‘मिनि’ संसद हाँक्ने दश अनुहारहरू 

नयाँ प्रतिनिधिसभाका सदस्यहरू चुनिएर आएको करिब ९ महिनापछि उसका संसदीय समितिले बल्ल पूर्णता पाएका छन्। 

सोमबारदेखि समितिका सभापतिहरूले कार्यभार सम्हालेका छन्। 

प्रमुख प्रतिपक्ष र सत्ता साझेदार दलहरूको भागबण्डापछि संसदका १० वटै समितिका सभापति निर्विरोध भए। १० संसदीय समितिमध्ये काँग्रेसले ३, एमालेले २, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, जसपा र राप्रपाले एक-एक समितिको जिम्मेवारी लिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले  भने कुनै पनि समितिको नेतृत्व पाएन।  

‘मिनी’ संसदका रूपमा लिइने संसदीय समितिलाई संसदभन्दा शक्तिशाली निकायका रुपमा लिइन्छ। 

हरेक राष्ट्रिय मामिलाहरूलाई मसिनो ढंगले अध्ययन र छिनोफानो गर्नका लागि संसदीय समितिहरूको अभ्यास संसारभरि रहिआएको छ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाहरूमा व्यवहारिक छलफल हुन नसक्ने अवस्थामा यी समितिहरूले नै त्यसको अन्तिम टुङ्गो लगाउन पनि सक्छन्।

संसदका लागि यी समितिहरूले ‘संसदीय वर्कसप’का रुपमा काम गर्छन्। सांसद संख्याअनुसार गठन हुने यी समितिका सभापतिहरूलाई प्रतिनिधिसभाका सभामुख तथा राष्ट्रिय सभाका अध्यक्ष बराबरकै हैसियत र अधिकार हुन्छ।

मन्त्रालयहरूलाई झकझक्याउने र सरकारका मन्त्रीहरूलाई समितिमै बोलाएर खबरदारी गर्ने अधिकारसम्म पाएका यी समितिहरूलाई सरकारको ‘वाचडग’का रूपमा पनि लिइन्छ।

कस्ता छन् समितिका नेतृत्व गर्ने अनुहार?

अर्थ समितिमा सन्तोष चालिसे 
प्रभावशाली समिति मानिने अर्थमन्त्रालय सत्तारुढ दल नेपाली काँग्रेसले लिएको छ। अर्थसमितिको सभापतिमा काँग्रेसका सांसद सन्तोष चालिसे निर्वाचिति भएका छन्। सोमबार भएको प्रतिनिधिसभा मातहतको अर्थ समतिको बैठकले चालिसेलाई सभापतिमा निर्विरोध निर्वाचित गरेको हो। 

२०१५ सालमा काठमाडौँको आरुबारीमा जन्मिएका चालिसे हाल गोकर्णेश्वर नगरपालिका ९ को स्थायी बासिन्दा हुन्। २०३९ सालदेखि नेपाली काँग्रेसबाट पार्टी राजनीति सुरु गरेका चालिसे २०७२ सालमा गोकर्णेश्वर नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए। 

नयाँ संविधान जारी भएपछि स्थानीय तहको मेयर पदको समेत जिम्मेवारी सम्हालिसकेका चालिसे गत आम निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ३ बाट निर्वाचित भए। उनी सोही क्षेत्र नम्बर ३ का पार्टी सभापति पनि हुन्। 

पहिलो संसदीय यात्रामै उनले प्रतिनिधिसभा मातहतको विषयगत समितिको शक्तिशाली मानिने अर्थ समितिको सभापतिको जिम्मवारी लिएका छन्। पञ्चायतकालदेखि नै गणतन्त्रका लागि लडेका उनी स्थानीय तहको विकास निमार्णका काममा जनतासँग नजिक छन्। 

मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने प्रतिवद्धताका साथ अर्थ समितिको सभापतिमा उम्मेदवार बनेका उनी करिब चार दशक लामो राजनैतिक, सामाजिक र व्यावसायिक अनुभवी सांसद हुन्। 

देउवा निकट मानिने चालिसे गएको निर्वाचनमा एमालेका कृष्णबहादुर राईलाई पराजित गरी १५ हजार १५८ मतका साथ विजयी भएका थिए। 

कृषि समितिमा डा. आरजु राणा (देउवा) 
विवादै विवादमा मुछिएकी आरजु राणा (देउवा) नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी हुन्। पार्टीमा केन्द्रीय पनि रहेकी उनी पार्टी राजनीतिमा देउवा भन्दा पनि शक्तिशाली मानिन्छन्। 

यो समितिको नेतृत्व गर्दैगर्दा उनले ‘म पनि किसानकी छोरी हुँ’ भनेपछि आलोचित भइरहेकी छिन्।
राणा कृषि समितिको सभापतिमा निर्वाचिति भएकी छिन्। २०१९ साल ललितपुरमा जन्मिएकी राणा पूर्व संविधानसभा सदस्य पनि हुन्। 

राणा परिवारमा जन्मिएकी राणाले भारतबाट मनोविज्ञान विषय विद्यावारिधि गरेकी छिन्। २०५३ सालदेखि राजनैतिक यात्रा सुरु गरेकी राणा खस आर्य (महिला) वर्गबाट समानुपातिक संसदमा निर्वाचित भएकी हुन्।

उनीसँग राजनीतिसँगै विभिन्न संघ–संस्थाहरुमा आबद्ध भएर काम गरेको अनुभव छ। २०६४ देखि २०७४ सम्म दुईपटक नेपालको संविधानसभा र नेपालको व्यवस्थापिका सदस्यको जिम्मेवारी लिइन। २०७८ सालमा पार्टीको केन्द्रीय सदस्य बनेकी राणा संविधान मस्यौदा समितिको सदस्य र महिला संसदीय समन्वय समितिको अध्यक्ष भइन्।  

लैङ्गिक अभियान्ता र सामाजिक कार्यकताको छवी बनाएकी राणा महिला तथा बालबालिकाहरुको हितमा काम गर्ने एनजिओहरू स्थापना गरेकी छिन्। सामाजिक काममा सक्रिय देखिने आरजु आइयुसीएनका लागि दक्षिण र पूर्वी एशियाका लागि क्षेत्रीय काउन्सिलरको रुपमा सेवा गरेको अनुभव छ।

राज्य व्यवस्था तथा सुशासन समितिमा रामहरी खतिवडा
राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा काँग्रेस सांसद रामहरी खतिवडा निर्वाचित भएका छन्। २०२६ सालमा ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका ६, थाक्लेमा जन्मिएका खतिवडा नेपाली काँग्रेसका केन्द्रीय सदस्य हुन्।

ओखलढुङ्गाबाट प्रत्यक्ष निर्वाचित खतिवडा संसदमा जनताको आवाज बोल्दै गर्जिएको देखिन्छ। परिवारको जेठो छोराको रुपमा जन्मिएका खितिवडाले एमएसम्मको अध्ययन पूरा गरेका छन्। राजनीति गर्नुभन्दा पहिले शिक्षण पेसामा रहेका उनी २०४२ सालदेखि नै नेपाली काँग्रेसको राजनीतिमा जोडिएका थिए।

प्रतिवन्धित अवस्थामा २०४५ सालमा युवा उम्मेरमै उदयपुरको कटारीमा भएको अधिवेशनमा जिम्मा कार्यसमिति सदस्य बनेका थिए। २०४८ सालदेखि हालसम्म ७ पटक महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य बनिसकेका छन्।

२०७०को दोश्रो संविधानसभा निर्वाचनमा ओखलढुङ्गाको तात्कालीन निर्वाचन क्षेत्र २ बाट प्रत्यक्ष निर्वाचित भएका थिए। विभिन्न राजनैतिक हिरासतमा रहेका उनी दाश्रो पटक संसदीय यात्रामा राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको जिम्मेवारी पाएका छन्। 

सार्वजनिक लेखा समितिमा ऋषिकेश पोखरेल
सार्वजनिक लेखा समितिको सभापतिमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका संसद ऋषिकेश पोखरेल निर्वाचिति भएका छन्। सामान्यतया लेखा समितिमा प्रतिपक्षलाई नेतृत्व दिने संसदीय अभ्यास र प्रचलन छ। 

२०२४ सालमा रतुवामाई नगरपालिका–२ उल्लुघुटुक मोरङमा जन्मिएका ऋषिकेश मोरङ क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्। 

विद्यार्थी कालदेखि नै राजनीतिक यात्रामा लागेका ऋषिकेश राष्ट्रिय राजनीतिका प्रभावशाली नेताको छबी बनाएका छन्। एमालेको सबैभन्दा बढी पार्टी सदस्य रहेको र प्रदेश १ को राजधानी समेत रहेको जिल्लाको पार्टी अध्यक्ष समेत रहेकाले केन्द्रमा घुलमिल राम्रो छ। 

२०४० सालमा सुनवर्षी माध्यमिक विद्यालयमा अनेरास्ववियुको अध्यक्ष भएर काम गरेदेखि उनको राजनैतिक यात्रा सुरु भएको थियो। विद्यार्थी आन्दोलनमा खरो रुपमा उत्रिने पोखरेल अनेरास्ववियुको सचिवालय सदस्यसम्म बनेका थिए।

२०५२ सालमा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरको स्ववियु सभापति भए। तत्कालीन नेकपा फुटेपछि मोरङको जिल्ला अध्यक्षको रुपमा छन्। विभिन्न तहको जम्मेवारी लिएका पोखरेल २०७० सालमा सम्पन्न दोश्रो  संविधानसभाको निर्वाचित संविधानसभा सदस्यसमेत हुन्।

२०७४ सालमा पराजित पोखरेल गत आम निर्वाचनमा निर्वाचित भए।

महिला तथा सामाजिक समितीमा किरणकुमार साह 
एमालेका सांसद किरणकुमार साह महिला तथा सामाजिक समितिको सभापतिमा निर्वाचिति भएका छन्। रौतहटमा जन्मिएका किरणकुमार रौतहत क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्। 

माओवादी केन्द्रबाट राजनीति सुरु गरेका साह मधेशकेन्द्रीत दल हुँदै एमालेसम्म पुगेका छन्। ०७४ मा अफ्ताव आलमसँग चुनाव हारेका साह यो पटक स्वतन्त्र उम्मेदवारको रुपमा निर्वाचित भएका थिए।

निर्वाचनपछि आम जनता पार्टीको विभागीय प्रमुखको जिम्मेवारी सम्हालेका उनी प्रभु साहको स्वतन्त्र नेतृत्व जिताउ अभियानमा एक जना जिताउन मात्र सक्रिय रहेको भन्दै स्वतन्त्र उम्मेदवार बनेका किरणकुमार गठबनधनको उममेदवारलाई परजित गरेर निर्वाचित भए। 

कानुन, न्याय तथा मानवअधिकार समितिमा विमला सुवेदी
सत्ताको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रले एउटामात्रै संसदीय समितिको नेतृत्व लिएको छ। जसमा विमला सुवेदी कानुन, न्याय तथा मानवअधिकार समितिको सभापति बनेकी छिन्। 

उनी माओवादी केन्द्रको केन्द्रीयसमेत हुन्। नुवाकोटकी सुवेदी समानुपातिक प्रणालीबाट सांसद बनेकी हुन्। 

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा राजकिशोर यादव
सतारुढ जनता समाजवादी पार्टी जसपाका सांसद राजकिशोर यादव अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको सभापतिमा निर्वाचिति भएका छन्। यादव पहिलो संविधानसभा निर्वाचनमा मधेसी जनअधिकार फोरमबाट निर्वाचित भएका थिए।

सिराहामा जन्मिएका यादव सिराहा क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्। विभिन्न मधेस केन्द्रीत दलमा जोडिएका यादव हाल जसपाको कार्यकारिणी सदस्यसमेत हुन्।

उनी बाबुराम भट्टाइको नेतृत्वको सरकारमा सूचना तथा सञ्चारमन्त्री जयप्रकाश प्रसाद गुप्ता भ्रष्टाचार चारको आरोपमा जेल गएपछि यादव मन्त्री बन्ने अवसर पाएका थिए।

मधेश आन्दोलनबाट नेपाली राजनीतीमा उदाएका यादव पूर्व उद्योग, वाणिज्य र आपूर्ति मन्त्री समेत हुन्। मधेशमा राजनीतिज्ञको छबि बनाएका उनी नेपालको सबैभन्दा छोटो अवधि मन्त्री हुने मध्येका एक हुन्।उनी १३ दिनमात्र मन्त्री बनेका थिए।

सिराहाको क्षेत्र नम्बर ४ मा जन्मिएका उनी एमालेसँग गठबन्धनमा यादव सिराहा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए।  

शिक्षा, स्वास्थ्य र सूचना प्रविधि समितिमा भानुभक्त जोशी
सत्तारुढ नेकपा एकीकृत समाजवादीका सांसद भानुभक्त जोशी शिक्षा, स्वास्थ्य र सूचना प्रविधि समितिको सभापतिमा निर्वाचिति भएका छन्। बझाङको छविसपाथिभेरा गाउँपालिकाका स्थायीवासी जोशी नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य हुन्। 

२०३५ सालदेखि अनेरास्ववियूको विद्यार्थी राजनीतिबाट राजनीति प्रारम्भ गरेका थिए। मुलुकमा भएका गलत बिषयको बिरोध गर्दै परिर्वतनका आवाज बोकेर आन्दोलित हुँदा उनी क–पटक पक्राउ परे।

उनी तत्कालीन नेकपा माले जिल्ला सचिवमा रहँदा नै २०४८ सालमा नै प्रतिनिधिसभा सदस्यको निर्वाचिनका लागि चुनावी मैदानमा उत्रिएका थिए। पछि २०५१ सालमा भएको मध्यवर्ती निर्वाचनमा पहिलो पटक प्रतिनिधिसभा निर्वाचनमा जित हात पारेका थिए, भने फेरि २०६४ मा भएको पहिलो संविधानसभाको निर्वाचनमा समेत जित हात पारेका थिए।

सो समयमा २०६८ मा पहिलो पटक झलनाथ खनालको नेतृत्वमा रहेको वन तथा भू–संरक्षण मन्त्री बनेका थिए। एमालेको विभिन्न कमिटीमा काम गरिसकेका जोसी एमाले विभाजनपछि माधव कुमार नेपालको नेतृत्वमा रहेको नेकपा एसको स्थायी कमिटी सदस्य हुन्।

हाल जोशी बझाङबाट सांसद बनेका थिए भने अहिले शिक्षा, स्वास्थ्य र सूचना प्रविधि समितिको सभापतिमाको कार्यभार सम्हालेका छन्। 

पूर्वाधार विकास समितिमा दिपकबहादुर सिंह
प्रतिपक्ष राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दिपकबहादुर सिंह पूर्वाधार विकास समितिको सभापतिमा निर्वाचिति भएका छन्। मकवानपुरको क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद सिंह राप्रपामा लामो समयदेखि छन्। 

उनी २४ बर्षको कलिलो उम्मेरमा राप्रपाको युवासंघको अध्यक्षको जिम्मेवारी लिएर हिन्दु राष्ट्रको बिषयमा निरन्तर आवाज उठाउँदै आएका छन्। सरल स्वभाका सिंह पटक–पटक स्थानीय तह हुँदै प्रतिनिधिसभामा पराजित थिए। तर यसपालि आम निर्वाचनमा पहिलो जित निकालेका थिए। 

प्रतिनिधिसभाको तेस्रो प्रयासमा निर्वाचित सिंह स्थानीय तह निर्वाचनमा पटक–पटक हार बेहोरेका थिए। पहिलो सांसदको जित पछि उनी केही समय प्रचण्ड नेतृत्वको सरकारको उर्जा राज्यमन्त्री बनेका थिए।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा अब्दुल खान
सतारुढ जनमत पार्टी सांसद अब्दुल खान उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा निर्वाचित भएका छन्। समितिमा उम्मेदवारी दिएका रष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले उम्मेदवारी फिर्ता लिएपछि खान सभापतिमा निर्विरोध रुपमा निर्वाचित भएका हुन्। 

मधेसका विभिन्न आन्दोलनमा सक्रिय खान गत निर्वाचनमा जनमत पार्टीबाट समानुपातिक सांसद बनेका थिए। उक्त पार्टीको उपाध्यक्ष समेत हुन्। ३६ बर्ष मै पार्टीको उपाध्यक्ष पद लिएका उनी प्रचण्ड नेतृत्वको यही सरकारमा केही महिना खानेपानी मन्त्री समेत बनेका थिए।

जनमत पार्टीको संसदीय दलको उपनेता समेत रहेका खान उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा निर्वाचित भएका छन्। 

प्रकाशित मिति: : 2023-08-28 21:40:00

प्रतिकृया दिनुहोस्