आयो है, आयो
महावीर पुनको किताब आयो।
आयो है आयो,
महावीर पुनको आत्मकथा आयो।
किन्नुहोस्, किन्नुहोस्,
महावीर पुनको किताब किन्नुहोस्।
काठमाडौँका सडक किनारमा ठुलाे स्वरमा एक्कोहोरो ‘माइकिङ’ गर्ने उनै महावीर पुन हुन्, जो वैज्ञानिक भनेर चिनिन्छन्।
उनको आत्मकथा ‘महावीर पुन: सम्झना, सपना र अविरल यात्रा’ सार्वजनिक भएको भएकाे छ।
जीवनका पीर–व्यथा, संर्घष र प्रेरणादायी प्रसङ्गहरु उनेर तयार गरिएकाे किताब बिक्रीको दौरनमा छन्, महावीर पुन।
महावीर पुनको आत्मकथा सार्वजनिक भएको तीन दिन भयो। उनले किताब लोकार्पणको लागि सभा गरेनन्, पत्रकार डाँकेनन्। ‘दराज’ नामक डिजिटल प्लेटफर्मलाई ‘लौ न यति किताब बेच्दिनु पर्यो’ भने। अनि, केही कार्टुन किताब गाडीमा राखेर आफैँ बेच्न हिँडेका छन्, सडकमा।
कीर्तिपुरस्थित राष्ट्रिय आविष्कार केन्द्रबाट गाडीमा किताब राखेर हिँड्छन्, उनी। कुनै सडक किनारमा उभिएर उसैगरी ‘माइकिङ’ गर्छन्, ‘आउनुहोस्, आउनुहोस्, महावीर पुनको किताब किन्नुहोस्’।
नवप्रतिभाहरुको लागि ‘रोलमोडल’ नै हुन्, उनी। त्यसैले सडक किनारमै उभिए पनि उनलाई धेरैले झ्वाट्टै चिनिहाल्छन्। त्यसपछि त पैसा हुनेहरुले किताब नकिन्ने त कुरै भएन।
तर, कतिपयले भने महावीर पुन आफैँ सडकमा किताब बेच्दै हिँडेकाे देखेर अचम्मित मानिरहेका थिए। ‘किन महावीर पुन यसरी सडकमा किताब बेच्दै हिँडिरहेकाे छन्?’ बटुवाहरुले साेच्न नपाउँदै उनी फुत्त अर्काे चाेकमा पुगेर फेरि उसैगरी भन्न थाल्छन्, ‘किताब आयाे किताब, महावीर पुनकाे किताब’।
महावीर पुनले यसैगरी बिहीबार आधा दर्जन ठाउँमा उभिएर किताब बेचे।
बिहान ११ बजेतिर साेल्टी हाेटेलमा पुगेका पुनले त्यहाँ छिनभरमै १ सय ४० वटा किताब बेचे। गैरआवसीय नेपाली संघ (एनआरएनए)को ११औँ विश्व सम्मेलन त्यहाँ चलिरहेकाे थियाे। महावीर पुनकाे किताब किन्नेहरुकाे भीड नै लागेकाे थियाे।
त्यहाँ किताब किन्नेहरुले पुनलाई पैसामात्र हाेइन, आश्वासन पनि दिइरहेका थिए। त्यहाँ दुई घण्टाजति बसेर उनी गाडीमा किताब लिएर गाेंगबु (नयाँ बसपार्क)तिर हुँकिए। त्यहाँ पनि उनका धेरै किताब बिके।
त्यहाँबाट उनी नारायण गाेपाल चाेक पुगे। त्यहाँ पनि उनका किताब किन्न चाहनेहरु धेरै थिए।
त्यसपछि काेटेश्वर पुगेर उनले ‘माइकिङ’ गरे। त्यहाँ पनि उनकाे किताब किन्ने र उनीसँग फाेटाे खिच्नकाे भीड लाग्याे।
त्यहाँबाट उनी सिधैं शंखमुलस्थित उजामा क्याफेमा पुगेका थिए। उनी त्यहाँ पुग्दा क्याफेमा चिया/कफी खाँदै किताब पढ्दै गरेकादेखि मनका कुरा साटासाट गरिरहेका प्रेम जाेडीहरु अचम्मित भए।
‘काँधमा कार्टुन बाेकेर किन यसरी क्याफे छिरे महावीर पुन?’ चिया पारखीहरु र प्रेम जाेडीहरुका मनमा प्रश्नहरु खेलिरहेका हुँदा हुन्, महावीर पुनले कार्टुनबाट किताब निकालेर टेबलमा फिँझाइ हाले।
एकाएक किताब किन्नेहरुकाे घुइँचाे लाग्याे। छिनभरमै ३५ थान किताब त्यहाँका मान्छेका झाेलादेखि अंगालाेसम्म पुगे। उजामा क्याफेले पनि १० थान किताब किन्याे।
महावीर पुन किताब बेच्दै, किताबमा हस्ताक्षर गर्दै, धमाधम पाठकहरुसँग फाेटाे खिच्दै थिए। हामीले प्रश्न गर्याैँ, ‘तपाईं आफैँ किन यसरी सडकमा किताब बेच्दै हिँड्नुभएकाे?’
‘किताब पसलहरु अथवा बुक सेलरहरुमार्फत् बेच्ने हो भने धेरै पैसा उनीहरुलाई बुझाउनुपर्ने रहिछ, त्यस कारणले,’ महावीर पुनले सिधा प्रश्नकाे सिधा जवाफ फर्काए।
महावीर पुनलाई पैसा चाहिएकाे छ। त्यही भएर त उनी यसरी हिँडिरहेका छन्। नत्र त उनलाई कहाँ अहिले आफ्नाे आत्मकथा लेखेर सडकमा बेच्दै हिँड्न रहर थियाे र? याे उनकाे बाध्यता मिश्रित रचनात्मक शैली हाे।
सरकारले वर्षाैदेखि बन्द अवस्थामा रहेकाे वीरगञ्जकाे कृषि औजार कारखानाकाे मर्मत र व्यवस्थापन गर्न तथा अनुसन्धान तथा विकास गर्ने जिम्मेवारी महावीर पुन नेतृत्वकाे राष्ट्रिय आविष्कार केन्द्रलाई दिएकाे छ।
त्याे कारखाना मर्मतकाे लागि एक पटकलाई सरकारले आवश्यक परेकाे रकम उपलब्ध गराउने सम्झाैता गरिएकाे छ। तर, सरकारले दिएकाे पैसाले मात्र पुग्ने अवस्था रहेन। उनले कृषि औजार कारखानाकाे मर्मतकाे लागि आफ्नाे पाेखरा नजिककाे २८ राेपनी जग्गा र आफूले पाएका पदकहरु बेच्ने घाेषणा गरे। तर, दुवै कुरा बिकेनन्। अनि, उनी आफ्नै आत्मकथा बेच्ने निष्कर्षमा पुगे।
‘साँच्चीकै भन्नुपर्दा मैले मेराे जीवनकथा बुढेसकालकाे खर्च जुटाउने स्राेतकाे रुपमा साँचेर राखेकाे थिएँ। त्याे कुरा मनमनै साेचेकाे थिएँ तर कसैलाई भनेकाे थिइनँ। मैले अहिलेसम्म पैसा कमाउने कुनै पनि काम नगरेकाे, साथीहरुकाे सहयाेगमा दैनिक खर्च चलाएकाे र बुढेसकालकाे लागि कुनै सम्पत्ती नजाेडेकाे हुनाले ७० वर्ष उमेर काटेपछि बिस्तारै जीवनकथा लेखूँला र त्यसलाई बेचेर जीवन धानूँला भन्ने मेराे साेच थियाे। तर, परिस्थितिले गर्दा त्याे साेच बदल्नुपर्ने भयाे र अहिले नै किताब लेख्नुपर्ने अवस्था आयाे। किनभने, मेराे आफ्नाे आवश्यकताभन्दा मातृभूमिकाे आवश्यकता हजाराैँ गुणा ठुलाे देखेँ,’ पुनले किताबकाे सुरुवातमै लेखेका छन्।
महावीर पुनले कृषि औजार खारखानकाे लागि आफ्नाे आत्मकथा समर्पण गरेका छन्। कृषि औजार कारखानाकाे लागि पैसा जुटाउनकाे लागि नै किताब लेखिएकाे छ भने किन बुक सेलरहरुलाई पैसा दिएर किताब बेच्न लगाउने त्याे भन्दा त आफैँ सडकमा पुगेर किताब बेच्ने निष्कर्षमा उनी पुगे।
याे कामलाई अझै केही दिन निरन्तरता दिने पुनकाे वाचा छ। त्यसैले उनी शुक्रबार पाेखरा जाँदैछन्, यसरी गरी सडकमा किताब बेच्न।
सडकमा माइकिङ गरेर किताब बेच्नु विगतमा त्यति नयाँ कुरा थिएन्। तर, त्यसमा लेखक आफैँ सडक धाउँदैन्थे। व्यापारी वा किताब बिक्रेताहरु त्यसाे गर्थे।
अब समय र प्रविधिसँगै तैरतरिकामा परिवर्तन आएकाे छ, डिजिटल प्लेटफर्मबाट सहजै बेच्न र किन्न सकिन्छ। पुनले याे कुराकाे महत्वलाई बुझेर नेपालकाे लागि दराज र विदेशकाे लागि अमेजनजस्ता माध्यमलाई पनि किताब बितरणकाे जिम्मा दिएका छन्। तर, त्यति हुँदा हुँदै पनि पुनलाई चैनकाे निन्द्रा लागेकाे छैन, आफैँ काँधमा कार्टुन बाेकेर गल्लीगल्लीमा किताब बेच्न हिँडिरहेका छन्। र, यसलाई उनी नयाँ तरिका मान्छन्। ‘मलाई नयाँ तरिकाले काम गर्दा मज्जा लाग्छ, त्यही भएर यसाे पनि गरेकाे हाे,’ पुनले भने। बाटाेमा किताब बेच्दा रमाइलाे पनि हुने उनकाे भनाइ छ।
पुनले आफ्नाे आत्मकथालाई कृषि औजार कारखानाकाे लागि स्राेत जुटाउने माध्यमका रुपमा प्रयाेग गरेका छन्।
म्याग्दीमा जन्मपछि प्राथमिक शिक्षा त्यहीँ पूरा गरेकाे, एसएलसी चितवनबाट दिएकाे, त्यसपछि उच्च शिक्षाकाे लागि काठमाडाैँ आएकाे काठमाडाैँबाट पनि अमेरिका गएकाे र अमेरिकाबाट नेपाल फर्किएर राष्ट्रिय आविष्कार केन्द्र स्थापनाकाे लागि गर्नु परेका संघर्ष र त्यसपछि भाेग्नु परेका अनुभवहरु पुनले किताबमा समेटेका छन्।
त्यसैले पठनकाे लागि याे किताब महत्वपूर्ण र उपयाेगी छ।
भिडियाे: