शुक्रबार राति अकल्पनीय रुपमा गएको भूकम्पले नलगाड नगरपालिका–६ गराग्लीका शेरबहादुर रावलले परिवारका चार सदस्य अकालमा गुमाउनुपर्यो।
आमा सितली, भाउजू कल्पना, छोरी गुन्जन र छोरा टाइजनलाई एकैपटक गुमाउनुपर्दाका पीडामा छन् उनी। दिनभरिको कामको थकानले सबै सुतिरहेको समयमा एक्कासि आएको भूकम्पमा परेर शेरबहादुरले अधिकांश परिवारका सदस्य गुमाउनुपर्यो।
सात जनाको परिवारमध्ये तीन जना मात्र मृत्युको मुखबाट बाँच्न सफल भएको छन्। शेरबहादुरका पिता कृतिबहादुर, छोरी स्मृति गम्भीर घाइते भएका छन् भने दाजु विवश घर बाहिर भएका कारण ज्यान बचेको छ।
शेरबहादुरले भने, ‘मैले अहिलेसम्म राहत पाएको छैन।’ घर भत्किएर तहसनहस भएपछि किरिया पुत्रीसमेत खुला आकाशमै बस्नुपरेको छ। कुनै पनि निकायबाट अहिलेसम्म पाललगायतका सामग्री नपाएको बताएका छन्। उनले दुखेसो पोखे, ‘सबै निकायलाई समस्या बताउँदापनि कुनै पनि सहयोग पाएको छैन।’
त्यस्तै नलगाड नगरपालिकामा सात हजारभन्दा बढी पालको आवश्यक पर्ने भए पनि हालसम्म मुस्किलले दुई सय ५० मात्र पुगेको जनाइएको छ। नगरपालिकाको योजना शाखाका प्रमुख नारायण खत्रीले पालको आवश्यकता भएको बताएका छन्। एकद्वार प्रणालीको नाममा सदरमुकाममा राहत सामग्री थन्क्याएर राख्ने तर पालिकासम्म नदिँदा पीडितले राहत पाउन नसकेको अवस्था रहेको जनाइएको छ। नलगाड नगरप्रमुख डम्बर रावतले भने, ‘नगरपालिकाले सक्ने काम गरिरहेको छ, हाम्रो क्षमताभन्दा बाहिर हामी कसरी सक्छौँ।’
नलगाड नगरपालिकाको १ देखि ७ वडासम्म भूकम्पले धेरै क्षति पुर्याएको छ। तीन दिन बित्न लाग्दासम्म पीडितलाई त्रिपालसम्म पाउन सकिएको छैन नलगाड नगरपालिका–६ कि किशोर रावलले गुनासो गरेका छन्। ‘मिडियामा राहत व्यापक आयो भन्ने छ, तर यहाँ केही पुगेको छैन। हामी हल्लाले बाँच्ने होइन बरु, मर्ने सम्भावना बढ्यो।’ अहिलेसम्म नलगाड नगरपालिकाको तथ्याङ्क अनुसार ६८ घाइते भएको र ५४ जनाको मृत्यु भएको जनाइएको छ।
भूकम्पको केन्द्रविन्दु बारेकोट गाउँपालिका–१ रामीडाँडा भए पनि नलगाड नगरपालिकामा बढी क्षति हुन पुगेको छ। भूकम्प पीडित बस्तीमा सञ्चार सेवासमेत प्रभावकारी नहुँदा काम गर्न निकै मुस्किल भएको नगरप्रमुख रावतले बताएका छन्। धेरै पटक टावर माग गरियो तर अहिलेसम्म सुनुवाइ नभएको उनको भनाइ छ।
त्यस्तै भूकम्पको केन्द्रविन्दु बारेकोट गाउँपालिका–१ रामीडाँडा सिर्पाचौर बस्तीका ५१ वर्षीय दलबहादुर घर्ती शुक्रबार मध्यरातको मिठो निद्रामा थिए। त्यही राति ११ः४७ मा रामीडाँडालाई केन्द्रविन्दु बनाएर आएको ६ दशमलव ४ रेक्टरस्केलको भूकम्पको झट्काले दलबहादुरसँगै सिङ्गो बस्तीको निद्रा बिथोलियो।
भूकम्पको कम्पन नसकिँदै दलबहादुर जोगाउन झ्यालबाट हाम फालेर भागेको सुनाए। परिवारका सबै सदस्य कताबाट बाहिरियो आफूलाई अत्तोपत्तोसमेत नभएको उनको भनाइ छ। वर्षौंदेखि बसिआएको पुर्खौली घर एकाएक तहसनहस भयो। भूकम्पको केन्द्रविन्दु रामीडाँडा क्षेत्रका अधिकांश बासिन्दाको अवस्था दलबहादुरको जस्तै छ। केन्द्रविन्दु भएर पनि मानवीय क्षति भएको छैन। भौतिक क्षति पनि जाजरकोटकै नलगाड र रुकुम पश्चिमको आठविसकोटको भन्दा कम छ।