माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य तथा रोल्पा गंगादेव गाउँपालिकाकी तत्कालीन उपाध्यक्ष रिता घर्ती र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सकलदेव यादवसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
सोलार पम्पिङको खानेपानी निर्माण योजनामा भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले जानकारी दिएका छन्।
भ्रष्टाचारको आरोप लाग्नेहरूमा माओवादी नेत्री घर्ती र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवसहित तत्कालीन योजना अधिकृत कृष्णबहादुर घर्ती, तत्कालीन इन्जिनियर नवीन डाँगी, सबइन्जिनियर रोशनी विष्ट, खानेपानी तथा सरसफाइ टेक्निसियन बलबहादुर बस्नेत, उपभोक्ता समितिका अध्यक्ष मनबहादुर डाँगी, सचिव खडकबहादुर डाँगी र कोषाध्यक्ष चन्द्रकुमारी डाँगी छन्। त्यस्तै, तत्कालीन २ नम्बर वडाध्यक्ष भुपाल दमाई, वडा सदस्य टिका विक, गनबहादुर भण्डारी र वडा सचिव कुलबहादुर योगीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको छ।
गंगादेव गाउँपालिका वडा–२ स्थित घोरानेटी खोलादेखि घोरानेटीसम्म सोलार पम्पिङ खानेपानी निर्माण योजनामा बढी रकम भुक्तानी भएको उजुरी परेको थियो। अनुसन्धान हुँदा सोलार पम्पिङ खानेपानी निर्माण योजनाको लागि आर्थिक वर्ष २०७६–०७७ मा गंगादेव गाउँपालिकाबाट लागत अनुमान तयार भई रकम विनियोजन गरिएकाे थियो।
रकम विनियोजन भएपछि उपभोक्ता समितिसँग सम्झौता भई उक्त योजनाको कार्य गर्दा वास्तविक भए गरेको कार्यभन्दा बढी कार्य गरेको भनी गलत प्रतिवेदन दिन लगाई गलत नापी–किताब तयार गरिएको अख्तियारको निष्कर्ष छ।
गलत नापी–किताबका अनुसार झुट्टा बिल भरपाई तयार बनाएर ४ लाख ६६ हजार ४ सय ८८ रुपैयाँ ९८ पैसा भुक्तानी दिई गैरकानूनी हानिनोक्सानी पुर्याएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे आरोप छ।