तिहार र स्वास्थ्यः के खाने, कति खाने ? 

दसैँ सकिएको एक महिना भएको छैन। तिहार सुरु भइसकेको छ। अहिले तिहारको उत्सवमा हामी छौँ। यस उत्सवमा नेपालीको भान्सामा दैनिक मीठो–मसिनो पाकिरहेका हुन्छन्।

दसैँ र तिहार हिन्दु नेपालीहरुको महानपर्व हुन्। यस समयमा तेलमा तारेको, तेलमा भुटेका परिकारहरु बढी पाक्छन्। चाडपर्वमा पाहुना जाने, आउने चलन छ। यसमा पनि धेरै माछा, मासु, मिठाइ, रोटीहरु कोशेली लैजाने र खानपान बढी गरिन्छ। जसले गर्दा स्वास्थ्य समस्याहरु चाडपर्वमा बढी देखिन्छ।

खानपानमा ध्यान नदिँदा विभिन्न रोगहरु लाग्ने तथा दीर्घरोग भएकाहरुलाई झन समस्या हुन सक्छ।

त्यसैले खानेकुराहरु ख्याल गरेर मात्र खानुपर्छ। के खाने, कति खाने, कसरी खाने भन्ने विषय चाडपर्वमा बढी ध्यान दिइयो भने स्वास्थ्य समस्याबाट बच्न सकिन्छ।

अरु समयमा माछा, मासु नखाने परिवारमा पनि चाडपर्वका बेलामा खानुपर्छ र खुवाउनुपर्छ भन्ने चलन छ। चाडपर्वमा जति खाए पनि हुन्छ, अरु बेलामा नखाए पनि हुन्छ भन्ने कतिपयमा सोच देखिन्छ। यसले स्वास्थ्यमा गम्भीर समस्या सृजना गर्न सक्छ।

चाडपर्व खाइने असन्तुलित भोजनले पखाला लाग्ने, कब्जियत हुने, शरीरमा चिल्लो मात्रा बढ्ने समस्या हुन्छ।

सुगर, मुटुको समस्या, उच्च रक्तचाप, मृर्गौलामा समस्या जस्ता जति पनि दीर्घरोग छन्, यस्ता राेगहरू देखा पर्ने सम्भावना रहन सक्छ।

खानाकै कारण चाडपर्व सकिनेबित्तिकै अस्पतालमा बिरामीको चाप बढ्ने हामीले देख्छौँ। त्यसैले तिहारका समयमा बढी तेलमा तारेका परिकारहरू खाँदा स्वास्थ्यमा गम्भीर समस्या हुनेतर्फ हामी सचेत हुनुपर्छ।

कस्तो खाना खाने?

तिहार भन्नेबितिकै सेलरोटीको याद आउँछ। सेलरोटी, मिठाइलगायतका गुलियो र चिल्लो मिसाइएको खानेकुरा खाने प्रचलन धेरै छ। मासुको विभिन्न परिकारहरु भुटन फ्राई, रोस्टलगायत अनेकौँ बनाएर खाने गरिन्छ।

त्यसरी खाँदा स्वास्थ्यमा कस्तो प्रभाव पर्छ भन्ने कुरामा ध्यान दिनु हामी सबैलाई आवश्यक छ। चाडपर्व हो, केही दिन रमाउँदै खानेकुरा खान सकिन्छ। तर आफ्नाे स्वास्थ्यकाे पनि ख्याल राख्नुपर्छ।

चिनीभन्दा सख्खर राम्रो हुन्छ। सख्खर चिनीको रसस्वरुप हो। जुन प्रशोधित गरिएको हुँदैन। तर विचार नगरी खानेकुरा खाँदा पछि कस्तो किसिमको प्रतिकुल असर पर्छ भनेर ध्यान दिन आवश्यक हुन्छ।

बालबालिकालाई कसरी खुवाउने?

विशेष गरेर बालबालिकालाई अनावश्यक रुपमा खानेकुराहरू खुवाउँदा स्वास्थ्यमा नकारात्मक असर पर्छ। बालबालिकाले भुटेको, तारेको खानेकुरा मन पराउँछन्। यी खानेकुरा उनीहरुलाई कति खाने, कसरी खाने भन्ने थाहा हुँदैन। यसमा अभिभावकले ध्यान दिनुपर्छ।

बालबालिकाले धेरै खाए भने पचाउन सक्दैनन्। त्यसैले बालबालिकालाई मासु खुवाउँदा थोरै मात्र चिल्लो प्रयोग गरेर खुवाउनुपर्छ।

धेरै चिल्लो नराखिकन, फ्राई नगरी, छाला-बोसो निकालेको मासु खाएमा स्वास्थ्यमा प्रतिकुल असर पर्दैन। कसैले मासु पच्छ भन्दै ड्रिंक्स (रक्सी) आफू पनि खाने र बालबालिकालाई पनि खुवाउने गरेको हामीले देख्छौँ। तर त्यसमा मासु पचाउन सहयोग गर्ने कुनै न्युट्रेन्स हुँदैन। त्यसैले ड्रिंक्सहरुलाई प्राथमिकता दिनेभन्दा त्यही मौसममा पाइने फलफूलको जुसलाई प्राथमिकता दिनुपर्छ।

कति खाने?

चाडपर्व होस् या अन्य समय, आफ्नो शरीरको अवस्था कस्तो छ भन्ने विचार गरेर खानेकुरा खानुपर्छ।

साधारण खानेकुरामा जस्तै सागपात, गेडागुडी, दूध, फलफूल कुन समयमा हुन्छ, मिलाएर खानुपर्छ। मासुहरु पनि आफ्नो शरीर अनुकूल मिलाएर खानुपर्छ।

मासु रातो र सेतो गरी दुई प्रकारको हुन्छ। पोषणतत्वको आधारमा रातो मासुको कोलेस्टोर बढी हुन्छ। त्यसैले रातो मासु धेरै खानु हुँदैन।

रातो मासु खाँदा किड्नी, मुटुको समस्या, सुगर, प्रेसर भएको व्यक्तिमा बढी असर गर्छ। प्राय जस्तो मान्छेहरुले बोसोयुक्त मासु खान्छन्। तर बोसो एउटा यस्तो पोषक तत्व हो, जुन थोरै ठाउँमा पनि धेरै जम्मा हुन सक्छ। यस्तो बोसोलाई जलन क्रिया जस्तै– व्यायाम तथा अन्य शारीरिक क्रियाकलाप गरेर घटाउन सकियो भने शरीरमा सन्तुलन हुन सक्छ।

त्यसकारण मासुको छनोट गर्दा मात्रै होइन, पकाउने तरिकामा पनि विशेष ध्यान दिनुपर्ने हुन्छ।

मासु मात्रै होइन, मध्यपानमा पनि विशेष ध्यान दिनुपर्छ। किनभने एउटा खानाले वा खाद्यले स्वास्थ्यमा प्रभाव पारिरहेको हुन्छ। त्यसैले चाडपर्वमा मात्रै होइन, हामीले हरेक समयमा परिणाम मिलाएर खायो भने हामीले स्वस्थ भएर चाडपर्व मनाउन सक्छौँ।

(बिएल नेपाली सेवाका लागि मिनु गोलेले पोषणविद् डा.जय प्रधानसँग गरेको कुराकानीका आधारमा तयार पारिएको स्वास्थ्य सामग्री)

प्रकाशित मिति: : 2023-11-11 15:16:00

प्रतिकृया दिनुहोस्