दशकौँदेखि ‘नेपाली जीवन’ बाँचिरहेका थाइल्यान्ड र म्यान्मारका नेपालीभाषी ‘गोर्खा’हरू यतिबेला सामाजिक सञ्जाल ‘फेसबुक र टिकटक’मा रमाइरहेका छन्।
उनीहरू रमाउनुको एउटै कारण छ— खुशी कार्कीको खुशी। थाई नेपालीहरूको खुशी। र, बर्मेली नेपालीहरूको खुशी।
खुशी कार्की अर्थात् ‘म्यान्मा–थाई’की नेपाली छोरी ‘मेरो डान्स युनिभर्स’को फाइनलमा पुग्न सफल भएकी छिन्।
थाइल्यान्ड र म्यान्मारको प्रतिनिधित्व गर्दै ‘रियालिटी सो’को राजमार्गमा हिँडिरहेकी उनी छानिँदै–छानिँदै फाइनलमा पुगेकी हुन्।
‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’का लागि थाइल्यान्ड–अडिशनबाट छानिएका १६ प्रतिस्पर्धी मध्ये मेरो डान्स युनिभर्सकाे शीर्ष पाँचमा पर्ने उनी ‘म्यान्मा–थाई’की एक्ली नेपाली चेली हुन्।
खुसी कार्कीका पाइलाहरू थामिएका छैनन्। उनी ‘मेरो डान्स युनिभर्स’को यात्रामा दौडिरहेकी छिन्। संसारभर छरिएका ‘डायस्पोरा नेपाली’हरू खुशी कार्कीको ‘खुशी’मा इट्टा थप्दै भोट गरिरहेका छन्।
म्यान्मार, थाइल्यान्ड र नेपालका नेपालीहरूले एकैस्वरमा भनिरहेका छन्, ‘खुशी कार्कीलाई भोट गरौँ। अग्रिम बधाई छ खुशी कार्की। बधाई छ नेपाली छोरी।’
थाइल्यान्ड र म्यान्मारमा ठूलो संख्यामा नेपालीमूलका नेपालीभाषीहरू बस्छन्। दुईवटा विशाल देशमा नेपाली जातीय अस्तित्वको जर्गेना गर्दैछन् उनीहरू।
खुशी कार्कीलाई जिताउनका लागि थाई नेपाली संघले नेपाल, थाइल्यान्ड र म्यान्मारमा सांस्कृतिक अभियान थालेकाे छ।
‘थाइल्यान्ड र म्यान्मारको प्रतिनिधित्व गर्दै खुशी कार्की मेरो डान्स युनिभर्सकाे फाइनलमा पुगेकी छिन्। उनलाई भाेट गरिदिनुहाेस्। हामीहरूका लागि याे खुशीकाे कुरा हाे,’ सामाजिक सञ्जालमार्फत् दीपक पराजुलीले भने।
थाई र बर्माका नेपालीभाषीहरू बर्सेनि नेपालबाट कलाकार बोलाएर सांस्कृतिक उत्सवमा रमाउँछन्। हप्तादिनसम्म तीज र तिहार मनाउँछन्। म्यान्मार हुँदै थाइल्यान्ड प्रवेश गरेका नेपालीहरूले नेपाल झल्काइरहेका छन्। तिनै नेपालीभाषीहरूले जन्माएकी नेपाली छोरी हुन् खुशी कार्की।
‘मेरो डान्स युनिभर्स’को फाइनलमा पर्न सफल भएकी खुशीलाई जिताउनका लागि भोट दिन आग्रह गर्छन् थाई–नेपाली संघका पूर्वअध्यक्ष तथा समाजसेवी कुमार कार्की।
‘खुशी कार्की थाइल्यान्ड र म्यान्मारकाे प्रतिक हुन्। उनीजस्ता हजाराैँ प्रतिभा छन्, तर ठाउँ पाइरहेका छैनन्। हामीहरूले नेपाली मौलिक कला–संस्कृति, भाषा जोगाउन र फैलाउन महत्वपूर्ण भूमिका खेलेका छाैँ। नेपाली भाषा र संस्कृति जोगाएर नेपालीपन कायमै राखेका छौँ,’ उनले भने।