काठमाडौं महानगरले योजनाविना सामाखुसी खोलाको स्ल्याब (ढकन)हटाउँदा नागरिक जोखिपूर्ण रुपमा खोला पार गर्न बाध्यछन्। सँगै खोला आसपासमा दुर्गन्ध फैलिएको छ। जसले सरुवा रोगको संक्रमण गराउने जोखिम बढेको छ।
खोलाहरू छोपेर घर बनाएको भन्दै काठमाडौं महानगरका मेयर बालेन्द्र (बालेन) साहले राजधानीका खोलामाथिका ढक्कनहरू उघारिरहेका छन्। उनले उघारेका ती खोलाहरू भने वर्षौं पहिला मान्छेले कुलोभन्दा सानो बनाइसकेका थिए।
कुलोमा खुम्चिएको खोलाको एकापट्टि किनारै किनार सडक बनेको छ। अर्कोपट्टि घरहरू ठडिएका छन्। घर र सडकका ती भित्ताहरू कोतर्दै वर्खामासमा यी खहरेजस्तै उर्लिरहेका छन्।
खोलामाथि स्ल्याब थिए। सहज आउजाउ हुन्थ्यो। बालबालिका, जेष्ठ नागरिक तथा अरु जोकोही सुरक्षित खोला वारपार गर्न सक्थे। खोलासँगै बनेका घरबाट सडकमा पुग्न कुनै समस्या थिएन।
अहिले खोलाका ढक्कन उघारिए। जसले काठमाडाैं २६ स्थित सामाखुसी खोला खुलेकाे छ। बालेनले खाेलामाथिकाे स्ल्याब फोडेपछि खोला खुला त भएकाे छ, सँगै खोलामा जोखिम पनि बढेको छ।
अहिले खोला वारपार गर्न हम्मेहम्मे छ। खोला पार गर्न अर्को व्यवस्था गरिएको छैन। कतै-कतै भत्काउन बाँकी रहेका स्ल्याब धराप जसरी असरल्ल छन्। फुटेर टुक्रा भएका स्ल्याबहरू पनि उस्तै छन्। त्यही धरापले कुन दिन कसको ज्यान खाने हो स्थानीयको अर्को चिन्ता थपिएको छ।
धराप जसरी राखिएका स्ल्याबमा कतैकतै त दुई खुट्टा राख्न पनि मुस्किल छ। धेरै ठाउँ त स्ल्याब छँदैछैनन्। असार महिनाको पहिलो हप्तामै महानगरले स्ल्याब फोडेको हो। स्ल्याब फोडेको दुई महिनासम्म त्यसको व्यवस्थापन भने गरेको छैन।
अब खोला वारपार गर्न समस्या भएको छ नै, सँगै खोलाको दुर्गन्ध पनि फैलिएको छ। ढल मिसिएको सामाखुसी खोला लेदोसहित बगिरहेको छ। जसको दुर्गन्ध खोला छेउमा बस्नेलाई हरक्षणको सास्ती भएको छ। सडकमा हिँड्ने यात्रुहरू पनि नाक नथुनी हिँड्न सक्दैनन्।
‘कुनै योजनाविना यो स्ल्याब नहटाउन हामीले भनेको हो। अहिले स्ल्याब हटाएको दुई महिना भइसक्यो। कुनै काम भएको छैन,’ एक स्थानीयले भने, ‘हेर्नुस त अहिले सडकमा जानसक्ने अवस्था छैन। यो दुर्गन्धले बस्न सकिदैन। सडकमा हिँड्न सकिदैन। हामी कहिलेसम्म यसरी समस्यामा राख्ने हो?’
स्ल्याब हटाउनुपूर्व स्थानीयले ढलको व्यवस्थापन गर्नुपर्ने माग राखेका थिए। तर महानगरले स्थानीयको माग सुनेन। जसले गर्दा रोगको संक्रमणको त्रासमा स्थानीय छन्।
‘अहिले त वर्षा छ। खोलामा पानी भएकोले फोहोर बगाएको छ। अबको एक महिनापछि पानी कम हुन्छ। यहाँ फोहोर थुप्रिन्छ,’ ती स्थानीय भन्छन्, ‘त्यसपछि रोगको संक्रमण हुने डर छ।’ राजधानीका खोलाहरूको हबिगत नै यही हो, जो खोलाभन्दा बढ्ता ढल निकास बनाइएका छन्।
सामाखुसी खोलामा घरघरका ढलमात्र होइन, अस्पताल, सरकारी निकाय, कुटनीतिक नियोगको ढल पनि सिधै जोडिएको छ। ढल मिसिएको खोलाले दिउँसो भन्दा बिहानको समयमा बढी दुर्गन्ध फैलाउने गरेको स्थानीय बताउँछन्।
कतिपयले रातमा आएर स्ल्याबविहीन खोलमा फोहोर सिधै फाल्ने गरेको स्थानीय बताउँछन्। खोलाका स्ल्याब हटाएपछि सडकमा यात्रा गर्नेहरुसमेत जोखिममा परेका छन्। स्ल्याब हटाएको दुई महिनासम्म खोला छेउमा कुनै छेकबार गरिएको छैन। छेकबारविहीन सडकबाट गाडी खोलामा खस्नसक्ने जोखिम छ।
तर काठमाडौं महानगरले सुरक्षाका लागि लागि राखिएको स्ल्याब भत्काएको दुई महिनासम्म पनि अब के गर्ने भन्ने ठोस आयोजना बनाएको छैन। महानगरले हाल खोलालाई खुला रुपमा बग्न दिने, ढलको छुट्टै व्यवस्थापन गर्ने र दुर्गन्धबाट रोक्ने, खोलाको दुबैतिर करिडोर निर्माण गर्ने भनिरहेको छ।
तर ढलको व्यवस्थापन नगरी त्यो काम भयो। आखिर ढल बगाउने यिनै खोला हुन्। महानगरले यी विविध काम गर्ने भनेको भएपनि नागरिकले दुर्गन्धबाट कहिले मुक्त पाउँछन्? खोला वारपार सहज कहिले हुन्छ? खोलामा छेकबार कहिले हुन्छ? भन्ने ठोस योजना भने ऊसँग छैन।
महानगरका प्रवक्ता नवीन मानन्धरले खोलालाई व्यवस्थापन गर्न योजना बनिरहेको बताए पनि काम कहिलेदेखि सुरु हुने भन्ने उनैलाई थाहा छैन।
खोलाको दुर्गन्धले बाधा
सामाखुसी खोला बसुन्धरा, रानीबारी, म्हैपी हुँदै विष्णुमतीमा मिसिन्छ। असार अघि सामाखुसी खोलाको धेरै ठाउँमा स्ल्याब राखिएको थियो। दुर्गन्ध कम हुन्थ्यो। खोलासँगै टाँसिएका घरमा व्यापार-व्यवसाय थिए।
अहिले खोलामाथिको स्ल्याब हटाउँदा यहाँबाट कतिपय व्यापारी पलाएन भएका छन्। व्यापार गरिएको ठाउँमा पसल सरेको सूचना टाँसिएको छ। भएको पसलमा पनि ग्राहक आउन सकेका छैनन्। व्यापार कम भएको गुनासो गर्छन् व्यापारी।
‘कोरोनापछि व्यापार कम भएको थियो। अहिले त व्यापारै छैन,’ त्यही खोलाछेउकी एक कपडा पसल सञ्चालिकाले भनिन्, ‘यो खोला उप्काएपछि दुर्गन्धले यहाँ बस्न गाह्रो भइरहेको छ। त्यही दुर्गन्धले होला ग्राहक पनि कोही आउँदैनन्।’
दुर्गन्धले गर्दा पसलमा बसेर दिन कटाउन निकै सास्ती भएको उनको दुखेसो छ। उनले महानगरलाई जसरी काम भएको थियो। त्यसैगरी छिटो काम सक्न आग्रह गरिन्।
‘ढल खोलामा मिसिएकाले दुर्गन्ध भएको छ। महानगरले हिजो जसरी यो खोलामा काम गरेको थियो, त्यसरी नै छिटो सक्नुपर्छ,’ उनले भनिन्, ‘ढलको व्यवस्थापन गरेर अहिले खोलाबाट हुने विभिन्न जोखिम छिटो सक्नुपर्छ।’
साउन २० गते राति आएको अविरलको वर्षापछि सामाखुसी खोला रेडन कलेज, म्हैप क्षेत्रका घरहरुमा पसेको थियो।
मानव अधिकार आयोगको ध्यानाकर्षण
सामाखुसी खोलामा स्ल्याबहरु भत्काएर काठमाडौं महानगरले अलपत्र पारेपछि मानव अधिकार आपत्ति प्रकट गरेको छ। स्ल्याब भत्काएर नागरिकको बाँच्ने पाउने अधिकारमाथि महानगरले हनन् गरेको आयोगको ठहर छ।
स्ल्याबको प्रयोग गरी छोपिएको खोला वर्षातको समयमा खोल्ने तथा भत्काउने कार्य गर्दा खोला आसपासका घरमा असर परेको, खोला वारपार गर्न समस्या भएको, खोला किनारमा बसेका विपन्न, सहाराविहीनहरूलाई समस्या भएको पाइएको आयोगको प्रवक्ता टीकाराम पोखरेलले बताए।
साउन ३० जारी विज्ञप्तीमा भनिएको छ, ‘मध्ये वर्षाको समयमा हतारमा स्ल्याब हटाउँदा ढल मिश्रित बाढीको कारण हैजा वा संक्रमण रोगहरु फैलन सक्ने सम्भावना रहेको, दुर्गन्ध फैलिएर जनजीवन अस्तव्यस्त भएको र खोला वारपार गर्ने बालबालिका वा स्थानीय नागरिक खोलामा खस्ने जोखिम रहेको छ।’
आयोगले महानगरलाई कानुनविपरीत काम भइरहेको र मानव अधिकार उल्लंघन भइरहेको भन्दै नागरिकको अधिकारप्रति संवेदनशील हुन आग्रह गरेको छ।
महानगरलाई नागरिकको स्वास्थ्य सुरक्षित बसोबास तथा स्वच्छ वातावरणको अधिकारको सम्मान गर्दै मानव बस्तीमा विकास निर्माणको कार्य गर्दा ठोस योजना र कार्यक्रमसहित गर्न, योजना कार्यन्वयन गर्दा नागरिकमा पर्ने नकारात्मक प्रभावमा ध्यान दिन, सम्पत्तिको अधिकार, सहाराविहीन नागरिकको बसोबासको व्यवस्था गर्न पनि आयोगले आग्रह गरेको छ।
फाेटाे ः रविन पुन मगर (आइडु)