धानका बाला झुलेसँगै दसैँ-तिहार आउन लागेको भान हुन्थ्यो। सबैतिर हरियाली, खेतभरि नुगेका धानका बाला, वरिपरी चराचुरुङ्गीको चिरविर-चिरविर आवाजले मन झनै फुरुङ्ग हुन्थ्यो।
दसैँ आउनुभन्दा पहिला नै योजनाहरू बुनिन्थ्यो, पिङ कहाँ हाल्ने, के-के कार्यक्रम गर्ने आदि, इत्यादि।
यसपाली गाउँमा को-को दादादिदीहरु आउनुहुन्छ, सबैको लेखाजोखा गरिन्थ्यो। दसैँमा आमाबुवाले नयाँ लुगामा स्कुलको ड्रेस ल्याइदिँदा त झनै रमाइलोको सिमा नै हुँदैनथ्यो।
दसैँमा मामाघर जानुको छुट्टै रमाइलो। बाटोमा घरमा टीका लगाएको दक्षिणाले लंगुर-बुर्जा खेल्नुको छुट्टै मज्जा। जित्नु त त्यस्तै हुन्थ्यो, हार्नुको पनि अर्कै आनन्द हुन्थ्यो।
बालापनमा दसैँको मज्जा छुट्टै हुन्थ्यो, साथी-दौँतरीसँग मिलेर पिङ हाल्न गइन्थ्यो। घरमा जानी नजानी लिपपोत र रङ्ग-रोगन गरिन्थ्यो। दसैँ आउनुभन्दा पहिला नि धेरै मज्जा लिइथ्यो। बालापनको त्यो दसैँ, त्यो तिहार पो तिहार! अहिले त खै के खै के भनेको जस्तो।
०००
अहिलेको दसैँमा घर जाउँ कि नजाउँ पो भएको छ। सधैँ घरमा बस्न अवस्थाले दिएन, केही गर्छु कि भनी सहरमा आइयो। अहिले न यता न उताको भाछु। न सहरीया हुन सकियो, न गाउँले। धन्न म त यतै नेपालमै छु, नेपालमै केही गर्छु भनी टोपलिएको म उस्तैउस्तै।
गाउँमा नि के जानु र खै!
गाउँका सबै दौँतरीहरू खाडी पसिगए, कसले हाल्दिने पिङ, खै कोसँग रमाइलो गर्नु र?
आजकालको दसैँ तिहारको के रौनक र! खै गाउँमा लिङ्गे पिङ, खै गाउँमा झन्डीबुर्जाको खेल, खै घरको भित्ता रङ्गाएको? शून्य शून्य लाग्छ आजकालको दसैँ-तिहार।
खै गाउँमा पिङ हाल्न तँछाडमछाड गर्ने काँइला दाइ, खै तिहारमा देउसी खेल्दा भट्याउनी तारा दिदी, खै कहाँ गए ती दादादिदी, ती दौँतरीहरू, ती दोस्तीहरू?
सुनेको थिएँ, काँइला दाइ खाडी गए रे! तारा दिदीको बिहे भयो रे! रनबहादुर मलेसियातिर छ। विकासे बाहिर जान भिसा लगाउँदैछ रे! सबै आ–आफ्नो बाटो लागिरहेछन्, लाग्दैछन्।
गाउँमा भएका अलिअलि साना भाइबहिनीहरूलाई के पिङ, के दसैँको रौनक, उही मोबाइल फोन, गाँजा, रक्सी, चुरोट…। विकृति भनौँ या समयको परिवर्तन। त्यही पनि १२ पास हुन नपाउँदै सबै बाहिर अमेरिका, अष्ट्रेलिया, जापान, कता हो कता।
यस्तै छ गाउँको हालत, हाम्रो हालत, देशको हालत।
देशमै केही गर्छु भन्ने टोपलिएका युवायुवतीहरूलाई पनि यहाँ बस्न गाह्रो छ। केही व्यापार, व्यवसाय, केही उद्योग खोलेर बस्ने वातावरण नै छैन।
कानुनी झन्झट, राजनैतिक खिचातानी आदिले गर्दा कुनै व्यवसायमा हात हाल्नका लागि धेरै सोच्नुपर्ने अवस्था छ।
हाम्रो समाजमा कसैले केही काम, व्यवसाय गर्नै लाग्यो भने अर्काले खुट्टा तान्ने प्रवृत्ति पनि उत्तिकै छ। एकले अर्काको प्रगति देख्न नसक्ने हाम्रो समाज। त्यसैले कहिल्यै समाज प्रगति हुन नसक्नु पनि मुख्य कारण हो।
देशको राजनैतिक खिचातानीले देश अनि धेरै युवाको भविष्य नै अन्योलमा परेको छ। यहाँ त नेता भनाउँदा, गुण्डा, चाकरीबाजहरू मात्रै बाँच्ने अवस्था छ, यहाँ केही सोझो तरिकाले केही गरौँ न भन्ने युवाहरूको कन्तबिजोग छ।
त्यसैले त आजकल उमेरले १८ काट्ने बित्तिकै, पढाइले १२ पास गर्ने बित्तिकै म्यानपावर, कन्सल्टेन्सी धाउन थालिहाल्छन्। अनि कसरी समाज बदलिनु, देश बदलिनु? भएका जनशक्ति विदेश पलायन भएपछि यस्तै छ मेरो देशको हालत।
सबै युवाहरु विदेश पलायन भएपछि, गाउँ त उही बाँकी रहेका बुढाबुढी, आमाबुवाहरु। न पर्दा सहयोग, न मर्दा मलामी।
अब त नेपाल सरकारको पनि कान खुल्नुपर्ने। हरेक दिन हजारौँ युवा विमानस्थलमा लाइन बसेको, सबै दक्ष जनशक्ति उतै परदेशी मुलुकमा हराउँदा देशलाई कत्ति पनि चिन्ता छैन। कस्तो विडम्वना!
अब नेपालमै केही गर्ने वातावरण सरकारले मिलाउनुपर्छ। रोजगारीकाे अवस्था सिर्जना गर्नुपर्छ, देशमै ठुला उद्योग, कलकारखाना खोल्नुपर्छ।
देशका युवालाई विदेश पलायन हुनबाट रोक्नुपर्छ। अनि मात्र प्लेन चढेर गएका धनबहादुरहरू बाकसमा फर्कनु पर्दैन, धेरै माइली दिदीहरूले सिन्दुर पुछ्नु पर्दैन। रमाउनका लागि कसैले पनि ४० कट्नु पर्दैन। गाउँमा जेठी आमा स्वर्गवास हुँदा पल्लो गाउँलाई गुहार्न पर्दैन। कोही युवा इजरायल जानुपर्दैन।
अब सबै युवाले आफ्नै देशमा दसैँ-तिहार मनाउन पाऊन्। विदेश गएको दोस्त सोमेले पनि अब सँगै दसैँ मनाउन पाओस्। सोमजस्ता हरेक युवाले गाउँमा सँगै दसैँ मनाउन पाउन्, गाउँमा एक्लै कसैको आमाले दसैँ मनाउन नपरोस्। सबैको निधारमा टीका र कानमा जमरा होस्। भाइटीकामा दिदी-बहिनीका हात खाली नहोस्, दसैँ-तिहारमा पहिलाको जस्तै रौनक फर्किआओस्। दसैँको शुभकामना…!