ’, शर्मा भन्छन्, ‘उच्च मूल्य नेपालमा पाइन्छ, माग पनि उच्च छ। खपत हुँदा पनि उत्पादन गर्न सकेनौँ, राज्यले पनि खासै केही गर्न सकिरहेको छैन।’
कफीबाट देशकाे समृद्धि हासिल हुने भन्दै उनी भन्छन्, ‘युवा रोक्ने उपाय र देश समृद्धि गर्ने हो भने कफी खेतीद्वारा हासिल गर्न सकिन्छ। कफी महत्वपूर्ण खेती हो। यो खेतीले देशको अर्थतन्त्र जोगाउन सकिन्छ।’

न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया