ललिता निवास प्रकरणमा सर्वोच्चले सोध्यो- माधव नेपाल र बाबुराम भट्टराईलाई किन मुद्दा नचलाएको ?

File Photo
File Photo

सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई मुद्दा नचलाउनुको कारण माग गरेको छ।

सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासले मंगलबार ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय र पूर्वमुख्यसचिव लिलामणि पौड्यालविरुद्ध मुद्दा नचलाएकाे भन्दै कारण देखाऊ आदेश जारी गरेको हाे।

वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले ललिता निवासमा पूर्वप्रधानमन्त्रीद्वयलाई उन्मुक्ति दिइएको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए। उक्त रिट निवेदनमाथिको प्रारम्भिक सुनुवाइपछि अदालतले सरकारका नाममा जवाफ माग गर्ने आदेश गरेको हो। आदेशमा सर्वोच्चले १५ दिनभित्र जवाफ पेस गर्न भनेको छ।

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय, महान्यायाधिवक्ताको कार्यालय, काठमाडौँ जिल्ला अदालत, जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँ, पूर्वप्रधानमन्त्रीद्वय नेपाल, भट्टराई, पूर्वमुख्यसचिव पौड्याल र नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूरोलाई विपक्षी बनाइएको थियो।

प्रकाशित मिति: : 2023-09-26 18:10:00

प्रतिकृया दिनुहोस्