नेपालको संविधानमा चार खालका नागरिकताको व्यवस्था गरिएको छ– जन्मसिद्ध, वंशज, अंगीकृत र गैरआवासीय । यस अतिरिक्त मानको खातिर मानका लागि मानार्थ नागरिकताको पनि व्यवस्था छ ।
अघिल्ला खालका तीन नागरिकता प्राथमिक नागरिकता हुन् भने पछिल्ला दुईखाले नागरिकता भने अघिल्ला खाले होइनन् । मानार्थ नागरिकता त मानको खातिर मात्र हो त्यो विदेशी नागरिकलाई प्रदान गरिन्छ ।
तर, यसपटकदेखि व्यवस्था गरिएको गैरआवासीय नागरिकता भने विदेशमा रहेका नेपालीलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार दिने प्रयोजनका लागि ब्यवस्था गरिएको नागरिकता हो । यसमा राजनीतिक अधिकार चाँहि पटक्कै छैन ।
विदेशमा बसेका गैरआवासीय नेपालीले सुरूदेखि नै ‘एक पटकको नेपालीः सधैँको नेपाली’ को नाराअन्तर्गत दोहोरो नागरिकताको माग गर्दै आएका हुन् । त्यही माग सम्बोधन गर्न नेपालको संविधानमै गैरआवासीय नेपाली नागरिकताको व्यवस्था गरिएको हो ।
यसका लागि अभियान चलाइरहेको गैरआवासीय नेपाली संघले नेपालको संविधानमा व्यवस्था गरिएको गैरआवासीय नेपाली नागरिकतालाई संस्थागत रूपमा स्वीकार गर्याे । यसको सिधा अर्थ थियो, अब कुनै पनि गैरआवासीय नेपालीले एउटा सम्बन्धित देशको नागरिकता राख्न पाउने भयो, अर्को आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको नेपालको गैरआवासीय नेपालीलाई नागरिकता पनि राख्न पाउने भयो ।
अहिले नेपालको संसद्मा नागरिकता ऐन–२०६३ लाई संशोधन गर्न नयाँ संशोधन विधेयक दर्ता गरिएको छ । झण्डै चार वर्षदेखि विचाराधीन नागरिकता विधेयक फिर्ता लिएर सरकारले ल्याएको यो संशोधन विधेयकमा गैरआवासीय नेपाली नागरिकता दिने प्रावधानहरूको व्याख्या पनि गरिएको छ ।
गैरआवासीय नेपालीमाझ सुरूदेखि नै नेपालको संविधानमा व्यवस्था गरिएको गैरआवासीय नागरिकका अधिकारलाई लिएर आमसहमति छैन । सुरूदेखि नै अहिले पनि गैरआवासीय नेपालीको एउटा ठूलो हिस्सा राजनीतिक अधिकारसहितकै दोहोरो नागरिकताकै पक्षमा छ ।
यो हिस्सा भनेको नेपालमा रहँदा राजनीतिक पार्टीमा लागेका र अहिले विदेशमा बस्दा पनि नेपालका राजनीतिक पार्टीहरूको भातृ संस्थाहरूमा क्रियाशील रहेको जत्था हो ।
राजनीतिक अधिकार काटिएकामा यसै पनि रूष्ट यो जत्था विदेशी नागरिकता लिएको हकमा नेपाली नागरिकता त्यागेको प्रमाण पेस गर्नुपर्ने र जन्मसिद्ध वा अंगिकृत नागरिकता बुझाएर गैरआवासीय नागरिकता लिनुपर्ने प्रावधानले थप चिढिएको छ ।
तर, बहुमत गैरआवासीय नेपाली अहिलेको प्रावधानसँग सन्तुष्ट छन् । अहिलेको प्रावधानले उनीहरूलाई नेपालसँग जोड्ने र आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार पनि दिने भएकाले अरू खोज्नु न्यायोचित नहुने उनीहरूको ठहर छ ।
योभन्दा बढी अर्थात् राजनीतिक अधिकार पनि खोज्नु भनेको नेपालमा रहेका नेपालीको अधिकार खोस्नु हो भन्ने उनीहरूलाई लागेको छ । त्यसैले राजनीतिक अधिकार खोज्ने पहिलोखाले गैरआवासीय नेपाली र यी दोस्रो खाले नेपालीबीच नै अन्तरविरोध छ ।
गैरआवासीय नेपाली नागरिकता पूर्ण नागरिकता हैन, एक किसिमले भन्ने हो भने यो दोस्रो दर्जाकै नेपाली नागरिकता हो । नेपालको मात्र नागरिक भएको नेपालीले लिने नागरिकता र अर्को देशको पहिलो दर्जाको नागरिकता लिइसकेको नेपालीले लिने नागरिकता एउटै श्रेणीको हुन सक्दैन । हुनु पनि हुँदैन, किनकि यो प्राकृतिक न्यायको सिद्धान्त नै हैन ।
यस अतिरिक्त तेस्रोखाले नेपाली जो सानैमा विदेशमा आएका छन् वा विदेशमै जन्मिए, उनीहरूलाई भने यो सबै कागलाई बेल पाक्यो हर्ष न विस्मत जस्तै छ । उनीहरूमध्ये धेरैले बुझेकै छैनन् । किनकि, उनीहरूका अभिभावकले यसबारेमा बुझाउने कोशिस नै गरेका छैनन् । त्यसैले जो नेपालमा जन्मेर सानैमा विदेशमा गए, उनीहरूलाई जन्मेको देश नेपाल भन्ने थाहा छ, त्योभन्दा धेरै थाहा छैन । जो विदेशमै जन्मे उनीहरूको लागि नेपाल ‘ड्याडी ममी जन्मेको देश’ मात्रै भन्ने थाहा छ ।
विदेशमा बस्ने नेपालीको यी तीनखाले मतमध्ये कुनैले संविधानको मर्मअनुसार आएको पछिल्लो संशोधनका प्रावधानलाई परिवर्तन गर्न सक्दैनन् । यस अर्थमा अब एकजना नेपालीले एक प्रकारको एउटै मात्र नागरिकता राख्न पाउँछ ।
उसलाई जन्मसिद्ध, वंशज, अंगीकृत वा गैरआवासीय नेपालीमध्ये एउटा मात्र राख्ने अधिकार हुन्छ । पहिला तीनमध्ये एक हुने निश्चित आधार छन्, त्यसैको आधारमा हुने हो । तर, अब गैरआवासीय नेपाली नागरिकता लिनेले नेपालकै अर्को एउटा नागरिकता भने लिन पाउँदैन । यो भने सत्य हो । एकजना व्यक्तिले एउटै देशको दुई खालको नागरिकता लिने भन्ने कुरा सैद्धान्तिक रूपमा पनि सही हैन ।
गैरआवासीय नेपाली नागरिक अब ऊ आफू बसेको देशको नागरिकतासहित नेपालको गैरआवासीय नेपाली नागरिक मात्र हुन सक्छ । यसो गर्दा उसले गुमाउने भनेको राजनीतिक अधिकार मात्र हो ।
जस्तो कि, कोही पनि नेपालीले अमेरिकी नागरिकता लियो भने उसले नेपालको गैरआवासीय नागरिकता मात्र लिन पाउँछ । उसले सुरूमा प्राप्त गरेको नागरिकता भने कायम राख्न सक्दैन । यसको अर्थ उसले एकसाथ नेपालका दुईवटा र अर्को देशको एउटा गरी तीनवटा नागरिकता राख्न सक्दैन ।
सत्य यही हो, यसमा के खराबी छ र ? केही गैरआवासीय नेपालीहरू अहिले पनि उनीहरूको सुरूको नेपाली नागरिकता पनि राख्ने, गैरआवासीय नेपाली नागरिकता पनि राख्ने अनि जुन देशमा बसेको हो त्यही देशको नागरिकता पनि राख्न पाउनुपर्ने खालको धारणा राखिरहेका छन् । एउटै देशको दुई प्रकारको नागरिकता राख्ने चाहना आफैँमा सामान्य चाहना हैन । यस्तो असामान्य चाहना सामान्य मान्छेले राख्न मिल्दैन ।
यो निश्चित हो कि गैरआवासीय नेपाली नागरिकता पूर्ण नागरिकता हैन, एक किसिमले भन्ने हो भने यो दोस्रो दर्जाकै नेपाली नागरिकता हो । नेपालको मात्र नागरिक भएको नेपालीले लिने नागरिकता र अर्को देशको पहिलो दर्जाको नागरिकता लिइसकेको नेपालीले लिने नागरिकता एउटै श्रेणीको हुन सक्दैन । हुनु पनि हुँदैन, किनकि यो प्राकृतिक न्यायको सिद्धान्त नै हैन ।
यो स्तम्भकार नागरिकतालाई कागजको र भावनाको गरेर दुई श्रेणीमा बाँड्छ । सम्भव भए कागजको पनि र भावनाको दुवै एउटै खाले नागरिक भएर एक जुनी बाँच्नु राम्रो हो । तर, त्यो सम्भव नभए कागजको नागरिकता जहाँको राखे पनि हुन्छ, भावनाको नागरिकताचाहिँ आफ्नो जन्मदेशसँग जोडिराख्नु राम्रो हो ।
कागजको नागरिकता जहाँको राखे पनि भावनाको नेपाली नागरिकता राख्ने मेरो जन्मसिद्ध अधिकार कसैले खोस्न सक्दैन । जब कोही आचरण र व्यवहारले नेपाली हुन सक्दैन भने उसले कागजको नेपाली नागरिकता राखेर केही हुँदैन । त्यसबाट आफ्नो जन्मभूमिको सम्मान हैन, अपमान मात्र हुन्छ ।
जब यथार्थ यस्तो हो भने केही गैरआवासीय नेपालीहरू नागरिकता पनि थोकमा राख्नुपर्छ जस्तो गरेर तमासा देखाइरहेका छन् । यो देखेर एउटा प्रश्न गर्न मन लागेको छ– हैन महोदय, एक बारको जुनीमा तपाईँलाई कतिवटा देशका कति थान नागरिकता चाहिन्छन् हँ ?
( प्रस्तुत विचार २८ असार २०७९, मंगलबार दृष्टि साप्ताहिकमा प्रकाशित छ। काठमाडौैंमा ११औं गैरआवासीय विश्व सम्मेलन जारी छ । गैरआवासीय नागरिकता वितरण सुरू भएको पृष्ठभूमीमा यहाँ प्रकाशित गरिएको हो- सम्पादक)