धान लहरिएको खेत मास्दा रूपन्देहीको मायादेवी गाउँपालिका-७ का राधेश्याम यादवलाई छिमेकीले गाली नगरेका हैनन्।
छिमेकीले ‘हुँदा खाँदाको खेत मासेर किन पोखरी खन्नुपर्यो। खेतमा धान फलेको छ र खाएका छौ। यो पोखरी खनेर उँभो लाइँन्न’ भने।
तर, पनि राधेश्याम केही गरौँ भन्ने सोचमा थिए। धानबाट हुने आम्दानीको विकल्प उनले माछामा देखे अनि पोखरी खने।
‘धानबाट हुने आम्दानी भन्दा माछाबाट हुने आम्दानी राम्रो लाग्यो। छपियाका केही गाउँमा गएर यसबारे बुझेँ। छिमेकीले यसबाट माथि उठ्न सकिँदैन भन्दा पनि मैले अटेर गरेर माछा पालन सुरू गरेको हुँ’, राधेश्यामले भने।
माछा पोखरी खन्दै गर्दा राधेश्यामले विदेश जाने सपना त्यहिँ पुरिदिए। विदेशी भूमिको श्रम, श्रमको मूल्य अनि परिवारबाट टाढिनुको पीडा उनले महसुस गरिसकेका थिए।