एकाबिहानै फेसबुकभरि थुप्रिएका नोटिफिकेसनमा ओइरिएका थिए ‘ह्याप्पी फादर्श डे…।’
कसैका तस्बिर ताजा थिए, कसैका पुराना थिए। ओइलाएका।
मोबाइलको ग्यालरी खोलेँ- बासँगका एउटा पनि फोटा रहेनछन्। हाम्रो जिन्दगीबाट डेढ दशकअघि सदाका लागि बिदा भएका हाम्रा बा मेरो ‘ग्यालरी’मा कहिल्यै बसेनन्।
अर्थात् बासँग एउटा पनि फोटो खिच्न नपाएको अभागी केटो म!
यादहरूले एकाएक पोलेजस्तै भयो। सम्झनाभरि ‘बा’ आइरहे घरिघरि।
सबैले बालाई ‘हेप्पी फादर्श डे’ का नाममा सम्झिरहँदा मेरा स्मृतिमा मात्रै बाका मधुरा तस्बिरहरू टाँसिन थाले।
जब कसैले बा भनेर सम्बोधन गर्छन्, धमिलिँदै गएका ती यादहरू ताजा बनेर आँखैमा घुमिरहन्छन्। यादबाहेक बाको नाममा अर्थोक अब केही रहेन।
सत्यको मार्ग सिकाउने बालाई सम्झँदा भावुक हुन थाल्छु अनि बासँग बिताएका ती दिन र पलहरू सम्झन्छु।
फुच्चे म तातेताते भनेर हिँडाउनुभएको, बाको खुट्टामा लक्कु खेलेको, मामा घर जाँदा उकालोमा बाले मलाई पिठ्यूँमा बोक्नुभएको। भान्सा कोठामा आमासँग खेल्दै गर्दा बाले ‘ओइ कान्छा’ भनेर बोलाउनु हुँदा दौडिएर लडेको अनि मैले फट्याइँ गर्दा मायाले भरिएका हातले मेरो कान निमोठेको ती हातमा माया थिए। ती हातमा हाम्रो भविष्यको डोरा थिए।
पार्टी र संगठनका बैठकहरू सकेर बा फर्किँदा हतारहतार किताब पढेजस्तो गरिन्थ्यो। नत्र बाले हामीलाई ती राजनीतिक दर्शनका ठेलीहरू पल्टाएर कुन पानाबाट प्रश्न सोध्नुहुन्थ्यो, पत्तै हुन्नथ्यो।
मार्क्सवाद, लेलिनवाद र माओवाद अनि वाद नै वादले भरिएका किताबका ठेलीहरूमा आज पनि बाकै तस्बिर देख्छु।
पुलिसको डरले घरभरि भएका यस्ता ‘वाद’का एक धोक्रा किताबहरू घरपारिको ओडारमा लुकाएका थियौँ। आज लाग्छ, त्यो पनि बाकै मायाको डल्लो थियो।
मेरा बा कुनै नाम चलेका नेता थिएनन्। कलाकार, गायक, साहित्यकार वा कुनै लेखक पनि थिएनन्।
मलाई थाहा भएसम्म हामी र हामीजस्तै जातका मान्छेलाई मन्दिर छिर्न नदिँदा बा लड्नुभएको थियो। पछि हामी सबै मन्दिर छिर्न पायौँ। मेरा बाको यो लडाइँबाटै सबले उहाँलाई चिन्थे।
बाले बुझेको समाज हामीलाई बुझाउनुभएको थियो। उहाँले बुझेको संसार हामीलाई चिनाउनुभएको थियो। हामी हाम्रो लागि बोल्न जरूरी छ, ‘सर्वहारा वर्ग’को मुक्ति नै सफलता हो भनेर हामीलाई बाले भन्नुहन्थ्यो।
क्रान्ति सम्भव छ भन्नुहुन्थ्यो। दिनभरि काम गरेर थाकेका ती गाउँलेहरूलाई समाजवाद, साम्यवाद र नयाँ जनवादका कुरा सुनाउनुहुन्थ्यो।बाका ती गफमा भुलिरहेका गाउँलेहरूको बीचमा चकचक गरिरहने म त्यही फुच्चे थिएँ।
यादका धागाहरू लामा छन्। तर बासँगै बाँचेको समय छोटो भयो।
शीरमा रातो कफन बेरेर गणतन्त्र ल्याउन हिँडेका मेरा बासँग हाम्रो घरमा आउनेहरूले ‘लालसलाम कमरेड’ भन्न सिकेको त्यही बेलै हो।
खुसी भनेको ओँठमा मुस्कान वा हाँसो ल्याउनुमात्रै होइन, आफ्नो अवस्थाप्रतिको सन्तुष्टि हो खुसी सायद। मार्क ट्वीनले भनेका छन्, ‘बीस वर्षपछि हामी आफूले हासिल गरेका चिजमा खुसी हुने भन्दा नगरेका चिजमा बढी पछुताउँछौँ।’
आज जे छु, जहाँ छु, जस्तो छु अनि जे पाएको छु, पाइरहेको छु, त्यसमा खुसी नै छु। तर बाप्रति छोराको कर्तव्य पूरा गर्न पाइनँ पछुतो त्यही हो।
अब त्यस्ता कमै बाआमा छन्, जसले बुढेसकालको जीवन छोराछोरीको वरिपरि बिताइरहेका छन्। नत्र त मरेपछि लाश कुरिरहेका बाआमाका कथाहरू त अझै कहाँ लेखिएका छन् र!
बाआमाको कान्छो छोरा म। सबको प्यारो थिएँ। बा सधैँ भन्नुहुन्थ्यो- मलाई पाल्ने कान्छो नै हो। तर त्यो दिन नआउँदै बाको जीवन सकियो।
आफ्नामात्रै होइन, मेरा बाले समाजका हरेक छोराछोरीका लागि लडिरहनुभयो। बा जति बाँच्नुभयो, यो समाजका लागि, यो देशका लागि अनि सारा छोराछोरीका भविष्यका लागि।
सफल भएँ कि भइनँ थाहा छैन, तर म जे छु त्यो आज मेरा बालाई देखाउन पाइनँ। बाले हामीलाई छोडेर गएको डेढ दशकभन्दा धेरै भइसकेको छ। त्यसैले त बाले मलाई कहिल्यै हिम्मत हार्न सिकाएनन्।