फेरि एक्लोपन र ‘षड्यन्त्र’हरूले घेरिएका प्रचण्डका अघि अब त्यो घेराको सामना गर्न विप्लव नै अघि सरेका छन्।
‘उत्तराधिकारी भनेको त काल पो हुनेरैछ…!’
पार्टीको महाधिवेशनका बेला करिब एक वर्षअघि पार्टीका विद्यार्थीहरूलाई सम्बोधन गर्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भनेका थिए ‘अहिले म किन भन्छु, म भन्दिनँ मेरो उत्तराधिकारी को हुन्छ भनेर…।’
त्यो बेला उनले चिनियाँ क्रान्तिका नायक माओको हत्या गर्न तम्सिएका ‘लीन प्याओ’का बारेमा पनि भनेका थिए। जसलाई माओले सार्वजनिक रुपमै आफ्नो ‘उत्तराधिकारी’ घोषणा गरेका थिए।
देङ रोङले लेखेको पुस्तक ‘देङ स्याओ पिङ और सांस्कृतिक क्रान्ति’ नामको पुस्तकमा कुनै बेला माओले आफ्नै उत्तराधिकारी घोषणा गरेका प्याओको उदय र अन्त्यसँगै कैयौँ पात्रहरुको बारेमा लेखिएको छ। त्यसलाई भारतीय लेखक रन्जन बर्माले हिन्दी भाषामा अनुवाद पनि गरेका छन्।
चिनियाँ कम्युनिस्ट आन्दोलनभित्र ‘लीन प्याओ’ एउटा यस्तो पात्र थिए, जो ती क्रान्ति नायक माओसँग नजिक हुँदै आन्दोलनको सफलतापछि रक्षामन्त्री समेत भए।
पछि उनैले माओको हत्या गर्नका लागि ‘प्रोजेक्ट ५७१’ तयार पारे।
र, पार्टी कारबाहीको डरले भागेर १९७१ मा रुस जाँदै गर्दा हवाई दुर्घटनामा परेर उनको मृत्यु भयो।
‘माओले लिनप्याओलाई भनेर भनेको जस्तो अहिले म चाहिँ भन्दिनँ। त्यो गल्ती म अहिले नै म गर्दिनँ। लीन प्याओलाई उत्तराधिकारी भन्देको त त्यै लीन प्याओ माओलाई गोली हान्न हिँड्यो’ आफूभित्र पनि माओजस्तै त्यो डर बोकेर बाँचिरहेका प्रचण्डले भनेका थिए, ‘उत्तराधिकारी भनिदिँदा त भनिफास्टो पो हुँदो रैछ। त्यो त काल पो हुनेरैछ। त्यसैले म किन भन्ने, मैले अहिले भन्दिनँ।’
पार्टीभित्रको लडाइँ
माेहन बैद्य (किरण), रामबहादुर थापा (बादल) र डा. बाबुराम भट्टराईहरू फाट्दै फाट्दै टाढा टाढा गइरहेका बखत पार्टीभित्र प्रचण्डपछिको नेता बन्न अनेक दाउ बुनिरहेका नेताहरू कृष्णबहादुर महरा, जनार्दन शर्मा अनि वर्षमान पुनहरू अहिले पनि छन्।
तर, पार्टीभित्र प्रचण्ड छायामा उनीहरू यसरी विलुप्त भइरहे कि अब धिपधिपाउन पनि मुस्किल छ।
एक वर्षअघि पार्टीको महाधिवेशनका बेला ‘महासचिव’का लागि माओवादीभित्र सलबलाइरहेका यिनै पात्रहरूलाई लक्षित गर्दै प्रचण्डले उत्तराकाधिरी घोषणाको कुरा निकाले। त्यसलाई माओ, लीन प्याओ र कालको कथासँग जोडे। ‘अब प्रचण्डबाट केही माखो मर्दैन भन्छन् भित्रैका साथीहरू मेरो अगाडि तपाईं नै हो तपाईंबाहेक कोही छैन भन्छन्। तर, पछाडि गएर प्रचण्डबाट अब केही हुँदैन है, अब अर्को तयारी गर्नुपर्छ भन्छन्’ उनले भनेका थिए ‘मलाई त बडो दु:ख लाग्छ। तर, यो सबलाई अघि बढाउने साथीहरू आए त म सबैभन्दा खुसी हुन्थें र बसेर किताब लेख्ने थिएँ। तर, यसो हेर्छु छाँट कसैको देख्दिनँ। त्यसैले फेरि एकपटक लडेरै मर्छु भनेको छु।’
त्यहीबेला प्रचण्ड उत्तराधिकारीलाई आफ्नै ‘काल’ सम्झिरहेका थिए।
महाधिवेशन भयो। सबको अनुमानभन्दा धेरै पर पुगेर प्रचण्डले देव गुरुङलाई महासचिव बनाइदिए।
‘हामी तपाईंकै हौँ। २ जनामध्ये महासचिव जसलाई बनाए पनि हामीलाई मान्य हुन्छ भनेर अनुरोध गर्दा पनि नयाँ प्रस्ताव अघि सारिन्छ। त्यही प्रस्तावलाई सहज रुपमा स्वीकार गर्दा पनि अनेकन प्रचारबाजी गरिन्छ। अनि गरौं के ?’ त्यसैको पीडा वर्ष दिनपछि केन्द्रीय समितिको ‘बन्द’ बैठकमा जनार्दनले निकै भावुक भएर पोखे ‘तैंले बाहिर बोल र वातावरण बना भनी अध्यक्षले आदेश दिँदा आफ्नो मत थाँती राखेर भए पनि त्यसको पालना गरेकै छु। कुनै संकट आइपर्दा सधैं अध्यक्षको पक्षमा खडा भएकै छु। होला कहिलेकाँही आँखा जुधाएर कुरा गर्न मन लाग्छ, गरिन्छ पनि। तर, त्यसैलाई असहयोग गर्यो भनेर नानाथरि बिल्ला भिराएर प्रचारबाजी गरिन्छ। अध्यक्ष कमरेडले भन्नुपर्यो– कुन चाहिँ अप्ठारो मोडमा तपाईंले मेरो साथ र समर्थन पाउनु भएन ?’
कम्युनिस्टको पार्टी जीवनमा महासचिव नै सर्वोच्च पद हो। नेपालका कम्युनिस्ट बहुपदमा गए। नत्र प्रचण्ड आफैँ पनि बिसौँ वर्षसम्म ‘महासचिव’ बनेर नेतृत्व हाँकेका थिए।
उत्तराधिकारीको घोषणा वा संकेतले मात्रै कम्युनिस्ट राजनीतिभित्र ठुलो अर्थ राख्छ।
कालको डर
यो डर प्रचण्डभित्र आजमात्रै ‘भूत’ बनेको होइन। त्यसलाई उनलाई जनयुद्धकालदेखि नै तर्साइरहेको छ। त्यसैको डरमा उनै ‘लीन प्याओवादी’को आरोपमा कुनै बेला आफ्नै सहयात्री रामबहादुर थापा (बादल)लाई उनले कारबाही गरेका थिए।
२०३७ सालदेखि सुरु भएको बादल–प्रचण्डको ‘सुखद्’ सम्बन्धको यात्रामा कैयौं दरार आए, फेरि पुरिए। केही पुरिएजस्ता भए।
२०१२ सालमा गुल्मीमा जन्मिएका बादल र, उनको परिवार २०२८ सालमा चितवन आएका थिए भने, प्रचण्ड जन्मिएपछि २०११ सालमै उनको परिवार पनि चितवनमा आइसकेको थियो।
बादल प्रचण्डबीचको हाँसो र आँसुको यो सम्बन्ध उनीहरुको राजनीतिक जीवनमा मात्रै होइन, परिवारभित्रैसम्म पनि विस्तारित थियो।
२०२८ सालमै नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिइसकेका प्रचण्डले २०३७ सालमा बादललाई पार्टीको सदस्यता दिन प्रस्ताव गरेका थिए।
अनि उनको प्रस्ततावलाई अमिक शेरचनले समर्थन गरेपछि ‘कम्युनिस्ट’भित्र औपचारिक रुपमा ‘बादल’ भित्रिए।
‘आकाश’ हुँदै भूमिगत ‘सशस्त्र जनयुद्ध’सम्म आइपुग्दा त्यो बेलाका रामबहादुर थापा ‘बादल’ भइसकेका थिए। युद्धका बेला सैन्य मोर्चामा यी ‘बादल’को एकै गर्जन काफी हुन्थ्यो।
अर्थात्, प्रचण्डपछि बादल एक शक्तिशाली नेता थिए, माओवादीभित्र।
युद्धकालमै कारबाहीपछि पनि ‘बादल’ फाटेनन्। बरु धुम्धुम्ती भए। यद्यपि, धेरै नबोल्ने, ‘मौनता’ले छोपिएको उनको अनुहार नै रहस्यमयी ‘भाषा’ बोलिरहेको हुन्छ। कारबाहीले आन्दोलनको यात्रामा बिचलित भने भएनन् उनी। युद्धका थुप्रै उकाली ओरालीहरू प्रचण्डसँगसँगै पार गरे।
‘सांस्कृतिक बिचलन’पछि त्यो बेला ‘बादल’माथि कारबाहीको अर्को रंग थपियो ‘लिन प्याओवादी।’
‘जनयुद्ध’ गरिरहेको तत्कालिन माओवादीको एउटा पोलिटब्यूरो बैठक भारतको फरिदावादमा बसेको थियो। यो २०५५ सालको कुरा थियो। त्यो बैठकले ‘बादल’माथिको कारबाही अनुमोदन गर्यो।
बैठकमा ‘सांस्कृतिक विचलन’का लागि बादललाई कारबाही गर्ने प्रस्ताव अध्यक्ष प्रचण्डले गरेका थिए। र, प्रचण्ड त्यो बेला बैठकमा रोएका थिए, आफ्नै प्रियजनलाई कारबाही गर्नुको पीडाले।
‘जनयुद्ध’ सकिएपछि एकपटक ‘बादल’ प्रचण्डसँग अलग्गिएर छुट्टै मोर्चामा लागे। प्रचण्डसँग अलग्निुको पीडा ‘बादल’भित्र बेस्सरी मडारिइरहेको थियो।
यो करिब २०६८ सालतिरको कुरा थियो। धोबीघाट ‘मोर्चा’पछि आफ्नो गुटको एउटा गोप्य भेलामा बोल्दै गर्दा बादल त्यहीँ रोए।
‘त्यस्तो सम्बन्ध भएका प्रचण्डले आज हामीलाई विश्वास नगर्दाको पीडा भन्दा ठुलो अर्को के होला ?’ भन्दैगर्दा भावुकताले ‘बादल’ आँसु बनेर बर्षिएका थिए।
आज बादल प्रचण्डसँग छैनन्। विप्लवसँगै गएका बादल कुनै बेला फेरि फर्की आए। २०७४ चुनावताका एमाले र माओवादी मिलेर ‘नेकपा’ बनाए। तर, त्यो सफल हुन सकेन। अन्तत: माओवादी र एमाले मिलनको त्यही दोबाटामा आएर आ–आफ्नो बाटो समाते।
बादल प्रचण्डसँग आएनन्। फेरि त्यहीँबाट मोडिएर एमालेतिरै गए।
जनयुद्धका बेलामा पनि ‘बादल’लाई ‘विप्लव’हरूको एउटा ‘ग्याङ’ले बेला-बेला जिस्क्याउँथ्यो ‘पार्टीको भावी नेतृत्व त, तपाईं नै हो नि !’
उनीहरु बादललाई ‘दाइ’ भनेर सम्बोधन गर्थे।
बादलका निकट सारथीमध्ये प्रचण्डपछि अर्कोतिर विप्लव नै थिए।
तर, समय यस्तो पनि आयो कि नेकपाको सरकार भएका बेला विप्लवमाथि राजनीतिक प्रतिबन्ध लगाउने र फेरि राज्यको ‘मोस्ट वान्टेड’को सूचीमा विप्लवलाई उनै बादलले तीखो संकेत लगाइदिए।
त्यही सरकारले २०७८ साल फागुनमा ३ बुँदे सहमति गरेर विप्लवलाई खुल्ला गरिदिएपछि उनी प्रचण्डसँगै नजिकिए।
विप्लवका विपल्वी यात्रा
एउटै पार्टीमा त छैनन् तर अहिले फेरि नेत्रविक्रम चन्द विप्लव र पुष्पकमल दाहाल प्रचण्ड सँग-सँगै छन्। पार्टीभित्रको संघर्षका रेखाहरू मेट्नका लागि यतिबेला प्रचण्डलाई लागिरहेको छ, विप्लव नै फेरि सबलाई ठेगान लगाउने सही पात्र बन्नसक्छन्।
विप्लव आफूलाई बिसाउनका लागि पनि यो सही मौका ठानिरहेका छन्।
युद्धकालदेखि नै प्रचण्डले विप्लव अनि उनका प्रतिस्पर्धामा आउन खोज्नेहरूलाई ‘साइज’मा राख्दै राख्दै आए। प्रचण्डपछिको नेता बन्नका लागि त्यो बेला बादल, वर्षमान, अनि विप्लवबीच खुब प्रतिस्पर्धा चल्यो। अर्को तहमा थिए, महरा, जनार्दन र शक्ति बस्नेतहरू।
छुट्टिएर जानुअघि एकपटक एउटा कार्यक्रममा प्रचण्डले भनेका थिए ‘अबको लडाइँ भनेको विप्लवसँगै हुन्छ।’ युद्धकालमै पनि यी नेताहरूबीचको आन्तरिक ‘द्वन्द्व’ सन्तुलनमा राख्न प्रचण्डले निकै संघर्ष गर्नु पर्यो। शान्तिपूर्ण राजनीतिको सुरुवाती यात्रामा त्यही थाहा पाएर प्रचण्डले विप्लवलाई फरक जिम्मेवारीमा राखिदिए।
त्यसको केही समयपछि केही नेता कार्यकार्ताको एउटा हुल बोकेर विप्लव फेरि ‘भूमिगत’ हुन गए।
युद्धका क्रममा प्रचण्ड आफैँले विप्लवलाई ‘अबको उत्ताराधिकारी’ भनेर ठट्ठा पनि गर्थे।
कालान्तरमा त्यो ‘प्रचण्ड ठट्टा’ विप्लवको महत्वाकांक्षा बनिसकेको थियो।
जंगलबाट काठमाडौँमा बसाइ सरिसकेको माओवादीको यो रुपान्तरित यात्रा विप्लवहरूलाई मन परिरहेको थिएन। अनि संसदीय राजनीतिक बाटोमा धेरै पटक प्रचण्डले विप्लवहरूलाई पटक-पटक सम्झाउने प्रयास गरिरहे।
तर, महात्वकांक्षाको चुली चढिसकेका विप्लव अडिएनन्। प्रचण्ड बाबुरामहरूलाई ‘आत्मसपर्णवादी’ भन्दै खुल्ला आलोचना गरिरहे।
विप्लवले प्रचण्डलाई एकपटक भनेका थिए ‘प्रचण्ड जी तपाईंले हामीलाई काठमाडौं लिएर त, आउनुभयो तर, मलाई त नुवाकोटकी एउटी खर्भरकी युवतीलाई काठमाडौँ ल्याएर बिहे गर्छु भन्दै बम्बई पुर्याएको जस्तै फिल भयो।’
र, त्यसको जवाफमा प्रचण्डले धेरैपछि भने, ‘मैले बम्बई होइन, काठमाडौँमै ल्याएको हुँ ल्याएको हुँ भनेर अहिले विप्लवजीलाई फिल भएको छ। त्यो कुरा बुझ्नको लागि उहाँलाई केही न केही गर्नु थियो। गरिसक्नुभयो। अब धेरै नगर्नुस्।’
बिसाएका विप्लव
‘हामीले यो नै हुनुपर्छ भनेका छैनौं। मिल्ने कुरामात्रै हो। कसैले हाम्रो विप्लवजी हुनुहुन्न भन्छ भने बन्ने आधारहरू पनि दिनसक्छौं’ केही समयअघि विप्लव समूहका नेता सन्तोष बुढा मगरले हामीसँग भनेका थिए ‘विप्लव महासचिव नहुने भन्ने के छ र ! सजिलै हुनुहुन्छ र हुनुपनि पर्छ।’
अब विप्लव एउटा बिसौनीमा आइपुगेका छन्, जहाँ उनै प्रचण्डको छहारी छ। सके अब विप्लव यहीबेला माओवादीको महासचिव बन्लान्। वा प्रचण्डको यो ‘अन्तिम इनिङ’ भएन भने अर्कोपालि अवश्य होलान्।
भेटिँदै र छुट्टिँदै एउटा लामो दूरी पार गरेर यहाँसम्म आइसकेका प्रचण्ड-विप्लवहरू सायद अब एउटै बाटो हिँड्नेछन्- संसदीय यात्रा। अनि यो यात्राको अभीष्ट बनाउनेछन्- समाजवाद। जसलाई अहिले मिलनविन्दुको एउटा बिसौनी बनाएका छन्- समाजवादी मोर्चा।
यहीँ छन्, प्रचण्ड विप्लव जहाँ बाबुरामहरू छैनन्। नेतृत्वको यो बराबरी हैसियतमा आइपुग्दैगर्दा फेरि एकपटक विप्लव-प्रचण्डको लय पनि मिल्न थालेको छ। जसरी युद्धको लयमा उनीहरू अघिपछि अघिपछि सँग-सँगै हिँडेका थिए। भलै बाटो फाट्यो। भेट्नु र छुट्टिनुको यो प्रेमील परिभाषामा उनीहरू केहीबेर आ-आफ्नै बाटोमा रमाइहिँडे।
हिज संसदीय राजनीतिलाई आफ्नो राजनीतिक आदर्शभित्रै नराख्ने भन्दै फेरि जंगलको कहिँकतै नपुगिने यात्रामा हिँडेका विप्लव अब फेरि त्यही संसदलाई स्विकार्ने संकेत दिइसकेका छन्। र, स्वभाविक शर्त राखेका छन्- सुधारिएको संसद।
‘कम्युनिस्ट पार्टीको सरकार भनेकै जनताको सरकार हो। सुशासनको पक्षमा प्रधानमन्त्रीको नेतृत्वमा जुन केन्द्रमा लडाइँ चलिरहेको छ, हामी त्यसलाई पूरै समर्थन गर्न तयार छौँ’ बदलिएका विप्लव भनिरहेका छन् ‘संसदलाई जनताको न्याय पक्षमा, देशको स्वाधीनताको पक्षमा काम गर्ने साधन बनाउनुस्, हामी संसदवादीको समर्थन गर्न तयार छौँ। साथ दिन तयार छौँ। सडकको मोर्चामा त हामी लडिरहेकै छौं।
पार्टीभित्र नेताहरू सकिँदैगर्दा सरकारको यो यात्रामा पनि अहिले प्रचण्डलाई साथ दिने विप्लवमात्रै छन्, भलै उनी सरकार र प्रचण्डको पार्टी बाहिर छन्। तर, राजनीतिको लयमा प्रचण्डका सहयात्रीजस्तै आभास दिइरहेका छन्। समाजवादी मोर्चामा अहिले प्रचण्डसँगै बसेका छन् विप्लव। ‘समाजवादी सन्देश’ भन्न देश दौडाहामा पनि सँग-सँगै हुन्छन्।
र, प्रचण्डकै अघि भनिरहेका छन् ‘माओवादीमाथि अहिले पनि ठुलै हमला भइरहेको छ। तर, माओवादीहरू टुट्न मात्रै होइन, जुट्न पनि जानेका छन्।’
यसअघि प्रचण्डले पनि आफू र सरकार ढाल्ने षड्यन्त्र भइरहेको भन्दै आफूमाथि अहिले पनि युद्धकालका मुद्दाहरू उठाएर कमजोर पार्ट खोजिएको बताएका थिए। उनकै भाषामा अहिले पनि युद्धकालका ३६ मुद्दा प्रचण्डकै टाउकामा छन्। अहिले पनि २ वटा मुद्दा परेका छन्।
अब विप्लव फेरि प्रचण्डको ढाल बनेर अघि सरेका छन्, जसरी युद्धकालमा ‘सुप्रिम कमाण्डर’को रक्षाकवच बनेका थिए।
‘कार्यकारी प्रमुख प्रचण्डमाथि अहिले पनि हत्याका मुद्दाहरू उठाइन्छन्। चोक-चोकमा भनिन्छ, ‘प्रचण्डहरूलाई जेल हाल्नुपर्छ भनेर’ विप्लवको चुनौती छ ‘अब त्यस्ता सपना नदेखे हुन्छ। माओवादीहरू एक हुन पनि जानेका छन्।’