बाबाले किताब पढेको देखेर एकदिन मैले सोधेँ, हजुरले कति पढ्नुभएको बाबा? जवाफ आयो– मैले पढेको छैन। तर बाबाले नेपाली–अंग्रेजी पढेको देखिरहन्थेँ। समय मिल्यो कि लेखेकै देख्थेँ।
ड्याडीलाई किताबहरू पढ्न औधी मनपर्थ्यो। बाह्रखरीका किताबहरू किनेर पढिराख्नुहुन्थ्यो। हामीले पढेका पुराना किताब पनि। लेख्न औधी मनपर्थ्याे उहाँलाई। हामीले सकिएर बेच्न भनेर राखेका कपीहरुमा अलिअलि पेज खाली देख्यो कि लेख्न भनेर सम्हालेर राख्नुहुन्थ्यो। फुर्सद भयो कि लेख्न थाल्नुहुन्थ्यो।
अनि मलाई लाग्थ्यो- नपढेको मान्छेले पढ्न-लेख्न कसरी सकेको होला? जिज्ञासा लागिहरन्थ्यो। सायद म सानै भएर होला। त्यसैले बाबालाई धेरै पटक सोधेकी छु– बाबा कति पढ्नुभएको हो? तर उहाँले सधैँ भन्नुहुन्थ्यो– मैले पढेको छैन। तर मलाई विश्वास लाग्दैनथ्यो।
एकदिन फेरि सोधेँ– हजुरले कति पढ्नुभएको हो? त्योबेला बाबाले अर्कै जवाफ दिनुभयो। मैले दुई रुपैयाँ तिर्न नसकेर पढ्न पाइनँ। त्यसपछि मैले उहाँलाई कति पढेको भनेर सोधिनँ। किन पैसा भएन भनेर सोधिनँ। बाबासँग थप जवाफ खोजिनँ।
आज फेरि निदाउँदै गर्दा याद आयो बाबा। उही ‘दुई रुपैयाँ नभएर पढ्न पाइनँ।’ अनि तपाईंको पनि।
बाबाले हामीलाई छाडेर गएको चार वर्ष पुग्न लागेछ। निदाउनै लाग्दा त्यो तपाईंको अपुग दुई रुपैयाँको याद आयो। तपाईंको याद आयो। तपाईंलाई दुई रुपैयाँको अभाव भएपनि हामीलाई एक रुपैयाँको अभाव हुन नदिएको याद आयो।
हामीलाई हुर्काउँदा, पढाउँदा, बढाउँदा कुनै कुरामा ‘कम्प्रोमाइज्ड’ नगरेको याद आयो। आफूले पढ्न नपाए पनि हामीलाई पढ्नुपर्छ भनेको याद आयो।
बाबाले रेडियो सुन्नुहुन्थ्यो। समाचार सुन्नुहुन्थ्यो। बाबाले सुनेकैले गिरिजाप्रसाद कोइराला, मदन भण्डारी, प्रचण्डको नाम थाहा भएको याद आयो। तपाईंले टिभीमा समाचार हेरकै कारण देश विदेशमा घटेका घटना थाहा भएको याद आयो।
तर आज समाचार नहेरको चार वर्ष पुग्न लागेछ। नयाँ उदाएका नेताहरुको नाम तपाईं नभएकै कारण आज याद भएनछ।
बाबा बितेको त्यो कालो दिन सम्झिन चाहन्नँ। जब म त्यो दिन सम्झन्छु, मलाई गाह्राे हुन्छ। म अझै पनि त्यही दिनमा छु जस्तो लाग्छ। त्यही दुःख, पीडा अनुभव हुन्छ। जुन बाबा बित्दा अनुभव भएको थियो। त्यो दिन मलाई सपना जस्तो लागेको थियो।
लागेको थियो– फिल्महरुमा जस्तो अन्तिममा उठे हुन्थ्यो। तर बाबा उठ्नुभएन।
बाबा बितेपछि धेरैले सान्त्वना दिए। भन्थे– धेरै एक्लै बसेर नरोऊ, जेठी तैँ होस्, अब तैँले हेर्नुपर्छ बुझ्ने भइसकेऊ।
कतिले बाबाको मृत्युपछि हामीलाई पैसाको अभावसँग जोडेर हेरे। तर हाम्रो जीवनमा पैसाको होइन, बाबाबाट पाउने मायाको अभाव थियो।
म आज धेरैपछि बाबा सम्झेर रोएँ। मलाई तिमीलाई सम्झिन मन लाग्दैन। मलाई थाहा छ, तिमीलाई सम्झिन थालेपछि म आफूलाई सम्हाल्न सक्दिनँ।
तिमीले खुसी हुँदै म जन्मिँदाको कुराहरू अरूलाई सुनाएको, सानोमा तिमीलाई खुट्टा बोकाउँदै सुतेको, जाडो हुँदा तिमीलाई अंगालो मार्दै र तिम्रा दुई खुट्टा बीच आफ्नो चिसो खुट्टा राखेर सुतेको, मैले जिद्दी गरेकोले तिम्ले घरमा टेलिभिजन, आइरन ल्याइदिएको र अरु–अरु इच्छाहरु पूरा गर्दिएको म भुल्न सक्दिनँ।
कुनैबेला छिमेकी आमैले भन्थिन्– आमाबुवालाई माया गर। हेला नगर। आमाबुवा एकचोटि गएपछि फर्केर आउँदैनन्।
त्यतिबेला यस्तो कुराको खासै वास्ता लागेन। बुढाबुढी के–के भन्छन् जस्ताे लाग्थ्यो। तर जब बुवा बित्नुभयो, त्यसपछि मैले ती आमाको ती शब्द बुझेँ।
बाबाको अभाव आज बुझिरहेकी छु। राजधानीको यो हुलैहुलमा पनि एक्लो, सुनसान महसुस गरिरहेकी छु। तपाईंले छाडेसँगै हामीलाई अभावले खेदेको महसुस गरिरहेकी छु।
मलाई अहिले बाबालाई अंगालो हाली रुन मन छ। आफ्नो मनको यो भारी बिसाउन मन छ। तर यो सपना पूरा हुने छैन।
यदि साँच्चै अर्को लोक हुन्छ भने म हजुरलाई त्यहीँ भेट्ने छु। भन्न छुटेका, भन्न नसकेका। म भन्ने छु...।
लभ यु बाबा। मिस यु बाबा...!