प्रतिस्णा रेग्मी
नेपाली भलिबलको इतिहासमा पुरुष भलिबलभन्दा महिला भलिबलले केही उपलब्धि हासिल गरेको छ। त्यसैले भलिबल प्रेमीहरू पनि पुरुषको तुलनामा महिला भलिबल हेर्न बढी रुचाउँछन्।
यही महिला भलिबल टोली पहिलोपटक एसियाली खेलकुद एसियाडमा सहभागी हुँदैछन्। आगामी सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म चीनमा हुने एसियाली खेलकुदमा नेपाली महिला भलिबल टोलीले आफ्नो पहिलो सहभागिता जनाउन लागेको हो।
नेपालले एसियाली खेलकुदमा ७२ वर्षदेखि सहभागिता जनाउँदै आइरहेको छ, जहाँ यति लामो समयपछि मात्र महिला भलिबले एसियाडमा स्थान पाउन सफल भयो। नेपालबाट २९ वटा खेलले एसियडमा प्रतिनिधित्व गरिरहँदा यसपटक महिला भलिबलले पनि मौका पाएको हो।
पुरुषको तुलनामा महिला भलिबल खेल सन्तोषजनक रहेको भन्दै राष्ट्रिय खेलकुद परिषद (राखेप)ले एसियाली खेलकुदमा महिला भलिबललाई समेटेको हो। घरेलु लिग सँगसँगै महिला भलिबलले अन्तर्राष्ट्रियस्तरकाे प्रतियोगितामा राम्रै छाप छोडेको छ।
पहिलो पटक एसियाली खेलकुदमा सहभागी हुन लागेका खेलाडीहरू पनि निकै खुसी छन्। एसियाडकै लागि भनेर टोली अहिले बन्द प्रशिक्षणमा व्यस्त छ। बिहान र दिउँसो महिला भलिबल खेलाडीहरू राखेपको कभर्ड हलमा प्रशिक्षणमा व्यस्त देखिन्छन्।
पहिलो पटक एसियाडमा सहभागी हुन पाउँदा धेरै उत्साहित भएको कप्तान अरुणा शाही सुनाउँछिन्।
‘एसियाली खेलकुदको १९औँ संस्करणमा आइपुग्दा पहिलो पटक महिला भलिबलले सहभागिता जनाउँदैछौँ, एसियाडका लागि निकै खुसी र उत्साहित छौँ’, अरुणाले भनिन्।
महिला भलिबलले दुई पटक सेन्ट्रल जोनमा उपाधि र काभा वुमेन्स च्यालेन्ज कपमा कास्य पदक हात पारेको छ।
‘अहिले चाहिँ एसियाडमा सहभागी हुन पाउँदा निकै लक्की फिल्ल भएको छ, पहिलैदेखि एसियन गेम्स भए पनि हामीले मौका पाएका थिएनौँ’, कप्तान अरुणा भन्छिन्, ‘एसियाडमा एकदमै राम्रो गर्नुपर्छ भन्ने लागिरहेको छ।’
नेपाली महिला भलिबल टोलीले घरेलु मैदानमै आयोजना भएको काभा वुमेन्स च्यालेन्ज कपमा सन्तोषजनक नै प्रदर्शन गरेको थियो। त्यसलगत्तै केही दिनकै आरामपछि टोली सातौँ प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल प्रतियोगितामा सहभागी भयो।
सोही प्रतियोगितालगत्तै महिला भलिबल टोलीकाे एसियाली खेलकुदको लागि प्रशिक्षण सुरु भइहाल्यो। महिला भलिबल टोली विगत एक महिनादेखि एसियाडको लागि प्रशिक्षणमा छन्।
‘तयारी त एकदमै राम्रो भइरहेको छ, यसअघि काभा वुमेन्स र सातौँ प्रधानमन्त्री कपले हामीलाई थप सहयोग पुर्यायो’, उनी भन्छिन्, ‘रेगुलर ट्रेनिङ भइरहँदा एसियाडको लागि अझै धेरै सहयोग भएको छ।’
एसियाली खेलकुदका लागि भनेर भलिबल संघले ३ महिना प्रशिक्षण गराउने निर्णय गरेको थियो।
टोलीले काभा वुमेन्स कपलाई पनि एसियाडकै तयारीको रुपमा लिएको थियो। काभा वुमेन्स कपको लागि पनि टोलीले ३ महिनादेखि तयारी थालेको थियो। त्यसका लागि मुख्य प्रशिक्षक जोन दि ब्रान्ड र सहायक प्रशिक्षक जगदीश भट्टले खटिइरहेका छन्।
‘हप्तामा १० वटा सेसन हुन्छ। कहिले दिनमा एउटा, कहिले दुईवटा गरी हप्तामा सेसन चाहिँ दश वटा पुग्छ’, उनी भन्छिन्, ‘दुई जना प्रशिक्षक हुँदा राम्रो भइरहेको छ।’ तर भलिबल कभर्ड हलको अभावका कारण अहिले महिला र पुरुष टोलीले पालैपालो प्रशिक्षण गरिरहेका छन्।
काभा वुमेन्स च्यालेन्ज कप खेलेका ४ जना खेलाडी भने एसियाडको लागि छैनन्, तर चोटका कारण च्यालेन्ज कप गुमाएकी प्रतिभा मालीले भने टोलीमा पुनरागमन गरेकी छन्। उनको पुनरागमनसँगै महिला भलिबल समूहमा उर्जा थपिएको छ।
नेपाल बलियो प्रतिद्वन्द्वीसँग
योसँगै नेपाली महिला भलिबल टोलीले बलियो प्रतिद्वन्द्वीको सामना गर्दैछ।
नेपालसहित समूह ‘सी’ मा दक्षिण कोरिया र भियतनाम छन्। यी दुवै निकै बलिया टोली हुन्। यसअघि महिला भलिबल टोलीले यति बलियो टिमसँग कहिल्यै प्रतिस्पर्धा गरेको थिएन। त्यसैले मेडलभन्दा पनि टप ८ मा पुग्ने लक्ष्य नेपाली टोलीसँग छ।
‘एसियाली राष्ट्रहरूमा भलिबल चाहिँ राम्रो टोली भएको कारणले गर्दा हामीलाई मेडलभन्दा पनि टप ८ मा आउने लक्ष्य राखेका छौं’, अरुणा भन्छिन्।
बरियता क्रममा दक्षिण कोरिया चौथो र भियतनाम छैटौँ स्थानमा छन्।
काभा वुमेन्स च्यालेन्ज कपमा १४औँ स्थानमा रहेको भारतसँग नेपालले प्रतिस्पर्धा गरेको थियो। पहिलोपटक सहभागितासँगै बलिया प्रतिद्वन्द्वीको सामना गर्नुछ, महिला भलिबल टोलीले।
जित-हार जे भएपनि दक्षिण कोरिया र भियतनामसँग खेल्दा नयाँ ‘एक्सपोजर’ पाउने आशा कप्तान अरुणासँग छ।
यी हुन् एसियाड खेल्ने महिला भलिबल टोली
भलिबल टोलीमा कप्तान अरुणा शाही, सफिया पुन, सलिना श्रेष्ठ, जानकी भण्डारी, कविता भट्ट, संगम महतो, प्रतिभा माली, सरस्वती चौधरी, निरुता ठगुन्ना, कामना विष्ट, उषा भण्डारी र पुनम चन्द छन्।
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया