जाजरकोट भूकम्पबाट घर भत्किएपछि सुत्केरी आमा, ज्येष्ठ नागरिक तथा बालबालिका समस्यामा परेका छन्।
त्रिपालको सहारामा बस्नुपर्दा चिसोका कारण विभिन्न स्वास्थ्य समस्या देखिन थालेको छ। भूकम्पपीडितको चिसोका कारण ज्यानसमेत गएको छ। भूकम्पबाट घरबासविहीन भएका सर्वसाधारण मौसम अनूकुल नहुँदा बिरामी पर्न थालेका हुन्।
अहिले स्वास्थ्य संस्थामा उपचारका लागि आउने बिरामीको भीड नै लागेको छ। जिल्ला स्वास्थ्य सेवा कार्यालयका अनुसार, भेरी नगरपालिकामा ४९ हजार ७२ जनसङ्ख्या प्रभावित भएका थिए। ४२ जनाको मृत्यु भएको थियो भने ५५५ जना घाइते भएका थिए।
पाँच वर्षमुनिका चार हजार ११५ बालबालिका भूकम्पबाट प्रभावित भएका थिए भने ६७४ गर्भवती, २८२ सुत्केरी, दुई हजार ८३६ ज्येष्ठ नागरिक, एक हजार ६५ दीर्घरोगी र ४०८ अपाङ्गता भएका व्यक्तिसहित नौ हजार ३८० जना भूकम्पको प्रभावबाट जोखिममा छन्। स्वास्थ्य संस्था आठवटा पूर्णरूपमा र आठवटा आंशिकरूपमा भत्किएका छन्।
कुशे गाउँपालिकामा २५ हजार ८१५ जना प्रभावित भएका थिए। सात जनाको मृत्यु भएको थियो भने २३ जना घाइते भएका थिए। पाँच वर्षमुनिका दुई हजार नौ सय ४५ बालबालिका भूकम्पबाट प्रभावित भएका थिए भने ५१५ गर्भवती, २३० सुत्केरी, नौ सय २० ज्येष्ठ नागरिक, २७७ दीर्घरोगी र ८८ अपाङ्गता भएका व्यक्तिसहित चार हजार नौ सय ७५ जना भूकम्प प्रभावित जोखिममा रहेका छन्। पाँचवटा स्वास्थ्य संस्था पूर्णरूपमा र १३ वटा आंशिकरूपमा भत्किएको गाउँपालिकाले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रशासकीय अधिकृत हरिशचन्द्र शर्माका अनुसार छेडागाड नगरपालिकामा एक हजार ३५२ जना प्रभावित भएका थिए। एक जनाको मृत्यु भएको थियो भने पाँच जना घाइते भएका थिए।
पाँच वर्षमुनिका ३७२ बालबालिका भूकम्पबाट प्रभावित भएका थिए भने ८६ गर्भवती, ६६ सुत्केरी, २०४ ज्येष्ठ नागरिक, १५ दीर्घरोगी र नौ अपाङ्गता भएकासहित ७४३ जना भूकम्पको प्रभावबाट जोखिममा रहेका छन्। आठवटा स्वास्थ्य संस्था आंशिकरूपमा क्षति भएको छ।
नलगाड नगरपालिकामा २९ हजार दुई सय नौ जना प्रभावित भएका थिए। ५२ जनाको मृत्यु भएको थियो भने ८६ घाइते भएका थिए।
पाँच वर्षमुनिका तीन हजार ३३ बालबालिका भूकम्पबाट प्रभावित भएका थिए भने ३३१ गर्भवती, ३७४ सुत्केरी, एक हजार ४८३ ज्येष्ठ नागरिक, २३४ दीर्घरोगी र २५० अपाङ्गता भएका व्यक्तिसहित तीन हजार हजार नौ सय ४४ जना भूकम्पको प्रभावबाट जोखिममा छन्। एक स्वास्थ्य संस्था पूर्णरूपमा र पाँच वटा आंशिकरूपमा भत्किएको गाउँपालिकाले जनाएको छ।
बारेकोट गाउँपालिकामा १९ हजार ६७६ जना प्रभावित भएका थिए भने दश जना घाइते भएका थिए। पाँच वर्षमुनिका एक हजार ४९९ बालबालिका भूकम्पबाट प्रभावित भएका थिए भने १८१ गर्भवती, ७५ सुत्केरी, ४३९ ज्येष्ठ नागरिक, ३२३ दीर्घरोगी र ४५ अपाङ्गतासहित दुई हजार ४१७ जना भूकम्पको प्रभावबाट जोखिममा छन्। पूर्णरूपमा एक र आंशिकरूपमा चार स्वास्थ्य संस्था भत्किएका छन्।
भूकम्पबाट शिवालय गाउँपालिका ११ हजार ८४३ जना प्रभावित भएका थिए। दुई जना घाइते भएका थिए। पाँच वर्षमुनिका ४६२ बालबालिका भूकम्पबाट प्रभावित भएका थिए भने ४९ गर्भवती, दुई सुत्केरी, ५१ ज्येष्ठ नागरिक, दीर्घरोगी र अपाङ्गतासहित ४४६ जना भूकम्पको प्रभावबाट जोखिममा रहेका छन्। दुई वटा स्वास्थ्य संस्था आंशिकरूपमा भत्किएको गाउँपालिकाको तथ्यांक छ।
भूकम्पबाट जुनिचाँदे गाउँपालिकामा एक हजार नौ सय ५० जना प्रभावित भएका थिए। पाँच वर्षमुनिका ७८ बालबालिका भूकम्पबाट प्रभावित भएका थिए भने ४७ जना गर्भवती, ४७ सुत्केरी, ९३ ज्येष्ठ नागरिक, १८ दीर्घरोगी र २२ अपाङ्गतासहित २८३ जना भूकम्पको प्रभावबाट जोखिममा रहेका छन्। पन्ध्रवटा स्वास्थ्य संस्था आंशिकरूपमा भत्किएका छन्।
भूकम्पबाट एक लाख २८ हजार नौ सय १७ जना प्रभावित भएको पाइएको छ। भूकम्पपछि प्रभावित २२ हजार २०६ जना जोखिममा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। पाँच वर्षमुनिका १२ हजार ४०४ बालबालिका प्रभावित भएका छन् भने एक हजार ८८३ गर्भवती त्रिपालमा बस्न बाध्य छन्। त्यसैगरी एक हजार ७६ जना सुत्केरी त्रिपालको सहारामा खुला आकाशमा बस्न बाध्य छन्।