हिमालमुनि छुनमुनाइरहेको चौँरी लेक

दिलचन पुन

रूकुम (पूर्व)

समुन्द्र सतहबाट करिब ४६०० मिटर उचाइमा छ, चौँरी लेक। हिउँद याममा हिउँले छोपिने यो लेक यो वर्षायाममा रंगीविरंगी फूलहरूमा हाँसिरहेको छ।

भेडाका बगाल अनि गोठले यहाँको सुन्दरतालाई झन मनमोहक बनाएको छ। यस क्षेत्रमा असारको पहिलो हप्तादेखि भदौ अन्तिम सातासम्म यो लेकमा भेडी गोठ बस्छन्। भेडा बाख्रालगायत यहाँ भैंसी, गाई, अनि घोडाहरू पनि हुन्छन्।

बुकी चरनको लागि पनि उपयुक्त ठाउँ चौँरी लेक नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटनको पश्चिम भेकतिर पर्दछ।

लेकबाट रुकुम जिल्लाकै प्रसिद्ध सिस्ने हिमाललगायत पूँथा हिमाल, धौलागिरि हिमाल, अन्नपूर्ण हिमाल अनि माछापुच्छ्रे हिमालहरूको लर्कोले अर्को सुन्दरता थप्छन्।

ढोरपाटन शिकार आरक्ष क्षेत्रमा रहेको पश्चिमतिर पूँथा उत्तरगंगा गाउँपालिकामा रहेका विभिन्न गाउँहरू, दक्षिणणमा रोल्पाको चर्चित धार्मिक तथा पर्यटकीय स्थल जलजला, जन्तरे, कोठी भिरलगायत प्यूठानका विभिन्न ठाउँहरूको पनि अवलोकन गर्न सकिन्छ।

प्राकृतिक तथा भौगोलिक सुन्दरताले भरिपूर्ण यो ठाउँमा पर्यटनको सम्भावना छ। जसलाई थप पर्यटन प्रर्वद्धन गर्ने भूमे गाउँपालिकाले चौँरी लेक भ्रमण गर्ने आन्तिरिक तथा बाहृय पर्यटकको लागि सहज होस् भनेर कोइपासम्म मोटर बाटो खनिरहेको छ।

त्यहाँबाट चौँरी लेक पुग्न करिब २-३ घण्टा मात्रै लाग्छ। चौँरी लेक पुग्न रुकुम पूर्व र बाग्लुङको सिमाना पातीहाल्नेमा बास बसेर मज्जाले घुमघाम गरी फर्किन सकिन्छ।

करिब ३१ सय मिटरमा अवस्थित पातीहाल्ने भञ्ज्याङमा होटेल छ, खान-बस्नेको व्यवस्था छ। यहाँबाट तिलाचन, कोठिभिर, जन्तरे पनि सजिलै पुग्न सकिन्छ भने मोटरबाटो पछ्याउँदै बुर्तिबाङ हुँदै ढोरपाटन पनि सजिलै पुग्न सकिन्छ।

तस्बिरहरू हेर्नुस्:


तस्बिरहरू: दिलचन पुन

प्रकाशित मिति: : 2023-08-19 17:18:00

प्रतिकृया दिनुहोस्