चाँदनीको रातमा भारीसँगै एक डेढ घन्टाको उकालो हिँडिएको त्यो समय जिन्दगीको स्वर्णीम समय थियो। धानको भारी होस् कि परालको भारी चौतारीमा अडेस लगाएर टाउको हल्लाउँदै पसिना पुछ्नुको आनन्द छुट्टै थियो। बाटाभरि चियाइरहन्थे लाखौँ ताराहरू। टिल्पिलाइरहेका हुन्थे एदाकदा जूनकीरीहरू। नाचिरहेका हुन्थे उकालोको टुप्पामा बटुवाको प्रतीक्षामा सधैंभर दृष्टि बिछाइरहने बरपीपलका पातहरू। बिस्तारै छोएर जान्थ्यो सिरसिरे बतासले पनि।
त्यो यही समय हो। यही मौसम हो गर्मी ओरालो लाग्दै गर्ने र बिस्तार बिस्तारै जाडो चलमलाउन थाल्ने। दसैंंको सुरुवातको समय अर्थात् दसैँ आउन थालेको संकेत गरिरहेको समय। भावुक बनाउँछ अहिले पनि शारदीय आगमनले, सौन्दर्यले अनि विगतको सम्झनाले। आँखा रसाउँछन् मालश्री धुन सुन्दा। आँगनमा बज्ने दमाहा र सौनाइको धुनले पगाल्थ्यो होला मलाईझैं अरुलाई पनि। निकै नै बलियो छाप छोडेर गए स्मृतिपटलमा विगतका दसैँहरूले। बा हुनुहुन्थ्यो र दसैँको पनि महत्व थियो। ती दसैँहरू पनि थिए। बा गएपछि बासँगै ओझेल परे घुर्की लाउँदै नयाँ सामानको माग गर्ने दिनहरू पनि। म बाह्र वर्षकै छँदा छाडेका हुन् बाले। त्यसपछिका दिनमा ओढीरहेँ भावुकताको पछ्यौरी। त्यति सानै उमेरमा कसरी त्यति भावुक बन्न पुगेँ? अहिले सम्झिँदा अचम्म लाग्छ।
आमाको ममता एकातिर हुन्थ्यो बाको जिम्मेवारी र बासँग गरिने कुनै चिजको आश अर्कोतिर। एकातिर भोक लाग्थ्यो आमाको ममताको अर्कोतिर नजर बिछ्याउन मन लाग्थ्यो बाका पैतालाले नाप्दै गरेका गोरेटातिर। बाको अस्कोटको खल्तिमा पुग्ने औँलाले पाएनन् धेरैदिन बाको हात समातेर आँगनमा मुस्कुराउन। आमाको पछ्यौरीको कुटुरो फुकाल्न आतुर हुने औँला पनि त्यसपछि कहिल्यै बढेनन् पछ्यौरीको कुटुरो फुकाल्न। एक शरणार्थीकोझैं बिताइरहें जिन्दगीका पलहरू।
हरेकपल्ट दसैँमा जमरा लगाउँदा बस्नु पर्ने त्यही ठाउँ हुन्थ्यो जहाँनेर बाले प्राण त्याग गरेका थिए। त्यही ठाउँ थियो रातभर बाकै इच्छानुसार गीता पाठ गरिएको। त्यही घर हो, त्यही अँगेनो हो। अरुबेला आउँदैनथ्यो त्यति सम्झना। कुन्नि किन हो बाले छोडेपछिका हरेक दसैँमा टीका थाप्दा रसाइरहन्थे आँखा। फुटिरह्न्थ्यो भित्रैबाट भक्कानो तर देखाइनँ कसैलाई। च्यापिरहे भित्रभित्रै।
बा बितेको दुई चार महिना भएको थियो। उतिखेर स्कुल जान ड्रेस लगाउनु पर्दैन थियो। जस्तो लगाउँदा नि हुन्थ्यो। एक जोर लुगामा वर्ष बिताउने त्यो समय। दिदी र मेरो पाइन्ट फाटिसकेको थियो पछाडीपट्टी। दुवैलाई स्कुल जान निकै गाह्रो भएको थियो। आमाले यो कुरा दमाई दाइलाई सुनाउनु भो। गोपाल दमाईले आफूसँग बचेका कपडाका टुक्रा खोजेर पाइन्ट सिलाइ दिए। ठूलो समस्याबाट मुक्ति पायौँ दिदी भाइले। त्यो खुसी सम्भवतः जिन्दगीकै खुसी थियो मेरा लागि।
प्रायजसो भाद्रमा पर्ने गौरा पर्वमा सिलाइन्थ्यो नयाँ लुगा। दुई चार दिन गौरा पर्वमा लगाएपछि धोएर पट्याएर साचिन्थ्यो बाकसमा दसैँका लागि भनेर। घरको आर्थिक अवस्थाको बारेमा त्यतिखेरै गम्भिर भएर सोच्ने भैसकेको थिएँ। बरु पछिका दिनमा कहिल्यै सोचिनँ।
बाल्यकालका कतिपय दसैँहरू अटाएनन् स्मृति पटलमा। तर, केही यसरी चिप्केर बसेकी हरेक वर्षको सरद ऋतुको आगमनसँगै उब्जाइरहे तिनले छातीमा भक्कानो। बढाइरहे सम्झनाको जरो। अतित जति प्रिय कहाँ हुन्थ्यो र वर्तमान। अतितको सम्झना नगरिकन मान्दैन मन पनि। त्यो त्यही अतित हो जसले चाहिने भन्दा बढी संवेदनशील बनायो। कतै रुवायो, कतै बीचबाटोमा जङ्गलको रुखझैं चुपचाप अडिन सिकायो। सबैले सबै ठाउँमा मनाउँछन् चाडपर्व। तर, फरक केबल तरिका न हो। त्यो माटो त्यो परिवेश अनि ती भाकाहरू स्मृतिपटलमा डेरा जमाइरहेकै छन्। उचित समय र मौसम अनुकूल मनोरञ्जन लिन चयन गरिए होलान् सदियौँ अघिदेखि हाम्रा चाडपर्वहरू। दसैँ त अमेरिकामा बस्ने नेपालीले पनि मनाएकै छन्। तर, यहाँको हावापानी यहाँको आँगन कहाँ पाउनु र त्यहाँ।
भारतका कयौँ स्थानमा दरवानी गर्न गएकाहरू फर्किन्थे दसैँमा लुगाफाटो र केही पल-पैसा बोकेर। काँधमा बोकेको टेपरेकर्डरमा घन्केका हुन्थे डेउडा गीतहरू। पानासोनीक ५४३ टेपरेकर्डर भएकाहरू त अहिलेका मर्सिटिज र पँजेरोका मालिकजस्तै ठानिन्थे गाउँघरमा उतिखेर। पारि डाँडामा लाहुरे हिँडिरहेको देख्दा नजरले भ्याएसम्म हेरिरहन्थे गाउँका महिला, वृद्धवृद्धा र केटाकेटीहरु। मैले आशीर्वाद पाउने हिसाबले कहिल्यै हेरिनँ दसैँलाई। त्यसरी आशीर्वाद लाग्ने भए त सबैजना सम्पन्न भइसक्थे अहिलेसम्म। पुगिसक्थ्यो सबैलाई सबैकुरा। सधैँभर हेरिरहेँ एउटा मनोरञ्जन दिलाउने पर्वका रुपमा। सबै जनासँग भेटघाट हुने, रमाइलो गर्ने, नयाँ लुगा लगाउने र मीठो खाना खाने पर्वका रुपमा मात्र।
आफूसँग अलिकति पैसा छँदा पनि अरुबेला पाइदैनथ्यो मासु खान। हरेक वर्ष दसैँ नै कुर्नु पथ्र्यो पेटभरि मासु खानलाई। बा घरबाट १ घन्टा टाढाको देवीथानका पुजारी। अष्ठमीमा दर्जनौँ बोका र राँगा काटिन्थे त्यहाँ। बोकालाई मन्दिरभित्र र राँगालाई मन्दिर बाहिरै काट्ने गरिन्छ। राँगालाई मन्दिरभित्र लग्न गाह्रो हुने हुँदा चलाएको हुनुपर्छ बाहिरै बली हान्ने चलन। आफू साकाहारी भए पनि बाले ल्याइदिनु हुन्थ्यो थानमा चढाइएका बोकाका केही टाउकाहरू। गाउँमा कसैको खसी बोका काटिँदा किनिन्थ्यो अरु दुई तीन किलो मासु पनि। पूजामा आएका टाउकाको मासु होस् वा आफैँले मार हानेको बोकाको मासु होस् पकाइसकेपछि बाँड्नु पथ्र्यो गाउँमा। एक गिलास झोल र दुई टुक्रा जति मासु त्यसरी बाँड्ने गरिन्थ्यो। त्यसै गरी गोरस नहुनेको घरमा एक गिलास दही वा दूघ दिइन्थ्यो। चाडपर्वमा गोरस हुनेको भन्दा बढी दही दूध नहुनेको घरमा हुन्थ्यो।
अष्ठमीकै दिन घरभन्दा केही तल रहेको भैरवको मन्दिरमा पूजा-आजा गरिन्थ्यो। जहाँ एकमाना घ्यूमा एक परिवारका दुइटा चामलका मोटा रोटी पाक्थे। रोटी पकाउने पूजा गर्नेदेखि देउता काँप्नेसम्म नाथहरूकै परिवारका हुन्थे। दुइटै रोटीको नाभीको भाग र एउटा रोटीको आधी भाँचेर भैरवलाई चढाइन्थ्यो। बली दिइएका बोका पोलपाल गरेर केही मासु पनि चढाइन्थ्यो। देउता पूजिसकेपछि थानमा चढाइएका रोटी र मासुका टुक्रा भैरवको प्रसादका रुपमा त्यहाँ उपस्थित सबैलाई बाँडिन्थ्यो। यसपल्ट गाउँ पुगेपछि ती दिन सम्झनामा झन बढी बलशाली बनेर आइरहे। धामी बितेपछि नयाँ धामी बन्न सकेको रैनरैछ। भैरव नपूजिएको झण्डै दुई दशक हुन थालिसकेछ। गाउँका सबैजसा तराई झरिसके। बस्ती पनि निकै पातलो भैसकेछ।
दसैँमा केरा पकाउने भन्थे। आँगनको छेउतिर केरा पकाउने खाल्डो बनाइएको थियो। जहाँ मुनि र माथि पराल र बीचमा केरा राखिन्थ्यो। खाडलभित्र धुवा छिर्ने हेतुले हुक्काको झैं सानो प्वाल बनाइएको हुन्थ्यो खाडल मुन्तिर। त्यही प्वालको छेउछाउमा धानको भुस्सा जलाइन्थ्यो। यसरी रातभर दिनभर भुस्सा जलाएपछि पाकिसक्थ्यो तीन चार दिनमा केरा। त्यतिखेर थिएन अहिलेको जस्तो औषधि राखेर पकाउने चलन। बुबाले केरा र नासपातिका बोट प्रसस्त मात्रामा रोप्नु भएको थियो। साउनमा नासपाती र दसैँको बेला केरा बेच्न पुग्थेँ घरभन्दा केही परको स-सानो बजारमा। एक रुपैयाँको दुई कोसा केरा बेच्दा पनि दुई तीन सय हुन्थ्यो। जुन रकम इमान्दारीपूर्वक आमाको हातमा सुम्पिन्थे।
आश्विनको दोस्रो सातातिर फुलिसकेका हुन्थे च्यूरी। ठुल्ठूला च्यूरीका रुखमा सुनिन्थ्यो माहुरीको भुन्भुनाहट। लाग्थ्यो कतै यी माहुरी पनि मालश्री धुन त सुनाउन खोजिरहेका छैनन्। कम्मरमा एक-दुई लिटरको डिब्बा बाँधेर चढिन्थ्यो च्यूरीको रुखमा। पातमा च्यूरीको मह झार्दै डिब्बामा खन्याइन्थ्यो। जुन मह सेल, निसोसेजस्ता चामलका परिकार पकाउँदा मिसाइन्थ्यो। दसैंको भोलिपल्ट बानेडुग्राको गाउँमा जात्रा मनाउँथे। पैतली मिलाउँदै डेउडा गीत खेल्दा गरिएका सवाल जवाफको रौनक छुट्टै हुन्थ्यो। पूर्णभावमा रमाउन मिल्ने खालका थिए, ती दिनहरू। सांस्कृतिक समन्वयले ऊर्जा थपिरहेकै हुन्छ हाम्रो जीवनमा।
धेरैपछि यो वर्षको दसैँमा गाउँ पुगेँ। कान्छी आमाको हातको टीका थापेँ। वृद्ध कान्छी आमाको स्नेह र ममताले भावुक तुल्याइरह्याे। पुरानो र नयाँ परिवेशलाई मनमनै तुलना गरिरहेँ। गाउँका केही युवादेखि केटाकेटीहरुलाई कसको छोरा वा छोरी हो भनेर सोध्नुपर्ने भएको थियो। नयाँ पिँढीलाई चिन्न सजिलो थिएन मेरा लागि। यतिखेर एकान्तमा सम्झिन्छु मनमनै– जिन्दगी उतै छाडेर आएँ जहाँ केरा, नासपाती बेचेर बेलुन किनेको थिएँ, अनि पूरै आकाश ओढेर डेउडा खेल खेलेको थिएँ।