दसैँका लागि अग्रिम टिकट बुकिङ २२ गतेदेखि खुल्ने

File Photo
File Photo

दसैँलाई लक्षित गरेर सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ २२ गतेदेखि खुल्ने भएकाे छ।

शुक्रबार भौतिक पूर्वाधार तथा यातायात, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच भएको संयुक्त बैठकले २२ असोजदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष विजय बहादुर स्वाँरले टिकट बुकिङ २२ गतेदेखि खुल्ने सहमति भएपनि सरकारलाई बुझाएकाे ध्यानाकर्षणपत्र भने चाडपर्वपछि मात्रै  लागू हुने बताए।

‘आज बसेको बैठकमा अग्रिम टिकट बुकिङ खुला गर्ने सहमति भएकाे छ। १७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका थियौँ। त्यसलाई चाडपर्वपछि सार्वजनिक यातायातलाई सहज हुने कुराहरु हामीले राख्या छौँ। सिरियस भएर काम गर्ने भन्ने भएको छ। सरकारको जिम्मेवारी हुन्छ वा हुँदैन भन्ने बुझ्न मात्र खोजेका हौँ। अरु केही छैन’, उनले भने ‘कागजी रुपमा सहमति गर्न खोजेको सहमति भो। मन्त्रीज्यू, सचिवज्यू विभागको डिजि ट्राफिक प्रहरी प्रमुख सबै बसेर मन्त्रालयमा एउटा सहमति भयो।’

अघिल्ला वर्षमा दसैँ सुरु हुनुभन्दा झण्डै एक महिना अगाडि नै लामो तथा मध्यम दूरीमा जाने सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुलाउने गरे पनि यस वर्ष भने केही ढिला गरी खुल्न लागेकाे हाे।

यातायात व्यवसायी निरन्तर वर्षाका कारण बाटो बिग्रिएकाे कारण देखाउँदै दसैँका लागि अग्रिम टिकट बुकिङ खुलाउन आनकानी गरेकाे थियाे। तर शुक्रबार सरकारसँग भएकाे छलफलमा टिकट बुकिङ खुलाउने सहमति भएकाे हाे।

यातायात व्यवसायीका अनुसार प्रत्येक वर्ष चाडपर्वमा लाखौँ व्यक्ति काठमाडौँ छाड्ने गरेका छन्। हाल काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कबाट लामो तथा मध्यम दूरीका सवारीसाधन देशका ६५ भन्दा बढी जिल्लामा सञ्चालन हुँदै आएका छन्।

प्रकाशित मिति: : 2023-10-06 17:52:00

प्रतिकृया दिनुहोस्