यसपालि डेंगीको ‘हटस्पट’ नै बन्यो सुनसरीको धरान।
सेलिब्रेटी मेयर हर्क साङ्पाङले ‘मच्छड मार्न’ भन्दै धुवाँको मुस्लो बजारभरि छरिहिँड्दा अस्पतालभरि डेंगीका बिरामी भुँइमै सुतिरहेका थिए। जेठदेखि त्यहाँ संक्रमण फैलाउन थालेको डेंगीले ११ जनाको ज्यान निलिसकेको छ।
अहिलेसम्मको तथ्याङ्कअनुसार १० हजार ४ सय ८३ जना डेंगीबाट संक्रमित भएका छन्। डेंगीबाट संक्रमण हुने दर दैनिक वृद्धि भइरहेको छ।
धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विजयपुर हस्पिटल र निजी मेडिकलहरूमा बिरामीको चाप थेग्नै नसकिने भएको छ। कतिपय अस्पतालमा बिरामीले बेडसमेत पाउन सकेका छैनन्।
धरानमा डेंगीले महामारीको रुप लिइरहेको छ। सरकारले डेंगी नियन्त्रणका लागि ध्यान दिएको बताए पनि नियन्त्रण भने हुन सकेको छैन।
संक्रमण बढेपछि धरान उपमहानगरपालिका वडा नम्बर १३ को कार्यालय र सुनसरी उद्योग बाणिज्य संघले सहयोग गरेका छन्। उनीहरुले डेंगी संक्रमितको छुट्टै निःशुल्क उपचार सुरु गरेका छन्।
धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बिरामीले अस्पताल भरिभराउ भएपछि बिरामीको उपचारलाई मध्यनजर गर्दै वडा कार्यालयमै उपचार सेवा सुचारु गरेको बताए।
जिल्ला विपद् व्यवस्थापन समितिले डेंगी महामारीका रुपमा फैलिएपछि धरानमा ‘जनस्वास्थ्य आपतकाल’ घोषणा गर्ने सिफारिस गरिसकेको छ।
धरानमा डेंगीको सङ्क्रमण तीव्र बनेकाले स्वास्थ्य आपतकाल घोषणा गर्न गृहमन्त्रालयमा सिफारिस गरेको सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताइन्।
आपतकाल घोषण गर्नु भनेको अन्य जिल्लाबाट पनि धरानमा डेंगी नियन्त्रणमा सहयोग पुगोस् भनेरै हो।
‘डेंगी नियन्त्रणबाहिर गइसकेको छ। विपद् व्यवस्थापन समितिले आपतकाल घोषणा गर्न सिफारिस गरिसकेको पनि छ,’ प्रजिअ पाण्डेले भनिन्, ‘तर, अहिले हिलेसम्म केही पनि जानकारी पाइसकेको छैन।’ समितिले सिफारिस गरेको फाइल गृहमन्त्रालयमै छ।
उनले धरानमा डेंगी नियन्त्रणका लागि विभिन्न संघ संस्थाहरुबाट सहयोग आइरहेको पनि बताइन्। अन्य ठाउँबाट सहयोग आउँदा सरकारको तर्फबाट कुनै सहयोग हुन नसकेको पाण्डेले बताइन्।
‘बिभिन्न ठाउँबाट सहयोगको भइरहेको छ। तर, नेपाल सरकार, गृह मन्त्रालयबाट चासो अलि राम्रोसँग भएको छैन,’ उनले भनिन्, ‘आपतकाल घोषणा गर्नेदेखि जनशक्ति परिचालन, बिरामीका लागि आवश्यक पर्ने सामग्री खरिद प्रक्रियासम्म सहज भएको छैन।’
पाण्डेले आजसम्म बिरामीलाई उपचारबाट बञ्चित नगरेको बताइन्। डेंगीबाट संक्रमित नागरिकहरुलाई सहज रुपमा उपचारको व्यवस्था गरेको उनको भनाइ छ।
स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका सूचना अधिकारी पदमकुमार शाहले मन्त्रालयमा केही समयको व्यस्तताले आपतकाल घोषणाको विषय अगाडि नबढेको बताए।
मृतकको अवस्था
धरानमा मृत्यु भएका ११ जना मध्ये एक जना उदयपुरका हुन्। १० जना भने सबै धरानका रहेका छन्। जसमा बालबालिकादेखि वृद्धसम्म छन्।
धरान–१७ का ३० वर्षीय पुरुषको जेठ २३ गते, धरान–११ का ७९ वर्षीय पुरुषको साउन २ गते, साउन २ गते नै धरान–१८ का ८४ वषीया महिलाको मृत्यु भयो।
यस्तै धरान–७ की ५३ वर्षीया महिलाको साउन ३ गते, धरान –१०का ५६ वर्षका पुरुषको साउन ७ गते, ७ गते नै धरान–२ का ७७ बर्षका पुरुषको डेंगीबाट मृत्यु भयो।
धरान–११ का १० वर्षकी बालिकाको साउन ११ गते, धरान–१५ की ४७ वर्षकी महिलाको साउन १७ गते, धरान–११ का २१ वर्षका युवकको साउन १८ गते र उदायपुरका एक पुरुषको साउन १० गते मृत्यु भएको मन्त्रालयले जनाएको छ।
सुनसरी जिल्लासँगै नजिकका अन्य जिल्लामा पनि डेंगी संक्रमण फैलिएको छ।
तथ्यांक हेर्दा हालसम्म देशका पूर्वी जिल्लामा डेंगी संक्रमण बढी देखिएको छ भने केन्द्रबिन्दु धरानमा भएको छ।
धरनामा दिनमा नौ सय देखि ११ सयसम्म संक्रमित देखिने गरेको छ।मेहताकाअनुसार बाक्लो एवं मिश्रित बस्ती भएको धरानमा पानीको चरम अभाव हुँदा धारामा आएको र आकाशे पानी जम्मा गर्दा डेंगी थप बढेको छ।
पूर्वमा किन फैलिदै छ डेंगी?
जनस्वास्थ्य विज्ञहरूका अनुसार सफा पानीमा हुर्कने लामखुट्टेको लार्भा र प्युपा नष्ट गर्ने नीतिलाई निरन्तरता दिँदै घर वरिपरिको सरसफाइमा ध्यान दिन नसक्दा पूर्वी तराइ बढी प्रभावित भएको हो।
डेंगी संक्रमण गराउने एडिज एजिप्टाई जातको पोथी लामखुट्टेले जमेको सफा पानीमा फुल पार्ने गर्छ। तराईका जिल्लामा सिमित रहेको डेंगी पछिल्लो केही वर्षदेखि पहाडी जिल्लामा पनि देखिन थालेको छ।
यसबाहेक सौन्दर्यीकरण लागि घर–घरमा राखिएका फूलका गमला र अव्यवस्थित बंगुर तथा पशु फार्मका कारण पनि यहाँ डेंगीको संक्रमण उच्च हुनसक्ने तर, उक्त समस्यालाई व्यवस्थापन र नियन्त्रण गर्ने प्रयास नहुँदा परिणाम अहिले धरानमा डेंगी संक्रमण उच्च भएको हो।
लामखुट्टेको टोकाइबाट बच्न झुल लगाउने, शरीर ढाक्ने लुगा लगाउनुपर्ने मेहेताको सुझाव छ। विभिन्न रासायनिक तत्व मिसाएर फगिङ (धूवाँ फाल्नु) गर्ने हो भने मच्छर मर्ने र त्यसले डेंगी नियन्त्रणमा सहयोग पुग्ने मेहताले बताए।
डेंगी संक्रमितले बढीभन्दा बढी झोलिलो पदार्थ, फलफूल सेवन गर्न मेहेताले सुझव दिएका छन्।
उनी भन्छन्, ‘ज्वरो घटाउने र टाउको दुखाइ कम गर्ने फ्लेक्सनजस्ता औषधि भने सेवन गर्न हुँदैन। उल्टी भएमा वा पातलो दिसा बढी भएमा जीवनजल सेवन गर्नु एकदामै उचित हुन्छ।’