एमाले लुम्बिनी अधिवेशनः पौडेलको साथ कँडेललाई, पोखरेलको साथ रिजाललाई

नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीको प्रथम अधिवेशन भदौ १६ गतेदेखि बुटवलमा हुँदैछ।

अधिवेशनका लागि सबै जिल्लाबाट प्रतिनिधिसमेत निर्वाचित भइसकेका छन्।

अधिवेशनबाट छानिने नयाँ नेतृत्वका लागि राधाकृष्ण कँडेल र हरि रिजाल तीव्र आकांक्षी छन्। कँडेल एमाले लुम्बिनीका वर्तमान अध्यक्ष हुन् भने रिजाल पार्टी केन्द्रीय सदस्यसमेत हुन्।

‘एमालेभित्र भावी नेतृत्व’का रुपमा हेरिएका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले लुम्बिनी प्रदेशको नेतृत्वका लागि आफूनिकट दुई नेतालाई अघि सारेका छन्।

उपाध्यक्ष पौडेलले पाल्पाका कँडेल र महासचिव पोखरेलले प्यूठानका रिजाललाई प्रदेश अध्यक्ष बनाउन खोजिरहेका छन्। उनीहरूले आफूनिकट केन्द्रीय सदस्यहरूलाई अधिवेशनको पूर्वसन्ध्यामा माहोल जुटाउन भूगोलमा खटाएको एमालेका एक केन्द्रीय सदस्य बताएका छन्।

‘दुबैतिरका नेताहरू यतिबेला दाङ–बुटवलतिरै छन्,’ उनले भने, ‘राधाकृष्ण कँडेल उपाध्यक्ष विष्णु पौडेलको साथ छ, हरि रिजाललाई शंकर पोखरेलले साथ दिनुभएको छ।’

उपाध्यक्ष विष्णु पौडेलको साविक लुम्बिनी अञ्चल र महासचिव शंकर पोखरेलको राप्ती अञ्चलमा आ–आफ्नै प्रभाव छ। लुम्बिनी प्रदेशका १२ वटै जिल्लाबाट चुनिएका प्रतिनिधिहरूलाई तल्लो तहका नेताहरू आ–आफ्नो समूहमा तान्न खोजिरहेका छन्।

कँडेललाई प्रदेश अध्यक्ष बनाउनका लागि उपाध्यक्ष पौडेलको निर्देशन नेताहरू खिमलाल भट्टराई, लक्ष्मण आचार्य र दीपा शर्मा खटिएका छन्। तर प्रदेश सचिवसमेत रहेका आचार्यले कँडेल र रिजालको विकल्पको रुपमा आफू पनि अध्यक्षको आकांक्षी भएको बताएका छन्।

त्यस्तै, महासचिव पोखरेलको निर्देशनमा रिजालाई अध्यक्ष बनाउनका लागि नेताहरू खेममान खड्का, बलराम अधिकारी र कुमार दशौंदी मैदानमा खटिएका छन्।

प्रकाशित मिति: : 2023-08-27 15:23:00

प्रतिकृया दिनुहोस्