एमाले अध्यक्ष केपी शर्मा ओली राजनीतिक जीवनको अन्ततिर छन्। माओवादीको बुइँ चढेर दुई–दुईपटक प्रधानमन्त्री भएपछि उनलाई यस्तो लागेको थियो कि अब उनी नेतामात्र हैन, राजनेता नै बनिसके। अब उनको कुनै विकल्प नै छैन। त्यसपछि उनले नेकपा भत्काए, एमाले फुटाए र ओमाले बनाएर एकछत्र गरे। यो एकछत्रमा उनलाई लागेको थियो कि २०७९ को चुनावमा उनको ओमालेको बहुमत आउँछ, आएन भने पनि ठूलो पार्टी बन्छ।
तर, २०७९ को आमचुनावले उनको झाँको मात्र झारेन कहिल्यै नउठ्ने गरी ठेगान पनि लगायो। त्यसयता उनी राजनेताको त कुरै छोडों, नेताबाट पनि तल ओर्लेर एक किसिमका ढोक्सावाल बने। चुनावलगत्तै उनको ढोक्सामा माओवादी, रास्वपा, राप्रपालगायतका साना–ठूला माछा पनि परे, प्रदेशदेखि केन्द्रसम्मै। त्यसपछि फेरि उनको खुट्टा भुइँमै भएनन्, म नै सर्वेसर्वा हुँ भन्न थाले। त्यसको केही दिनपछि नै उनको ढोक्साबाट माओवादी उछिट्टियो, रास्वपा र राप्रपा पनि त्यही बाटोमा लागे। हेर्दाहेर्दै उनको ढोक्सा रित्तो भयो। माछाको त कुरै छोडौं, भ्यागुत्ता पनि अड्याउन नसक्ने अवस्थामा पुगे ओलीका ढोक्सा।
यति हुँदाहुँदै पनि ओलीले आफ्नो ढिपी छोडेनन्। उनी निरन्तर रूपमा ढोक्सा थाप्ने काममै लागे। त्यसका लागि उनले साम, दाम, दण्ड, भेद सबै लगाए। माछा नपरे, भ्यागुता। भ्यागुत्ता नपरे चेपागाँडा, जे भए पनि हुने भनेर ढोक्सालाई नै खेतीपाती बनाएर लागे।
यो खेतीपातीका लागि उनीसँग कोशी प्रदेशमा खेल्न सक्नेजति धमिलो पानीको मात्रा बाँकी थियो। त्यही धमिलो पानीमा एकपछि अर्को गरेर ढोक्सा थापिरहेका ओलीले अन्ततः माछाका भुरा नपारे पनि कांग्रेसका आठवटा चेपागाँडा पारे। यी चेपागाँडा कांग्रेसका शेखर कोइरालाको ढोक्साबाट यता सरेका हुन्। यी बढ्नेखालका अथवा बढेर भ्यागुत्ता हुने खालका चेपागाँडा हैनन्, तैपनि त्यही आशमा ओली थुक निल्दैछन्।
नेपालमा अहिले हरेक क्षेत्रमा संस्थापन पक्ष अलोकप्रिय छ। यसका लागि उसको आफ्नो बदनियतपूर्ण क्रियाकलाप र कर्तुतले जति भूमिका निर्वाह गरेको छ, त्यति नै भूमिका उसलाई नियोजित किसिमले बदनाम गरेर अस्थिरतामा खेल्ने र आफ्नो स्थान बनाउने पक्षले पनि खेलेको छ। त्यसमा जनताको अस्थिर चरित्र र तातै खाउँ जलिमरू भन्ने प्रवृतिले पनि भरपूर योगदान गरेको छ।
कोशी प्रदेशकै कुरा गरौं। त्यहाँ कांग्रेसका २९ मध्ये ८ जना प्रदेशसभा सदस्य डा. शेखर कोइरालाका मान्छे रहेछन्। कोइराला को हुन् त भन्दा कांग्रेसको महाधिवेशनमा हारेका सभापतिका उम्मेद्वार।
जे भए पनि महाधिवेशनमा हारेपछि उनको प्रजातान्त्रिक चरित्र भनेको पार्टीको विधि विधान र परिधिभित्रै रहेर अहिले निर्वाचित पक्षको विरूद्धमा पार्टीभित्रको जनमत तयार गर्ने र अर्को महाधिवेशनमा जितेर कांग्रेसमा प्राधिकार जमाउने हो। एक प्रजातान्त्रिक पार्टीको नेताका रूपमा उनले गर्ने भनेको अधिकतम कार्य नै यही हो। तर दुर्भाग्य, वीपीको नाम जपेर त्यही परिवारको विरासतका नाममा राजनीतिको वैतरणी तर्न खोजिरहेका कोइराला त्यतिमा अडेनन्। महाधिवेशनमा हार्ने अनि अल्पमतमा रहेर भाग खोज्दै बहुमतमाथि सके शासन गर्ने, नसके बिग्रह गर्ने, के यही हो त कांग्रेसको प्रजातान्त्रिक चरित्र? के यही हो प्रजातान्त्रिक मूल्य र मान्यता?
पक्कै पनि त्यसो हैन र यस्तो प्रवृतिलाई कुनै पनि अर्थमा ठीक भन्दै बढवा दिने काम गर्नु हुँदैन। यो भनेको पार्टीलाई अरू कमजोर बनाउने व्यक्तिवादी प्रवृति हो। कांग्रेस यसै पनि कमजोर भैसकेको छ। यसलाई यो नाजुक मोडमा पुर्याउन शेरबहादुर देउबाले नै पर्याप्त छन्। त्यही किसिमको थप योगदान गर्न शेखर कोइराला आवश्यक नै छैन।
देउबाले त बहुमतको तानाशाही चलाएका हुन्। प्रजातन्त्र भनेकै बहुमतको तानाशाही हो भन्ने अर्थमा यसलाई सर्वथा गलत भन्न पनि मिल्दैन। कोइरालाको पछिल्लो चाल हेर्दा त यो अल्पमतको तानाशाही चलाउने कुरा भयो। यसलाई किमार्थ पनि ठीक हो भन्न सकिन्न र भन्नु पनि हुँदैन।
यसको अर्थ देउबा ठीक हुन् भन्ने हैन। तर, देउबा कांग्रेसले नचिनेका पात्र पनि त हैनन्। उनी यस्तै पात्र र प्रवृति हुन् र यस्तै भएरै जितेका हुन्। त्यसको अर्थ कांग्रेसको बहुमत अहिले देउबाकै चरित्र बोकेर हिडेको छ। यो चरित्र कांग्रेसको चरित्र हैन भन्नलाई कांग्रेसभित्रै संघर्ष गर्ने र त्यो फरक चरित्र भएका बहुमत कांग्रेसीजन बनाएर तिनीहरूको कांग्रेस बनाउने हो। कांग्रेस महाधिवेशनमा उपविजेताका रूपमा डा. कोइरालाले पाएको म्याण्डेट बढीमा यतिमात्रै हो। तर, उनले उपविजेता भएको बलमा जे जस्तो गतिविधि गरिरहेका छन्, त्यसले कांग्रेसको भलो गरिरहेको छैन र गर्ने पनि छैन।
हुँदाहँदा त कोइराला यसपटक ओलीको बार्दलीमा पुगेर ढोक्सामै परे। यसै पनि एमाले कांग्रेसको मुख्य प्रतिद्वन्दी हो। उनको चुनाव क्षेत्रमा पनि उनको प्रतिस्पर्धी एमाले नै हो। यसपटक माओवादीको सहयोगमा जितेका उनी यसअघिको चुनावमा माओवादी एमालेसँग मिल्दा एमालेका लालबाबु पण्डितसँग हारेका थिए। यसले के देखाउँछ भने उनको संसदीय राजनीतिको सफलता माओवादीसँग र असफलता एमालेसँग जोडिएको छ। यो तथ्य हुँदाहुँदै पनि उनी पार्टीमा एक किसिमको बिद्रोह गरेर ओलीको ढोक्सामा पर्न गए।
हो, यसबाट उनका आठजना अनुयायीमध्ये एकजनाले मुख्यमन्त्री र अरू केहीले मन्त्री पद पाउलान्। उनलाई पनि देउबालाई देखाइदिए भनेर एकछिनका लागि मूतको न्यानो मिल्ला। तर, के यसले कांग्रेस बलियो हुन्छ त? उनले गरेको यो कुकर्म बहुमत कांग्रेसलाई मन परेको छ त? यसबाट उनको राजनीतिक उचाइ बढ्यो त? के यसले उनको राजनीतिक भविष्य उज्ज्वल हुने सम्भावना बढायो त?
अहँ, केही पनि गरेन। यसले त पासा खेलिरहेका कोइराला ओलीको हातमा पासा दिएर च्याँखेदाउ थाप्न गएजस्तो भयो। जब कोही पनि कांग्रेसीजन कांग्रेसलाई यति धेरै नोक्सान गरेर आफ्नो प्रतिपक्षी क्याम्पमा जान्छ भने उसको कांग्रेसी भविष्य सकिन्छ नै। कोइरालाको कांग्रेसी भविष्य पनि एक किसिमले सकिएकै हो।
अब प्रश्न उठ्छ? कांग्रेसलाई यतिका धेरै नोक्सान पुर्याएर ओलीको बार्दलीमा जाने कोइरालालाई कांग्रेसले के गर्छ? स्याबास भन्छ वा कारबाही गर्छ? यसले एक अर्थमा कांग्रेसको भविष्य निर्धारण गर्छ। यदि कोइरालालाई कुनै पनि किसिमको कारबाही नगर्ने हो भने अब कांग्रेसमा अनुशासनहीनता बढेर थामी नसक्नु हुन्छ। उनको शक्ति र फूर्ति दुवै बढ्छ। उनी कांग्रेसलाई थप नोक्सान पुर्याउन उत्साहित हुन्छन्। यसरी अनुशासनहीन हुँदा पनि शक्ति बढेको देखेर अरू लोभी–पापी पनि उनको पछि लाग्छन्। यसले अन्ततः कांग्रेसलाई थप कमजोर बनाउँछ।
त्यसैले अब कांग्रेसले ओलीको ढोक्सामा परेका कोइरालामाथि डण्डा चलाउन पटक्कै ढिला गर्नु हुदैन। उनका आठ अनुयायीलाई तुरून्त पार्टीबाट निस्कासन गर्नुपर्छ। त्यसो गरियो भने मात्र कांग्रेसमा जान लागेको पहिरोको रोकथाम हुन्छ। अन्यथा, कोशीबाट सुरू भएको यो पहिरो सुदूरपश्चिमसम्मै पुग्छ। त्यसका लागि कांग्रेसले पार्टी फुट्छ वा के हुन्छ भनेर चिन्ता गर्नै हुदैन।
अहिले नै पनि कांग्रेस कहाँ एउटा पार्टी छ र? यो त यसै पनि अनेक व्यक्ति र गुटको स्वार्थ समूह भैसकेकै छ। बरू फुटे पनि फुटोस् भनेर कारबाहीको डण्टा चलायो भने कोइरालाको पक्षमा पार्टी फुटाउनको लागि कुनै पनि अंकगणित पुग्दैन। त्यसो हुँदा चोरलाई चौतारो हैन, सुली नै हुन्छ।
यो स्तम्भकार, कुनै पनि पार्टी फुट्नुपर्छ भन्ने पक्षधर हैन। न हिजो थियो न आज नै। पार्टी फुटेर देश बलियो हुँदन। यो स्तम्भकार त विचार र कार्यक्रम मिल्नहेरू एक ठाउँमा आएर नेपालमा बढीमा दुई पार्टी हुनुपर्छ भन्ने मान्यता राख्दछ। वैचारिक आधारमा देश दुई दलीय ध्रुवीकरणमा नगई सुखै छैन। यदि त्यसो भएन भने नेपाल सधैं राजनीतिक रूपमा अस्थिर हुन्छ र त्यो अस्थिरताले नेपालको कहिलै भलो हुदैन। न नेपाल समृद्ध हुन्छ, न नेपाली सुखी।
नेपालको दुःख अस्थिरता हो, मूलतः राजनीतिक अस्थिरता। त्यसको मुख्य अभियुक्त ओली हुन्। उनले नेकपा र एमालेलाई सकाएर नेपाललाई वैचारिक धरातलमा आधारित दुई ध्रुवमा ध्रुवीकरण हुने प्रक्रियालाई अवरूद्ध गरे। उनले पटक पटक संसद विघटन गर्ने निर्णय गरेपछि त्यसलाई जोगाउने नाममा देश ओली पक्षधर र विरोधी भन्ने खालको अप्राकृतिक ध्रुवीकरणमा गयो।
विचारले दक्षिण रहेको कांग्रेस र उत्तर रहेका माओवादी र एकीकृत समाजवादी एकै ठाउँमा आएर गठबन्धन बनाउनु पर्यो। त्यो गठबन्धन चुनावमा जानुपर्यो। यसले देशलाई जुन किसिमको अप्राकृतिक ध्रुवीकरणमा लग्यो, त्यसबाट अरू नयाँ पार्टी जन्मे। उही विचार र उही कार्यशैली भएका पार्टीहरू देशका लागि आवश्यक नै छैनन्। मूलरूपमा कांग्रेस र कम्युनिष्टकै चरित्र बोकेका अरू पार्टी देशका आवश्यकता नै हैनन्। धेरै पार्टी हुनु भनेको धेरै नेता हुनु हो। धेरै नेता हुनु भनेको समाधान हैन, समस्या हो।
ओली पात्र हैन, प्रवृति भैसक्यो, अस्थिरतामा खेल्ने चरम सत्तालिप्सा प्रवृति। यही प्रवृति नै हाम्रो देशको आधा समस्या हो। ठूलो कुरा गर्ने, जनताका आशा र आकांक्षाहरू चुल्याइदिने तर डेलिभरी नगर्ने। यही प्रवृति झाँगिदै जाँदा रवि, वालेनहरू सिक्वेलमा आएका हुन्। बोले हुने, डेलिभरी दिनु नपर्ने। जनता त्यसैमा बहकिने। अनि, नेपाल पछाडि नपरे को पर्ने? नेपाली जनताले दुःख नपाए कसले पाउने?
समग्रमा ओलीको ढोक्सामा चेपाहागाँडा नै सही, केही पर्न थालेको छ। त्यसले नेपालको राजनीतिलाई थप अस्थिर त बनाउने छ नै, अनिश्चिततातिर पनि धकेल्ने छ। त्यसलाई रोक्नका लागि कांग्रेसले निर्ममतापूर्वक यथाशीघ्र ती चेपागाँढाहरूको बध गर्नुपर्छ। किनकि, यी चेपागाँढाहरू विषले भरिएका छन्, यिनीहरू फैलिए भने नेपालको राजनीति पूरै विषाक्त हुन्छ।
ओली त यसै पनि त्यही बर्बादीमा रमाउने एक ताण्डवी हुन्। उनलाई चाहिएको फगत् सत्ता हो, त्यसका लागि उनी के गर्छन् भन्दा पनि के गर्दैनन् भन्ने एन्टी थेसिसको स्थिति छ।
सम्भव छ, यो दशैमा ओली यो प्रवृतिबाट बाहिर निस्कुन्। सम्भव छैन, उनी पात्रका रूपमा बाँचुन् तर यो प्रवृतिको भने बध हुनैपर्छ। अन्यथा, न नेपाल समृद्ध हुन्छ, न नेपाली सुखी।
घरदेशमा हौँ वा परदेशमा, हामी सबै नेपालीको चाहना त एउटै हो, समृद्ध नेपाल, सुखी नेपाली। सबैका लागि यही मनचिन्ते पूरा होस्, यसपटकको दशैँको, यही शुभकामना।