सांसद भण्डारीकाे प्रश्न- निजीसँग प्रतिस्पर्धा गर्न नसक्ने सरकारी मिडिया किन चलाउने ?

नेपाली काँग्रेसका सांसद डा. चन्द्र भण्डारीले निजी सञ्चारमाध्यम जसरी सरकारी सञ्चारमाध्यम अपडेट हुन नसकेको बताएका छन्।

मंगलबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै भण्डारीले सरकारी सञ्चारमाध्यम जनताले हेर्ने छोडेको बताउँदै घाटामा राखेर त्यस्ता सञ्चारमाध्यम किन सञ्चालन गर्ने भन्दै प्रश्न गरेका छन्।

‘हामीले प्रसारण गर्ने कुराहरु जनताले कति हेर्छन्, हामीले कति आकर्षित गर्याैँ, हामीले त्यसमा ध्यान दिने कि नदिने, के हामीले तलब खाने मात्र हो?,’ भण्डारीले प्रश्न गरेका छन्, ‘प्राइभेट सञ्चारमाध्यम सबै खोजीखोजी हेर्ने तर हाम्रो सरकारी मिडिया रेडियो नेपालल र नेपाल टेलिभिजन किन कसैले नहेर्ने, नचल्ने? जिम्मेवारी कसले लिने? यी माध्यम किन चाहिने, कसैले हेर्दैनन् भने घाटामा किन राख्ने? सरकारबाट नियुक्ति खाएकाहरु जिम्मेवार हुनुपर्दैन? अपडेट हुन नसक्नेहरुलाई किन पाल्ने?’

नेता भण्डारीले सरकारी मिडियाहरु युगअनुसार चलाउन नसकेको दाबी गरेका छन्। आवश्यक सेवासुविधा लिएर जिम्मेवारी बन्न नसकेको उनको भनाई छ।

‘सिंहदरबारजस्तो गरिमामय भएको ठाउँमा रेडियो नेपाल र नेपाल टेलिभिजनको अफिस छ। सेवासुविधा सबै छ। तर, अहिलेको प्रतिस्पर्धा युगमा तपाईंहरुले गरेका सञ्चारलगायत कुराहरुले कति विज्ञापन प्राप्त गर्यो, मेजर कुरा हो वा होइन? तपाईंले उत्पादन गरेको विषय कति जनाले हेरे, अरु देशका सरकारी सञ्चारमाध्यमअनुसार किन चल्न सकेन? जिम्मेवारी कसले लिने?,’उनले भने।

भण्डारी आफैँले नेपाल टेलिभिजन नहेर्ने बताए। समय अनुकूल कार्यक्रम उत्पादन गर्न नसकेको उनले बताए। सेवासुविधा दिने तर चल्न नसक्ने दोकान किन राख्ने भन्दै प्रश्न गरे।

प्रकाशित मिति: : 2023-09-26 17:03:00

प्रतिकृया दिनुहोस्