चितवनमा लगाइएको धानमा विभिन्न रोगको सङ्क्रमण देखिएका छन्।
कृषि ज्ञान केन्द्र चितवनका सूचना अधिकारी सुरुचि त्रिपाठीका अनुसार पश्चिम चितवनमा लगाइएको धानमा ढुसी र गभारोको समस्या देखिएको हो।
यस्तै पूर्वी चितवनमा फड्के किरा, मिलिबग, सित व्लाइट, नेक व्लाष्ट जस्ता रोग देखिएको उनले जानकारी दिए।
उनका अनुसार कार्यालयमा दैनिक तीनदेखि चारजना धानमा लागेको समस्या लिएर आउने गरेका छन्। उनले भने, 'धानमा लागेको समस्या लिएर आउनेको किसानको सङ्ख्या बढ्दो छ। पूर्वी चितवनमा फड्के किराको समस्या मुख्य देखिएको छ।'
कालिका र खैरहनी नगरपालिकामा लगाइएको धानमा विशेषगरी फड्के किराको समस्या देखिएको उनको भनाइ छ।
यो किराले धानको गाँजमा बसेर धानको रस चुसी सुकाउने गर्दछ। जसका कारण पात जल्ने र गाँज परालजस्तो देखिने त्रिपाठीले बताए।
रोग नियन्त्रणका लागि कृषिविज्ञ सँगको परार्शमा विषादीको प्रयोग गर्न उनले कृषकहरुलाई सुझाव दिए। जिल्लामा यस वर्ष २३ हजार ३४ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको छ।