नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले स्थानीय सरकारलाई अझै अधिकार सम्पन्न गराउनुपर्ने बताएका छन्।
उनले आफूहरुले भनेको गाउँगाउँमा सिंहदरबार अनुसारको अधिकार सम्पन्न अझै स्थानीय तह बन्न नसकेको बताए।
प्रेस सेन्टर नेपाल गुल्मीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा भौगोलिक रुपमा ठुला जिल्लामा इलाका प्रशासन कार्यालय आवश्यक रहेको पत्रकारको प्रश्नमा अध्यक्ष बरालले त्यस्तो एजेण्डा संघीयताको मर्मअनुसार नभएको स्पष्ट पारे।
संघीयतामा स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाउनुपर्ने र सबै सेवासुविधा स्थानीय सरकारबाटै हुनुपर्ने उनको धारणा छ।
नागरिकता, पासपोर्ट, नापी, मालपोत, अन्य आवश्यक परिचयपत्र, केही सिफारिस पत्र र अन्य केही सेवासुविधा स्थानीय सरकारबाट हुनुपर्ने आफूहरुको एजेण्डा रहेको माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष बरालले बताए।
‘हामी इलाका प्रशासन भन्ने भन्दा धेरै माथि उठिसकेका छौं’ पत्रकार भेटघाटमा उनले भने, ‘नागरिकलाई जतिसक्दो सेवासुविधा स्थानीय तहबाटै दिनुपर्छ।’ नेकपा माओवादी केन्द्रको बिशेष रुपान्तरण अभियान निकै प्रभावकारी भएको पनि उनले बताए।
पत्रकारले सोधेको प्रश्नमा स्थानीय तहका जनप्रतिनिधिले आफ्ना पहिचानका कार्यक्रम जिल्ला र प्रदेश र केन्द्र केन्द्रित गर्नु गलत रहेको पनि बरालले स्पष्ट पारे। तर, उनले स्थानीय तहको केही विशेष प्रचारप्रसारका लागि हुने कार्यक्रम सान्दर्भिक रहेको पनि बताएका छन्।
स्थानीयको लगानी हुने कार्यक्रममा उनीहरुलाई सहभागी बनाएरै स्थानीय ठाउँमै कार्यक्रम गर्नुपर्ने उनले बताएका हुन्।