ज्ञानेन्द्र शाहीजी, जनताले ‘शाहतन्त्र’का लागि मत दिएका होइनन्

जुम्लाबाट निर्वाचित सांसद ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेयता उनमा राजतन्त्रप्रतिकाे माेह निकै बढेको छ।

उनी नेपालमा राजसंस्था कुनै पनि हालत चाहिन्छ भन्नेमा पक्ष देखिन्छन्। संसद भवनमा हाेस् या अन्यत्र सांसद शाही राजसंस्थाकाे पक्षमा खराे वकालत गरिरहेका हुन्छन्। तर उनै शाही राजनीतिमा आउनुअघि राजतन्त्रसँग कुनै सराेकार राख्दैन थिए। यद्यपि उनको छुट्टै छवि भने थियो।

उनी सामाजिक सञ्जालमा भ्रष्टाचार विरोधी अभियानताका नामले चर्चित थिए। हातमा डायरी समातेर कसले कति कहाँ हिनामिना गर्याे, कति भ्रष्टाचार भयो भन्नेमा उनकाे मिसन केन्द्रित हुन्थ्यो। त्यसताका उनी मिडियामा भ्रष्टाचारीलाई खुलेआम चुनाैती दिन्थे। भ्रष्टाचार गर्ने सबैलाई जेल हाल्छु भन्थे। उनी भ्रष्टाचारविरुद्धको अभियानमा सामेल भएकै कारणले धेरै मानिस उनीप्रति सकारात्मक थिए। तर जनताबाट निर्वाचित भएपछि शाहीको सुशासन माेहभन्दा 'शाह' माेह धेरै देखिएको छ।

ज्ञानेन्द्र शाहीको यही पृष्ठभूमिलाई मुख्य आधार मानेर राजावादी पार्टी राप्रपाले उनलाई प्रवक्ताकाे पद दियो। पार्टीको जिम्मेवारीसँगै निर्वाचनमा जुम्लाको लागि संघीय सभाकाे टिकट पनि थमायाे। यता जुम्लाका नागरिकहरू पनि पुराना पार्टीको प्रवृत्तिबाट रुष्ट थिए। नागरिक विकल्पकाे खाेजीमा थिए। कसरी हुन्छ, पुराना पार्टीमाथि रिस पाेख्ने ठाउँको पर्खाइमा थिए। ठ्याक्कै त्यहीबेला जुम्लामा ज्ञानेन्द्र शाहीकाे उदय भयो। वि.स. २०७९ काे निर्वाचनमा शाहीलाई जुम्लाका जनताले ठूलो मतान्तरबाट विजयी गराए।

शाहीको व्यक्तित्व हेर्दा उनी नेता कम, अभियानता धेरै हुन्।  उनले छानेकाे पार्टीको राजनीतिक एजेन्डा र पृष्ठभूमि देख्दा जुम्लामा जितकाे कल्पनासमेत गर्न सक्ने ठाउँ देखिँदैन थियो। तर देशभर नयाँ र युवाप्रतिकाे बढेको लहर ,माहोल र पुराना पार्टीप्रतिकाे वितृष्णाले गर्दा जुम्ली जनताले शाहीलाई राेजे।

शाहीलाई जुम्ली जनताले उनको विशेषताकाे आधारमा चुनेका हाेइनन्। अर्को कुरा उनमा उही मिडियामा हल्लाखल्ला गर्ने बाहेक अरु केही प्रतिभा थिएन। ज्ञानेन्द्र शाहीलाई जनताले निर्वाचित गराउनुकाे मुख्य कारण भनेको युवालाई माैका दिनुपर्छ भन्ने जनलहर हाे।

युवा प्रतिनिधि पुराना नेताभन्दा विकास प्रेमी र कम भ्रष्टाचारी हुन्छन् भन्ने जनविश्वास पनि हाे। उसाे त ज्ञानेन्द्र सामाजिक सञ्जाल र मिडियामा पहिल्यैदेखि छाइरहेका थिए। उनको पुरानै भ्रष्टाचार विरोधी अभियान र हल्लाखल्लाले धेरैको मन जितेको थियाे। यिनै विविध कारण र पुराना नेताप्रतिकाे वितृष्णाले छाेटाे समयमै ज्ञानेन्द्र शाहीलाई राष्ट्रिय राजनीतिमा ठाउँ दिइयो। अन्यथा उनलाई मत दिने अन्य सशक्त कारण थिएन।

निर्वाचनअघि र निर्वाचनपछि ज्ञानेन्द्र शाहीमा ठूलो परिवर्तन देखिएको छ। चुनावताका ज्ञानेन्द्र शाहीले जनतालाई धेरै आशा अवश्य दिएका थिए। अन्य उम्मेदवारले जस्तै शाहीले पनि जनतालाई शिक्षा, स्वास्थ्य, विकास निर्माण, राेजगारी, उद्योग, कलकारखाना, सुशासन इत्यादीकाे आश्वासन दिए। जनताले पनि झिनो आशा र विकल्पकाे खाेजीमा उनलाई मत दिए। तर विडम्बना निर्वाचित भैसकेपछि आज शाहीले जुन मुद्दालाई प्राथमिकताका साथ उठाएका छन्, राजतन्त्रको मुद्दा न उनको चुनावी प्रचारप्रसारमा सामेल थियो, न जुम्ली जनताले चाहेका छन्।

तथापि सांसद शाही एकाेहाेराे राजा अर्थात ज्ञानेन्द्र शाहको शासन मागिरहेका छन्। एउटा निश्चित जात, परिवार र धर्मको व्यक्तिलाई राजा बनाउनुपर्छ भन्दै लागिपरेका छन्। जुन विशुद्ध जुम्ली जनताको हितविपरीत थियो। जनताको चाहना र आस्थाकाे विरुद्धमा छ। जुम्ली जनता अहिले रनभुल्लमा परेका छन्। आफ्नो मतको दुरुपयोग भएको उनीहरूको ठम्याइछ।

जुम्लाको माग के हाे? जुम्ली जनतालाई सांसद शाहीले भने जस्तै राजतन्त्र चाहिएको हाे? राजतन्त्र र जुम्ली जनताको सम्बन्ध कस्तो छ? जुम्ली जनताले मुलधारका राजनीतिक दललाई पराजित गरेर ज्ञानेन्द्र शाहीलाई ज्ञानेन्द्र शाहलाई राजा बनाउन मत कदापि दिएका हाेइनन्। जुम्लाको आवश्यकता राजतन्त्र हुँदै हाेइन, बरु सुशासन, विकास र ज्ञानेन्द्र शाहीले पहिले उठाएको मुद्दा, भ्रष्टाचार विरोधी मुद्दा जुम्लाको आवश्यकता हाे।

राजासँग जुम्लाको सम्बन्ध कहिल्यै राम्रो थिएन। वि.स. २०६३ अघि जुम्लाकाे विकास कस्तो थियो? २४० वर्षको जहानीयाँ राजतन्त्रमा जुम्लाले के पायो? जुम्लामा प्रचुर सम्भावना हुँदाहुँदै पनि शाहीकालमा भाेकमरी, गरिबी, अत्याचार र राजनीतिक विभेदबाट जुम्ला पीडित थियो।

अझ भनाैँ, जुम्ला भएभरका नकारात्मक मानककाे अर्को नाम थियो। भाेकमारी, महामारी, विकट, अशिक्षा, अभाव, दबाब र प्रभाव जुम्ला थियो। राजतन्त्रमा जुम्लासँग केबल समस्या, पीडामात्र थियो। त्यसकारण जुम्लाले राजतन्त्रका कल्पनासमेत गर्न सक्दैन। राजतन्त्रको मुद्दा जुम्लामा फागत भ्रमकाे खेती र व्यक्तिगत स्वार्थमात्र हाे।

राजतन्त्रले जुम्लालाई दिएको नकारात्मक मानक मात्रै हाे। बाटो कस्तो थियो, मानव विकास सूचांकमा के थियौँ, शिक्षा, स्वास्थ्य अवस्था के थियो? याे तथ्य स्वयम् ज्ञानेन्द्र शाहीलाई थाहा छ। उनी पनि तमाम जुम्ली जस्तै भुक्तभोगी हुन्। राजतन्त्रले के दियो र गणतन्त्रले के दियो, त्यो सबै जगजाहेर नै छ।

सांसद शाहीले पनि अवश्य तुलनामा गरेका हाेलान्। तुलनात्मक हिसाबले राजतन्त्रमा भन्दा गणतन्त्रमा जुम्ली जनताले अलिक सहजता पाएका छन्। तथापि जुम्लाको लागि गर्नुपर्ने काम भने धेरै छन्। जुम्लाको रुप राजतन्त्रको अवसानपछि फेरिएको हाे। जुम्लाले जेजति पाएको छ, त्यो गणतन्त्रको स्थापनापछि नै हाे। चाहे त्यो राजमार्ग हाेस् वा कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठान। मार्सीकाे चर्चा हाेस् कि स्याउकाे बगैंचा। यति देख्दादेख्दै सांसद शाहीमा राजतन्त्र माेह किन? हिजोकाे विकराल अवस्थाका रक्षक पक्षधरप्रति पीडित पक्षका प्रतिनिधि शाही किन मरिहत्ते छन्?

जुम्लाका जनप्रतिनिधि माननीय शाहीले एउटा कुरा के बुझ्न आवश्यक छ भने जनताले शाहीलाई मत राजावादी भएकाले दिएका हाेइनन्। जनतालाई राजा प्यारो लागेकाले शाहीलाई चुनेका हाेइनन्।

अर्काे कुरा उनले उठाएको राजतन्त्रको मुद्दा जुम्लाको हाेइन। जुम्लाले ज्ञानेन्द्र शाहीलाई जिताउनुकाे मुख्य कारण भनेको युवा छ, आफ्नो गाउँठाउँप्रति प्रेम हाेला, विकास, सुशासन, सम्वृद्धिमा काम गर्छ भनेर हाे। न कि मृत संस्थालाई पुनःस्थापन।

अन्ततः यदि ज्ञानबहादुर शाहीलाई जुम्लाकाे छाेराे, प्रतिनिधि बन्नु छ भने जनताबाट बहिष्कृत संस्थाकाे मुद्दा त्याग्नुपर्छ। परिवारवादी शासन सत्ताको चाकरी छाेड्नुपर्छ। कसरी हुन्छ जुम्लाकाे माग र चाहना, सुशासन, विकास, समता, समानता स्थापनाकाे लागि रणनीति र कार्यक्रम निर्माण  गर्नुपर्छ। गाउँगाउँमा देखिएको भ्रष्टाचार अन्त्य हुनुपर्छ। अनिमात्र जुम्ला विकास हुन्छ। जुम्ली जनताको अभिमतकाे सम्मान हुनेछ।

प्रकाशित मिति: : 2023-10-28 17:45:00

प्रतिकृया दिनुहोस्

    एकदमै राम्रो लेख लेख्नु भा छ , हजुरलाई सलाम छ । यो बिषयमा निरन्तर कलम चलाईराख्नु होला ! जुम्ली जनतालाई घचघचाई राख्नुहोला ।

    • एक बर्ष अगाडि
    • Dana Bahadur Bk