गत फागुन १ गते राष्ट्रिय दिवस घोषणा गर्दै सरकारले ‘जनयुद्ध’ दिवस मनाइरहँदा एकजना व्यापारी र एमाले नेता भनेर चिनिएका दुर्गा प्रसाईंले झापाको काँकडभिट्टामा पूर्वराजा ज्ञानेन्द्र शाह र उनका छोरालाई सँगै बसाएर राजसंस्था मागिरहेका थिए।
यो माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार हो। ‘जनयुद्ध’ दिवस उनैले दश वर्षसम्म राज्यविरुद्ध जंगलबाट चलाएको एउटा लडाइँ थियो र त्यसको सम्झनामा उनको सरकारले फागुन १ गतेलाई ‘राष्ट्रिय दिवस’ नै घोषणा गरिदियो।
त्यो त्यही सरकार थियो, जहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीको पनि थोरबहुत अंश मिसिएको थियो। भलै केही महिनापछि राप्रपा पनि सरकारबाट बाहिरियो।
दरबारको रणनीतिक एजेण्डा बोकेर त्यो बेलाका कुलीन पञ्चहरूले बनाएको एउटा पार्टी हो राप्रपा। जसको गर्भ-सिद्धान्तमै ‘राजा’ छन्। राजसंस्था अनि हिन्दू राष्ट्र गाँसिएका छन्।
राप्रपासँगको त्यो आदिम साइनोमा अब दुर्गा प्रसाईं र उनको अभियान गाँसिएको छ। पछि-पछि राप्रपा छ वा नेपथ्यमा।
त्यसलाई राप्रपाले पार्टीको ‘रणनीतिक समर्थन’ भनेर ब्याख्या गरेको छ।
दुर्गा प्रसाईंको ‘राजावतार’
ज्ञानेन्द्र शाह आफैँलाई थाहा छैन, जति चर्को स्वरमा दुर्गा प्रसाईं र उनको पछि लागेर राजधानी काठमाडौं आएकाहरूले राजा र हिन्दू राष्ट्र मागिरहेका छन्।
बिहीबार(मंसिर ७)मा यी राजा माग्नेहरूमाथि प्रहरीले अश्रुग्यासका गोला हानिरहँदा अनि पानीका फोहराले हिर्काइरहँदा ज्ञानेन्द्र शाहका परिवार ९ गते झापामा हुन थालेको अर्को एउटा शालिक अनावरणको कार्यक्रमको तयारी गरिरहेका थिए।
कुनै बेला माओवादी युद्ध लड्न होमिएका दुर्गा प्रसाईं विस्तारै व्यापारमा छलाङ मार्दै गए। पार्टी फेरे, नेता फेरे। सिद्धान्त त के हुनु र अब उनी बोली फेर्दैछन्, व्यवहार फेर्दैछन्।
देशभरिबाट मान्छे बोलाएर बल्खुका चोक र सडकभरि फिँजाएका उनलाई तीनकुनेबाट एमालेका ‘युवा’हरूले तथानाम गाली गरिरहेका थिए। एमालेले नै ‘स्वामित्व’ लिएको भनिएको यो आन्दोलनको कमाण्डर उनै महेश बस्नेत हुन्, जसको आदेशमा केही दिनअघि दुर्गा प्रसाईंलाई राजधानीकै होटेलमा कालोमोसो छ्यापिएको थियो।
र, प्रासाईं अनि बस्नेतबीचको ‘जानी दुश्मनी’ कहानीले अर्कै मोड लियो। कुनै बेला प्रसाईं पनि बस्नेतकै पार्टीमा थिए। जसलाई उनकै ‘बा’ केपी ओलीले पुलपुल्याएर निकै माथि पुर्याए। यस्तो पनि समय थियो, जहाँ प्रसाईंलाई जति ओलीसँगको ‘एक्सेस’ बस्नेतलाई पनि थिएन।
त्यसैले बस्नेतहरूका ‘बा’ प्रसाईंका ‘हजुरबुबा’ भए। जसले प्रसाईंलाई बिना कुनै बाधा सजिलै पार्टीको विभागीय जिम्मेवारीसमेम पुर्याए। भरभरोसा सब दिए। ऋणमा डुबेका प्रसाईंलाई त्यहाँबाट उतार्ने वचनसम्म दिए। कोसिस पनि गरे। तर, त्यति सजिलो थिएन, प्रसाईंका स्वार्थ र उनको ऋणको चक्र तोड्न।
जब ज्ञानेन्द्र शाह र उनका छोराछोरी बोलाएर पूर्वी नेपालबाट प्रसाईंले ‘राजा माग्ने’ अभियानको घोषणा गरे अनि एमालेसँग दुश्मनी सुरु भयो। प्रसाईंले त्यसपछि त कसैलाई छोडेनन्, माओवादी, काँग्रेस अनि एमालेलगायत सबै राजनीतिक दलहरूलाई गाली गर्न थाले।
एमालेले त्यहीबेलै उनलाई पार्टीबाट निकालिदियो।
एउटा ‘घाइते बाघ’लाई के चाहिन्थ्यो र!
जति जिस्क्यायो उति नै खुङ्खार हुने त हो, प्रसाईंलाई जिस्क्याउन महेश बस्नेत र उनका शूरवीरहरू नै काफी थिए। जसले प्रसाईंका हरेक बाटाहरू छेक्ने प्रयास थाले।
मंसिर ७ मा एमालेको प्रदर्शन त्यसैको एउटा छेको थियो, जसले प्रसाईंलाई फेरि घोच्न सकोस्। प्रसाईं पनि कम थिएनन्, उनले त झन देशभरिका आफूजस्तै ‘ऋणी’हरू, राजा चाहनेहरूको साथ पाइसकेका थिए। मात त उत्तिकै थियो।
अन्तत: एउटा दुर्गा प्रसाईंले सिङ्गो राजनीतिक पार्टी र व्यवस्था नै काँप्ने बनाइदियो। ७ गतेको राजधानी लगभग एक प्रकारको ‘अघोषित’ कर्फ्यू आदेश पालना गरिरहेको सहरजस्तै भयो। राजधानी धेरैपछि एकपटक फेरि भयले थर्रर भयो।
को हुन् यी मान्छे?
बिहीबार बिहान अबेरसम्मै काठमाडौं सहर लगभग सन्नाटाले भरिएको थियो। छिटफुट सवारीका आवाजले बिथोलिएका निद्रा त खुल्दै थिए तर सहर खुलिसकेको थिएन।
बिहानको मधुरो घाम छिप्पिन नपाउँदै बल्खु चोकमा भेटिएका थिए ओम क्षेत्री। उनी बर्दियाबाट आएका हुन्। बल्खु चोकमा दुर्गा प्रसाईं पक्षको आन्दोलनका लागि तोकिएको ठाउँ हो।
उनी किन काठमाडौं आए? धेरै कुरा उनलाई पनि थाहा छैन। यत्ति भन्छन् ‘दुर्गा प्रसाईंले राजा ल्याउँछन्, त्यसैलाई साथ दिन हामी आएका हौं।’
उनीमात्रै होइन, उनको गाउँठाउँबाट अरु पनि मान्छे आएका छन्। कुम्लाकुटुरा बोकेर उनीसँगै आएका धेरैजसो मान्छे बैंक, लघुवित्त र सहरकारीको ऋणले च्यापिएका छन्। ब्याजले छटपटाएका छन्। प्रसाईंको एउटा अभियान यो पनि हो।
काभ्रेका कुमार लामालाई यो सरकार, नेता अनि सारा राजनीतिक दलसँग बेस्सरी रिस उठेको छ। सिङ्गो ‘व्यवस्था’सँग एक्लै भिड्न खोजेका दुर्गा प्रसाईंलाई साथ दिन उनी पनि आफ्नो गाउँटोलका मान्छेसँगै मानासामल बोकेर काठमाडौं आएका छन्।
‘यो सरकारमा, यो व्यवस्थामा त सारा सबै भ्रष्टाचारी छन्। सबका सब दलाल छन्’ क्षेत्री भन्छन् ‘दुर्गा प्रसाईंसँग केही स्वार्थ छैन। उहाँले भन्नुभएपछि हामी उहाँलाई साथ दिन आएका हौं।’
उनीभित्र यतिसम्म विश्वास भरिइसकेको छ कि अब राज्य अनि सरकारले दुर्गा प्रसाईंलाई फकाएर शान्त पारे पनि ओम क्षेत्रीजस्ता धेरै ‘दुर्गा प्रसाईं’हरू त्यसै चुप लागेर बस्नेछैनन्।
‘यहाँ एउटामात्रै दुर्गा प्रसाईं छैनन्। म पनि त्यही दुर्गा प्रसाईं हुँ। उनी नभएर के भो त, उनलाई सरकारले फकाए पनि म नेतृत्व गर्छु’, उनी भन्छन्, ‘एउटा दुर्गा प्रसाईं नभए अब यो अभियान थामिन्न। बरु हजार दुर्गा प्रसाईंहरू तयार भइसकेका छन्।’
बर्दियाका ओम क्षेत्री अनि काभ्रेका कुमार लामाजस्ता हजारौं मान्छे बिहीबार बल्खुका सडकभरि खचाखच थिए। चारैतिर प्रहरीको ठूलै जत्थाले घेरिएका यी मान्छे प्रहरीको घेरा तोड्न खोजे। आफूलाई खेद्दै आएका युवा संघका कार्यकर्तालाई ढुङ्गा हाने धपाउन खोजे।
अनि प्रहरीको अश्रुग्यास र पानीका फोहरासँग भिड्न पनि पछि परेनन्। एउटा दुर्गा प्रसाईंको एक बोलावटमा देशभरिबाट जुटेका यतिधेरै मान्छे को हुन्?
‘यी आन्दोलन होइन, विद्रोह गर्न आएका मान्छे हुन्’ दुर्गा प्रसाईं भनिरहेका छन् ‘यो एउटा अभियानमात्रै होइन, आन्दोलन मात्रै पनि होइन। बरु यो त अर्को एउटा जनविद्रोह हो। जसको सुरुवात मंसिर ७ बाट भइसकेको छ।’
आफ्नो एक बोलीमा काठमाडौं आएर राज्यसत्तासँग भिडिरहेको त्यो भीडका सामुन्ने प्रसाईं अझ कड्किरहेका थिए। प्रहरीको काँडेतार चिथोर्न अघि बढेका आफ्ना मान्छेलाई सम्झाउँदै उनले बल्खुचोकबाट प्रधानमन्त्री प्रचण्डलाई खुलेआम चुनौती दिनसम्म डराएनन्।
‘अब सरेन्डर गर्नस् प्रधानमन्त्री प्रचण्डज्यू। जनता जागिसके। अब जनतासँगै आउनुस् यिनै जनताले तपाईंलाई त्यो गद्दीमा पुर्याएका हुन्’, प्रसाईं भनिरहेका थिए, ‘अब यी जनता रोकिन्नन्।’
यी मान्छे को हुन्? प्रसाईं अर्ब ऋणको डोरीले कसिएका एक व्यापारी हुन्। अनि उनको एक बोलीमा राज्यसँग लड्न आएका यी मान्छेहरू केही लाख र हजारको साँवा-ब्याजले अत्तालिएका केही मान्छे हुन्। रन्थनिएका प्रसाईंको साथ दिइरहेको यी र यस्तै भीडले कतैबाट नारा लगायो- राज आऊ, देश बचाऊ…।’
एउटा अभियानको सुरुवात अब व्यवस्था परिवर्तनको मोडबाट हुँइकिन थालेको छ।
उनको यो आन्दोलनमा आएका मान्छेहरू पनि यस्तै छन्। धेरै त धार्मिक संगसंगठन लागेकाहरू पनि छन्। राजा चाहने तर भन्न नसक्नेहरू पनि आएका छन्। सरकारसँग निराश भएकाहरू छन्। नेताहरूलाई गाली गर्नेहरू छन्। व्यवस्थासँग अवाक् भएकाहरू छन्।
यहाँ राप्रपाका केही कार्यकर्ता र नेताहरू पनि छन्। जहाँ, राप्रपाकै सांसद ज्ञानेन्द्र शाही दिनभरि प्रसाईंकै वरिपरी छाइरहे। आफ्नै गर्भसिद्धान्तमा राजसंस्था र हिन्दू राष्ट्र बोकेको राप्रपा भन्छ- बल्खुमा देखिएका लगभग हाम्रै कार्यकर्ता हुन्।
यसको अर्थ दुर्गा प्रसाईंको आन्दोलन, अभियान वा प्रासाईंकै भाषामा यो ‘जनविद्रोह’मा राप्रपाको पनि मौन सहमति त छँदैछ।
त्यसमा पनि राप्रपाका संस्थापक नेता प्रकाशचन्द्र लोहनीले त विज्ञप्ति नै निकालेर प्रसाईंको आन्दोलनमा सहयोग र समर्थन गर्न आफ्नो पार्टीलाई आह्वानसमेत गरेका थिए।
अर्का राजसंस्थाका कट्टर राप्रपाका नेता रवीन्द्र मिश्रले पनि सामाजिक सञ्जालमा लामो सन्देश लेखेर प्रसाईंको आन्दोलनलाई समर्थन गरेका थिए।
‘सकिन्छ, सहकार्य गरौं। सकिँदैन, सहयोग गरौं। सहयोग पनि गर्न मन नलागे असहयोग नगरौं। र, सार्वजनिकरूपमा एकले अर्कोलाई हियाउने र म चाहिँ असल, ऊ चाहिँ कमसल भन्ने काम नगरौं’, मिश्रले भनेका छन्, ‘पञ्चायत ढाल्न, गणतन्त्र ल्याउन/जोगाउन ‘कट्टर दुष्मन’हरू सहकार्य गर्न सक्ने, राजसंस्थावदीहरू नसक्ने? कसैको कारणले कसैको कार्यक्रम बिग्रिँदैन। हामी हाम्रो उद्देश्यमा पुग्न सबैको कार्यक्रम सफल हुनुपर्छ।’
भिडियाे :