विश्व मानचित्रको सानो भूगोल, तर एउटा गर्विलो इतिहास बोकेको नेपाल पछिल्ला केही दशकदेखि भ्रष्टाचारले थलिएको छ। यहाँ विभिन्न रुपमा भ्रष्टाचारीहरू जन्मिए, हुर्किए, हुर्काइए।
यसरी हुर्किएका र हुर्काएकाहरू नै चुनाव जितेर राज्यको ढुकुली चलाउने मालिक भए। डाडू-पन्यू हातमा भएपछि के चाहियो र! गरीबलाई झन् गरीब बनाउँदै उनीहरूले देशलाई नै छियाछिया पार्दै आएको हामीले देखेकै र भोग्दै आएको हो।
यो सब ‘माथि’का ले पनि देखेका थिए, तलैबाट देखिँदै आएको थियो। र, यो सबको हिसाब किताब गर्न अहिले गृहमन्त्री नारायणकाजी श्रेष्ठ कम्मर कसेर लागेका छन्।
मौकामा हिरा फोर्ने अवसर नारायणकाजीलाई जुर्यो। अब तमाम आश उनका यिनै ‘एक्सन’मै छ।
हजार माइलको यात्रा एक पाइलाबाटै सुरू हुन्छ। ‘काजी’को गृह मन्त्रालय प्रवेशसँगै गृहमन्त्री र गृहसचिवको टेवल र कुर्सीमा लामो समयदेखि लागेको सुराकी खर्च नामको दैनिक ५ लाख बढीको धुलो टक्टक्याएर मात्र उनले सुशासनको कुर्सी घुमाउन थाले।
दिनको संकेत हरेक बिहानले गर्छ। काजीका यी सुरुवातहरू पेचिला बन्दै गएका छन्।
सुशासन कायम गर्ने, अन्याय, अत्याचार, भ्रष्टाचार निवारण, शान्ति र अमनचयन कायम राख्ने राज्यको महत्वपूर्ण मन्त्रालय हो गृह। यो सुरक्षा संवेदनशीलता, राष्ट्रको ढुकुटी संरक्षण र परिचालनका निमित्त सबैभन्दा महत्वपूर्ण र बलियो अंग हो।
यसैको टाउकोमा बसेर राष्ट्रघात गर्ने, मानव तस्करको गम्भीर आरोपित, बहालवाला गृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री बालकृष्ण खाँण र पूर्वमन्त्री टोपबहादुर रायमाझीजस्ता व्यक्तिहरूलाई जेलको यात्रा तय गराउने उनको यो सुरुवाती कदममा अदम्य साहस छ। नेपाली जनताले चिरकालसम्म सम्झन लायक छ।
राज्यशक्तिको दुरुपयोग गरेर आम नागरिकलाई ‘भुटानी शरणार्थी’ बनाएर अमेरिका बेच्नेजस्तो घृणित कार्य जो कोहीले कल्पना पनि गर्न नसक्ने विषय हो। यो घटनाले राष्ट्रको शीर झुकेको छ।
जनताको सेवामा लागेका राजनीतिज्ञहरू लज्जित हुनुपरेको छ। राष्ट्र सेवामा लागेका निजामती कर्मचारीहरूको अभिमान घटेको छ। पाण्डे, खाँण र रायमाझीहरू जस्ता मान्छेका कारण आम नेपालीको बलिदानबाट प्राप्त गणतन्त्र नै बदनामी भयो।
योबेला नारायणकाजीको उदय भएको छ। नेपाल र नेपालीका लागि सबैभन्दा ठूलो गौरवको विषय यही हो। नारायणकाजीले पनि पूर्वजको कामलाई नै निरन्तरता दिएर आफ्नो पदको मात्रै रक्षा गर्न खोजेको भए यो देश कत्ति ठुलो दुर्घटनामा जान्थ्यो होला? त्यसको अनुमान जो कोहीले सजिलै लगाउनसक्छ।
राजनीतिक दबाब र आर्थिक प्रभावमा परेर ठुल्ठूला भ्रष्टाचारका फाइलहरू अख्तियार र सिआइबीका दराजमा धमिरा लाग्दै थिए। यहीबेला जब नारायणकाजीको प्रवेश भयो, अनि गृह मन्त्रालय र मातहतका निकायमा एउटा छुट्टै उर्जा पैदा भएको छ।
सिआइबीको क्षमता कतिसम्म रहेछ भन्ने प्रस्ट देखिएको छ।
आजसम्म राज्यका यी शक्तिशाली अंगहरूलाई भ्रष्टाचारीहरूले कतिसम्म निकम्मा बनाएर राखेका रहेछन् भन्ने पनि आम नेपालीले गहिरोसँग बुझ्ने अवसर पाए।
विगतमा सरकार र उसका मन्त्रीहरूलाई हेर्ने दृष्टिकोण र अहिलेको दृष्टिकोणमा परिवर्तन आएको छ। के यो सामान्य कुरा हो? यो इतिहासका रचनाकार नारायणकाजीको यात्रा निरन्तर र अझ गतिशील हुनुपर्छ भन्ने नै अहिले आम नागरिकको अपेक्षा हो।
यो देशमा नेता अर्थात् राजनीतिज्ञप्रतिको विश्वास र ओज घट्दै गइरहेको छ। त्यसमा पनि अझ भ्रष्टाचार मौलाउँदै जानु अत्यन्तै गम्भीर विषय हो। राजस्व चुहावट र कर छली रोक्न बनेको आयोगका प्रमुख चुडामणि शर्माले गरेको भ्रष्टाचार अत्यन्तै ठुलो र निकै भयानक छ।
राज्यको ढुकुटी संकलनको पाइपलाइन नै काटेर आफ्नो घरमा जोड्न सक्ने यस्ता व्यक्तिलाई नै ढुकुटीको चाबी दिनेहरूको नियत झनै कस्तो होला, सहजै अनुमान गर्न सकिन्छ।
ढुकुटीभित्रको मुसोलाई झिकेर जेल यात्रा निश्चित गर्नु नेपाली जनतालाई नारायणकाजीले लगाएको गुन के बिर्सन सकिएला र?
नेपाल आयल निगम खोक्रो पार्ने महानिर्देशक समेत भइटोपलेका भ्रष्ट खड्काहरूलाई सायद पत्तो थिएन कि, नारायणकाजीहरू जिउँदै छन्।
सुनलगायत बहुमूल्य सामानका लागि ट्रान्जिट बनाएर सजिलै तस्करी गरिरहेकाहरूका लागि नारायणकाजी अहिले ठूलो टाउको दुखाई बनेका छन्।
त्यसैले त राजनीतिको खोल ओढी लामो समयदेखि सत्ताको हालीमुहाली गरेका तिनका मालिकहरू बर्बराइरहेछन्, छट्पटिइरहेका छन्। अनि जनताको विषयमा बहस गर्ने सर्वोच्च थलो संसद कब्जा गर्न खोज्छन्। नारायणकाजीलाई सराप्छन् र अरू माफियाहरूलाई मोहरा बनाएर राजीनामा माग्न लगाउँछन्।
तिनीहरूलाई आफूले राज्यलाई र जनतालाई गरेको बेइमानी राम्रोसँग थाहा छ। यो भ्रष्टाचारविरुद्धको अभियान नारायणकाजीले कुनै पनि मूल्यमा रोक्ने छैनन्। अनि राज्यका संयन्त्रहरू अझ सशक्त र स्वतन्त्र बनाएर अनुसन्धान गर्ने वातावरणको सृजना नारायणकाजीले ऐतिहासिक रुपमा गरेका छन्।
यो देश सबै हिसाबले अघि बढ्दै गर्दा किन एक्कासी ओरालो लाग्यो? कारणहरू प्रस्टै छन्, नीतिगत भ्रष्टाचार, करछली, राजस्व चुहावट र तस्करी। यस्ता जघन्य आपराधिक रोगले देशलाई ग्रसित र खोक्रो पारिएको थियो।
हल्ला त सबैले गर्थे। जनता अलमल्याउन एकअर्कालाई दोषारोपण पनि गर्थे। तयार भएका फाइलहरू ‘तैँ चुप मै चुप’ गरी दराजमा थन्क्याउन अख्तियारको चाबी आफ्नैलाई सुम्पिन्थे।
तर जब नारायणकाजीले गृह मन्त्रालय सम्हाले, अनि सबको मुकुण्डो उतारिदिए। अनि जनतालाई चिनाइदिए कि, को रहेछन् देश लुट्नेहरू, के रहेछ वास्तविक रोग? कहाँ रहेछन् तिनका संरक्षकहरू?
२०२१ सालको भूमिसुधार ऐनले हदबन्दी गरेको जग्गा र औद्योगिक प्रयोजनबाहेक अन्य व्यापारिक हिसाबले बिक्री वितरण गर्न नपाइने गिरीबन्धु टि स्टेटमाथि पनि काजीले डण्डा चलाउन सुरु गरेका छन्।
भू-माफियाहरूको डिजाइनमा सट्टा भर्नाको कानुन बनाइदिने, मेडिकल माफिया र तस्करका संरक्षकहरू चोरको खुट्टा काट्छु भनी नारायणकाजीले अस्त्र उचाल्दै गर्दा आत्तिएर खुट्टा उचालिरहेको कहिँकतै छिपेको वा लुकेको छैन।
जनतालाई सधैं भेंडा सम्झिने उनीहरू सबैको अहिले होस उडिसकेको छ। तिनीहरू अनेकौँ बखेडा झिकिरहन्छन्। हल्ला मच्चाइरहन्छन्। भुकिरहन्छन्। तर नारायणकाजीको यी ऐतिहासिक अनि साहसी पाइला लम्किरहनेछन्। भ्रष्टाचार विरुद्धको यो अस्त्र झनै चम्किरहनेछ।
नारायणकाजी गृहमन्त्री भइरहँदा पार्टीभित्र अनि बाहिर पनि ‘युद्ध एउटा लड्ने, भाग अर्कैले खाने’ भन्ने तुच्छ टिप्पणीहरू पनि नसुनिएका होइनन्। तर तिनीहरूलाई यो थाहा थिएन कि युद्धका दुई रुप हुन्छन्, जसरी सिक्काका दुई पाटा।
प्रचण्डले सशस्त्र युद्धको नेतृत्व गरिरहँदा नारायणकाजीले त्यसलाई नेपाली जनताले चलाएको क्रान्ति हो भने। यो ‘आतंककारी’ गतिविधि होइन र यो जायज अनि आवश्यक पनि छ भन्दै खुल्ला मोर्चाबाट युद्धको वकालत गरिरहे। जसरी भूमिगत मोर्चाबाट प्रचण्डले गरेका थिए।
जनविद्रोहको खुल्ला मोर्चाको कमाण्डर यिनै काजी थिए। नारायणकाजीको त्यो भूमिका पनि ऐतिहासिक नै थियो र त्यसको महत्व कति रहेछ भन्ने कुरा अहिले देखिइरहेको छ।
‘प्रचण्ड’ र ‘प्रकाश’ त एउटै सिक्काका दुई पाटा हुन्। यिनलाई छुट्टयाउने प्रयास त आत्मरति मात्र हो।
त्यसैले त नारयणकाजी गतिशील छन्।
र त उनले भनिरहेका छन्- ‘मैले यो देश चिनेको छु। कुनै पार्टी विशेषले मलाई कमजोर पार्नसक्ने छैन।’
(लेखक अखिल नेपाल किसान महासंघ क्रान्तिकारी केन्द्रका केन्द्रीय उपमहासचिव हुन्)