पुल्चोक क्याम्पसको लफडा उत्कर्षमा, क्याम्पस प्रमुखसहित पदाधिकारीले दिए राजीनामा

इन्जिनियरिङ अध्ययनका लागि उत्कृष्ट मानिएको त्रिविअन्तर्गतकाे पुल्चोक क्याम्पसमा देखिएको विवाद उत्कर्षमा पुगेको छ। इन्जिनियरिङ पढ्नका लागि शुल्क वृद्धिका विषयमा भइरहेको विवाद उत्कर्षमा पुगेको हो।

इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) र विद्यार्थीबीच शुल्क वृद्धिका विषयमा भइरहेको विवाद निष्कर्षमा पुग्न नसकेपछि पुल्चोक क्याम्पस प्रमुखसहित पदाधिकारीले राजीनामा दिएका छन्।

बुधबार पुल्चोक क्याम्पसका निमित्त प्रमुख लोकनाथ रेग्मीले विज्ञप्ति जारी गर्दै आफूसहित क्याम्पसका पदाधिकारीले राजीनामा दिएको बताएका छन्। उनले विज्ञप्तिमा भनेको छन्, ‘स्वेच्छिक रुपमा क्याम्पसको आवाधिक पदबाट सामूहिक राजीनामा दिएका छौँ।’

विद्यार्थीहरुले अनुचित दबाबा सृजना गरी नियोजित तबरबाट अध्यनन् संस्थानको भविष्यमाथि नै संकट उत्पन्न भएको रेग्मीले बताएका छन्। उनले भनेका छन्, ‘यस अध्ययन् संस्थानका डीन, सहायक डीनहरुलाई  अनाधिकृत, अनुचित दबाब सृजना गरी नियोजित तबरबाट इन्जिनियरिङ अध्ययन संस्थानको भविष्यमाथि नै संकट पर्ने कार्य भएको ठहर हामीले गरेका छौँ।’

यस्तै विज्ञप्तिमा विद्यार्थीसँग वार्ताको औचित्य समाप्त भएको पनि उल्लेख गरिएको छ। इन्जिनियरिङ अध्ययन संस्थान कार्यान्वयन समितिले अन्तिम पटक तोकेको शुल्कबमोजिम शुल्क निर्धारण नभएमा क्याम्पस सञ्चानलन गर्न असमर्थ भएको विज्ञप्तिमा जनाइएको छ।

इन्जिनियरिङ अध्ययन संस्थानले क्याम्पस सञ्चालनमा समस्या भएको भन्दै यस वर्षदेखि अध्ययन शुल्क बढाएर ७ लाख ७५ हजार तोकेको थियो। यसको विरोध गर्दै विद्यार्थी संगठनले अनशन बस्नेदेखि सडक आन्दोलन गरेका थिए।

विद्यार्थीको आन्दोलनपछि त्रिवि र विद्यार्थी संगठनबीच शुल्क पुनरावलोकन गर्ने सहमति भएको थियो। त्यसअनुसार बनेको समितिले इन्जिनियरिङ अध्ययनका लागि ५ लाख ५४ हजार नयाँ शुल्क सिफारिस गर्‍यो।

तर विद्यार्थी संगठनहरु यस शुल्कमा सहमत भएनन् र उनीहरुले ४ लाख ५० हजार मात्र शुल्क राख्नुपर्ने माग राखे। त्यसपछि डिन कार्यालयले विद्यार्थीको मागका बारेमा निर्णय गर्न सकेन।

अहिले क्याम्पस प्रमुखसहित डीन, सहायक डीनलगायत पदाधिकारीले ५ लाख ५४ हजार रुपैयाँ शुल्क नलिएमा क्याम्पस सञ्चालन गर्न नसकिने भन्दै राजीनामा दिएका छन्।

प्रकाशित मिति: : 2023-10-04 17:52:00

प्रतिकृया दिनुहोस्