आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले न्यायको माग गर्दै संघर्ष गरिरहेका आरती साहको परिवारसंग भेटेका छन्।
काठमाडौंको माईतिघरमा न्यायको माग गर्दै संघर्ष गरिरहेको आरती साहको परिवारलाई आज भेटदै अध्यक्ष साहले उनीहरुको आन्दोलनमा ऐक्यबद्धता जनाएका छन्।
यथासिघ्र आरतीको परिवारलाई न्याय दिनुपर्ने भन्दै उनले सरकारले यतीका दिनसम्म कुनै सुनुवाई नगर्नुप्रति दुख व्यक्त गरेका छन्।
विगत एक सय एक दिन देखी आरतीको परिवारले न्यायको माग गर्दै संघर्ष गरिरहेको छ। तर सय मिटरको दुरीमा रहेको संघीय सरकारले उनीहरुको माग अझै सुनुवाई गरेको छैन्। संघीय सरकार सञ्चालन हुने सिंहदरबारको छेउमै रहेको माइतीघरमा उनीहरु आन्दोलन गर्दै आएका छन्।
‘अनवरत १०१ दिनदेखि न्यायको पर्खाईमा संघर्षरत रहेका आरती साहको परिवारजनसंग आज भेटेर उहाँहरुको मागप्रति ऐक्यबद्धता व्यक्त गर्दै देशको मुटु (केन्द्र) राजधानीमा आएर यतिको समयसम्म संघर्ष गर्दा पनि राज्य बेखबर जस्तो कानमा तेल हालेर सुतिरहेको रवैयाप्रति चिन्ता व्यक्त गर्दै पीडितलाई कानुन बमोजिम शिघ्र न्यायको प्रत्याभूति गराउन नेपाल सरकार गृह प्रशासनसंग माग गर्दछु’ आजपा अध्यक्ष साहले भने।
आजपा अध्यक्ष साहसँगै उपमहासचिव एवं मधेस प्रदेशका पूर्वसांसद कुन्दन कुशवाह लगायतका नेताहरु माईतीघरमा पुगेको आजपा नेता बालकृष्ण सापकोटाले जनाएका छन्।
उनले देशको संघीय राजधानीमा यसरी न्यायको याचना गर्दा पनि सरकार कानमा तेल हालेर सुतिरहनु गलत रवैया भएको टिप्पणी गरेका छन्। उनले पीडित परिवारलाई चाँडोभन्दा चाँडो न्यायको प्रत्याभूति गराउन नेपाल सरकार गृह प्रशासनसँग माग गरेका छन्।