काठमाडौंमा ‘जात व्यवस्था र यौनिकता’लाई चित्रकलामार्फत प्रदर्शन गरिँदैछ।
लैङ्गिक अल्पसङ्ख्यक (एलजीबीटीआईक्यू) कलाकारहरूसहित ३८ कलाकारहरूले चित्रमा उतारेको ‘जात व्यवस्था र यौनिकता’लाई प्रदर्शन गरिन लागिएको हो।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘जात व्यवस्था र यौनिकताः कलामार्फत प्रतिरोध’ शीर्षकमा यही मंसिर १४ गतेदेखि २० गतेसम्म प्रदर्शनी हुनेछ। जसकाे आयाेजक ललितकलासँगै सामरी उत्थान सेवा रहेका छन्।
चित्रकला प्रदर्शनीले दलित आन्दोलन र एलजीबीटीआईक्यू समुदायको आन्दोलनभित्र जातका आधारमा दलित एलजीबीटीआईक्यू व्यक्तिहरूले भोग्नु परेको बहिष्करण र विभेदविरुद्ध आम बहसको वातावरण सिर्जना हुने अपेक्षा गरिएको छ।
आयोजक संस्था सामरी उत्थान सेवाका कार्यकारी निर्देशक विमला गायक भन्छिन्, ‘प्रदर्शनीले दलित समुदायका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिहरूको कला र क्षमताको मात्रै उजागर गर्ने छैन। बरु, उनीहरूबीच अधिकारका लागि सङ्गठित पहल गर्नका लागि समेत प्रेरणा दिने छ।’
यूएन वुमनले यसै वर्ष लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायमाथि हुने हिंसामा आधारित भएर गरेको अध्ययन प्रतिवेदनका अनुसार यौनिक अल्पसंखक दलित व्यक्तिहरूले समुदाय भित्र र बाहिर दुवैबाट भेदभाव र हिंसा खेप्ने गरेको निष्कर्ष निकालेको थियो।
यस्तै सामरी उत्थान सेवाले गत भदौमा सातै प्रदेशमा गरेको अध्ययनअनुसार ४८ प्रतिशत दलित लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिले जातकै आधारमा गैरदलित लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिबाटसमेत हिंसा भोगेको बताएका थिए।
सामरीले गरेको उक्त अध्ययनमा सातै प्रदेशमा गरी २५ जना सहभागी भएका थिए। ४४ प्रतिशतले आफू परिवारसँग छुटिएर शहरी क्षेत्रमा बसोबास गर्दै आएको बताएका थिए।
उनीहरूमध्ये ३२ प्रतिशतले आफ्नो यौनिक पहिचानकै कारण सबैभन्दा बढी परिवारबाट विभेद भोग्नु परेको बताए।
सामरी संस्था यस्ता विभेद, बहिष्कार र हिंसाकाविरुद्ध काम गर्दै आएको छ। जसअनुसार ‘जात व्यवस्था र यौनिकता’लाई चित्रकलामार्फत उतारेर प्रदर्शन गरिँदैछ।