हाम्रो बिहेकाे दिन तय भइसकेकाे थियाे। बिहेका लागि सामानहरू जुटाएर एक दुई दिनमा घर जाने तयारी गरिरहेका थियौँ। असोज ६ गते बिहानको ११ बजे काठमाडाैँबाट पोखराको लागि बस चढ्यौँ। करिब १२ बजेको समय थियो।
आकाशमा सूर्य प्रस्ट देखिन्थ्यो, दसैँको मौसम भएकाले वातावरण नै चाडपर्वमय थियो। हामी अगाडि बढिरहेका थियौँ। नौबिसे आउनैलाग्दा बस रोकियो। किन? भनेर अगाडि हेरेको लामो जाम परेको रहेछ। यो जाम चाँडै खुल्ला जस्तो छैन भन्दै मनमा कुरा खेलाउँदै कतिबेला बाहिर निस्कने कतिबेला भित्र पस्ने क्रम चलिरहेको थियो। यसै मलाई भित्र-भित्र अफ्ठ्यारो महसुस भइरहेको थियो। विस्तारै शरीर तात्न सुरु गरेको थियो। शरीर पूरै गलेको, जोर्नीहरु कटकट खाइरहेको तथा मुख सुख्खा भइरहेको थियो। सोचेँ १०, १२ दिन अगाडि पनि मलाई ज्वरो आएको थियो, त्यसैको प्रभाव होला। डेंगीको संक्रमण देशैभरि फैलिरहेको थियो।
म बसको अन्तिम सिटमा थिएँ। अन्तिम सिटमा धेरै नै उफारेको थियो, त्यसैको असर हो कि के हो मेरो टाउको पूरै तातो भयो र जाडो हुन थाल्यो।
करिब साढे एक घण्टा जाममा फसे पश्चात बस गुड्न थाल्यो। सिट परिवर्तन गरी चालक पछाडिको सिटमा बसेँ तर पनि मेरो शरीरको तापक्रम घट्ने कुनै लक्षण देखिएन।
पृथ्वी राजमार्गअन्तर्गत तनहुँ सडकखण्डको स्तरोन्नती कार्य चलिरहेकाले बाटो अछन्दिलाे थियो। यसले पनि मेरो शरीरमा तापक्रम बढाउन थप मद्दत गरेको थियो। निधारमा हात लगेर छाम्दा मलाई ज्वरो निकै आएको महसुस भएको थियो। चिसो पानी मुखमा हाल्न नसकिने अवस्था थियो। काठमाडाैँ-पोखरा औषतमा ६ घण्टामा पुग्नु पर्नेमा जाम र बाटोको खराबीका कारण १० घण्टा लगायो।
रातिको करिब साढे ८ बजे अमरसिंह चोक (पाेखरा)मा झर्यौँ, सायद जीवनकै कठिन यात्रा गुजारेर त्यहाँसम्म पुग्यौँ। लगत्तै त्यही चोकमा रहेको अस्पतालमा गएर आफ्नो ज्वरो नापेर हेर्दा १०३ डिग्रीको देखायो। त्यस राति नै अस्पताल भर्ना भएँ।
रिपोर्टमा डेंगी संक्रमण देखायो। ११ गते बिहे छ ८ गतेसम्म अस्पतालको बेडमा छु। डिस्चार्ज गर्दिन पर्यो भन्दै डाक्टरसामु बिन्ती बिसाएँ। यस्तो हालतमा हामीले ‘जा’ भन्न मिल्दैन भनेर जवाफ आयो।
जसोतसो घरै गएर औषधि-पानी गर्ने निधो गरेर अस्पतालको स्वीकृति नहुँदा नहुँदै पनि हामी अस्पतालबाट डिस्चार्ज भई सोही दिन पर्वत घरतर्फ लाग्यौँ।
बेहुलो बन्न लागेको छोरो कहिले घर आउला भनेर बाटो हेरेका बुबा आमाले मेरो त्यस्तो हालत देखेर थप चिन्तित हुनुभयो।
बिहेको बेला फुर्सदमा बसेर निम्ता गर्दा त आफ्नै आफन्त तथा साथी-भाइलाई सम्झिन सकिँदैन, त्यसमाथि आफ्नो खुट्टाले राम्रोसँग जमिन नटेक्ने, मन स्थिर नहुने, दिमागले सोच्न नसक्ने अवस्थामा गरेको निमन्त्रणमा धेरै आफन्त तथा साथी-भाइ छुटेको मैले पछि महसुस गरेँ।
आराम, औषधि, झोलीलो पदार्थ, गेडागुडी, ज्वानोको झोलले गर्दा शरीर केही हलुका भई २० को १९ भएजस्तो महसुस भइरहेको थियो।
पर्सीको बिहे मान्छेको चहलपहल तथा आफन्तको आगमन बड्दै थियो। म चाहिँ एक्लै बिस्तारामा पल्टिरहेको थिएँ। ज्वरो त लगभग घटिसकेको थियो तर शरीरमा ऊर्जा थिएन। शिथिल र कमजोर अवस्थामा थिएँ।
बिहेको अघिल्लो दिन अर्थात् असोज १० गते बिहान म आफ्नै कोठामा आराम गरिरहेको थिएँ, बाहिर बिहेको रमझम तथा मान्छेको चहलपहल थियो। यत्तिकैमा हुनेवाला श्रीमती अर्थात् भोलिको बेहुलीको फोन आयो। उनले मलिन आवाजमा भनिन् ‘रातभरि ज्वरो आएर सुत्न सकिनँ, जोर्नीहरु सबै दुखेको छ, ज्वरो १०२/१०३ डिग्रीसम्म आयो, टाउको उठाउन भएको छैन’।
म नि:शब्द भएँ। डेंगीको लक्षण हो आराम गर भनेर फोन राखेँ। भोलिको बिहे बेहुला र बेहुली दुवै डेंगी संक्रमित।
जीवनमा एक पटक गर्ने बिहे, त्यसमाथि दुवै जनाकाे अवस्था नाजुक तथा आफ्नो खुट्टाले राम्रोसँग उभिने स्थितिमा नरहेपछि सुरक्षा (हुनेवाला बेहुली)ले मिल्छ भने बिहे सारौ न भन्ने कुरासमेत गरिन्। तर, सबै तयारी पूरा भएको छ अब आएर सार्ने भन्ने होइन बरु भोलि मण्डपमा बस्नको लागि आत्माबल र हिम्मत जुटाउनुबाहेक अन्य विकल्प नरहेको बताए।
दिउँसोको ३/४ बजेको थियो, अकस्मात् मेरा दुवै आँखा पोल्न थाले। विस्तारै चिलाउन सुरु गर्यो। एकैछिनमा रगत नै चुहिने जसरी आँखा राता भए। बुबा-आमालाई देखाउँदा आँखा पाके भन्नु भयो। तत्कालै सकि नसकि बाग्लुङ बजार गएर एउटा मेडिकलबाट दुईवटा आइड्रब लिएर फर्केँ। एक पटक दुई थोपा हाले पश्चात एक घण्टाको लागि आँखा सेतो हुने र फेरि दुई थोपा राख्नुपर्ने। बेहुलो आँखा राता बनाउँदै गएर पनि भएन। आइपरेपछि जस्तो पनि सहनुपर्दो रहेछ र अवस्थासँग जुध्नुबाहेक अन्य विकल्प पनि हुँदो रहेन्छ।
जसरी हुन्छ भोलिको दिन कटाउने भन्ने कुराले पिरोलिरहेको थियो।
असोज ११ अर्थात् बिहेको दिन सकि नसकि सबैरै उठेँ र सुरक्षालाई फोन लगाएँ।
ज्वरो घटेको छ?
उताबाट आवाज आयो, छैन्।
मण्डपमा बस्न सक्छौ?
जवाफ आयो, यस्तो अवस्थाले सक्दिनँ तर कोसिस गर्नेछु।
पुन: आत्माबल बलियो बनाऊ भनेर फोन राखेँ।
घरका मान्छेहरूको आगमन बढ्दै थियो। भोजन पाक्दै थिए। बिहेका गीत बजिरहेका थिए। सबैका अनुहार हँसिला थिए तर म हाँस्न खोज्दा पनि हाँसो नआउने, खुसी हुन खोज्दा पनि मन गर्हौ हुने, टेक्न खोज्दा ठाउँमा पाइला नपर्ने अवस्थामा थिएँ।
ज्वरो नापेँ, थिएन। बल्लतल्ल हल्का फ्रेस भएर भान्छामा गएँ, अरु केही खान मन नै थिएन तर मन नलागि–नलागि भएपनि दुई गिलास ज्वानोको झोल पिएको त्यसको आधा घण्टा पश्चात पेट हुडलेर जति खाएको त्यतिनै मात्रामा वान्ता गरेर फालेँ। त्यसको केही समय पश्चात शरीर केही हलुका भएको महसुस गरेँ। अनि, बेहुलो बन्ने तयारीमा जुटेँ।
१/१ घण्टाको दौरानमा आँखामा औषधि पनि राखिरहेँ। पहिरन बेहुलाको भएपनि अनुहार बिरामीकाे। शरीर कमजोर र मन अशान्त भएर होला बेहुलो भएको फिल आएन।
जन्ती अगाडि बड्यो। करिब साढे एक घण्टामा बेहुलीको घर पुग्यौँ। बेहुलीको हालत मेरोभन्दा झन टिठलाग्दो, वरै तातो महसुस गर्न सकिने गरी आएको ज्वरो, बिरामी भए पनि श्रीङ्गारले सजिएकी बेहुलीको अनुहार र अवस्था देख्दा बिहे सार्नुपर्ने थियोझैँ लागेको थियो। बल्लतल्ल मण्डपमा बसि केही बेर पूजा गरियो।
बाहिर भोज-भतेर चलिरहेको थियो। तर, हामी १/१ गिलास दूध र १/१ वटा सुख्खा रोटीलाई नै हाम्रो बिहेको खाना बनायौँ। कत्ति पनि ढिला नगरि विधिपूर्वक बिहे सकि उनको त्यो ज्वरोले रन्केको तातो हात समाइ बिदा भएर जन्ती फर्कियौँ।
धेरै नै दु:ख पाएता पनि हामीले बिस्तारै डेंगीलाई जितेर छोडेउँ।
डेंगी संक्रमण हुँदा धेरै नै पीडा हुँदो रहेछ र रिकोभर हुन पनि समय लाग्ने रहेछ। डेंगीको लक्षण देखिए लगत्तै अस्पताल गई उपचार गराउनु पर्दछ। घरमा बसेर नै निको पार्छु भन्ने सोच राखियो भने कहिलेकाहिँ जटिल समस्या देखिन सक्छ।