आठ दिने चीन भ्रमणमा प्रधानमन्त्री प्रचण्डले के-के गर्छन्?

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आठ दिने चीन भ्रमणको कार्यतालिका सार्वजनिक भएको छ।

संयुक्त राष्ट्रसंघको ७८औँ महासभालाई सम्बोधन गर्न अमेरिका पुगेका प्रधानमन्त्री प्रचण्ड त्यतैबाट असोज ६ गते (सेप्टेम्बर २३ मा) चीन प्रस्थान गर्ने कार्यक्रम रहेको छ। चिनियाँ प्रधानमन्त्री ली छ्याङको मैन्त्रीपूर्ण निमन्त्रणमा प्रधानमन्त्री प्रचण्ड नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन जान लागेका हुन्।

प्रचण्ड नेपालको प्रधानमन्त्रीको हैसियतमा तेस्रोपटक चीन भ्रमणमा जान लागेका हुन्।

भ्रमणमा प्रधानमन्त्री प्रचण्डसहित पुत्री गंगा दाहाल, परराष्ट्रमन्त्री एनपी साउद, भौतिक यातायात तथा पूर्वाधार विकासमन्त्री प्रकाश ज्वाला, खानेपानीमन्त्री महेन्द्र राय यादवलगायत सहभागी हुने परराष्ट्र मन्त्रालयद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ।

प्रधानमन्त्री प्रचण्डले भ्रमणका क्रममा आफ्ना समकक्षी ली तथा चिनियाँ राष्ट्रपति सि जिङ पिङसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

भ्रमणको पहिलो दिन प्रधानमन्त्री प्रचण्ड १९औँ एसियन गेम्सको समुद्घाटन कार्यक्रममा सहभागी हुनेछन्।

असोज ८ गते (सेप्टेम्बर २५) बेइजिङमा समकक्षी महामहिम लि छ्याङसँग औपचारिक भेटघाट र दुई पक्षीय वार्ताको कार्यक्रम रहेको छ।

यस्तै प्रधानमन्त्रीले बेइजिङस्थित नेपाली दूतावासमा आयोजना गरिएको चीन–नेपाल लगानी सम्मेलनलाई  सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

त्यसपछि कृषि क्षेत्रमा छोटो समयमै सफलता हासिल गरेको चीनको छोङछिङ महानगरपालिकामा रहेको छोङछिङ एकेडेमी अफ एग्रिकल्चरल साइन्सलगायत विज्ञान तथा प्रविधिका क्षेत्रहरुको अवलोकन गर्ने कार्यक्रम रहेको छ।

छोङछिङको भ्रमणपछि नेपालसँग सीमाना जोडिएको चीनको तिब्बत शाेषासित क्षेत्रको भ्रमणमा जाने र त्यहाँ उच्च अधिकारीहरुसँग भेटवार्ता गरी नेपाल फर्किने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री प्रचण्डले अमेरिका जानुअघि चीन भ्रमणबारे संसदमा जानकारी गराएका थिए। 

विज्ञप्ति :

प्रकाशित मिति: : 2023-09-21 17:32:00

प्रतिकृया दिनुहोस्