कुनै पनि प्रकरणमा माओवादी वा अन्य जुनसुकै पार्टी होस् कसैलाई छुट दिइने छैन: गृहमन्त्री श्रेष्ठ  

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कुनै पनि घटनामा कसैलाई पनि छुट नदिइने बताएका छन्। मंगलबार संसदमा प्रतिपक्षले उठाएको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन्।

उनले माओवादी केन्द्र वा अन्य कुनै पनि दलका मान्छे भनेर नछाडिने दाबी गरे। श्रेष्ठले भने, ‘अहिले पनि म भन्छु माआवादी वा अन्य कुनै पार्टी होस् अनुसन्धानले, तथ्य प्रमाणले दोषी देखाउँछ भने कोही छुट्टेवाला छैनन्। म यो दृढतापूर्वक अहिले नेपाल सरकारको गृहमन्त्रीको हैसियतले भन्न चाहन्छु।’

कतिपयले भुटानी शरणार्थी प्रकरण, ललिता निवास जग्गा प्रकरण, सुन प्रकरणमा आदिमा कोहीलाई छुट दिएको हो कि भन्ने शंका गरेको भन्दै उनले शंका नगर्न आग्रह गरे। छानबिनमा प्रहरी प्रशासनलाई दृढतापूर्ण लाग्न आग्रह गरेको भन्दै स्वतन्त्र रुपमा छानबिन भइरहेको गृहमन्त्री श्रेष्ठको भनाइ छ।

उनले को मान्छेलाई अनुसन्धानमा तान्ने, कलाई छुट दिने भन्ने सरकारले निर्देशन नदिने बताए। ‘अनुन्धानमा को मान्छेलाई तान्ने, को मान्छेलाई छुट दिने निर्देशन हामी दिँदैनौँ,’ श्रेष्ठले भने, ‘हामी कानुनलाई लागु गर्छौँ। कानुन लागु गर्ने संस्थालाई अनुसन्धान गर्न दिन्छौँ। त्यसपछि प्रमाणको आधारमा अगाडि बढ्छौँ।’

उनले सरकारको पहिलो शर्त सुशासन रहेको भन्दै देशमा सुशासन कायम नगरे देशको परिवर्तन सम्भव नरहेको बताए। उनले सुशासन पहिलो सर्त र दोस्रो शान्ति प्रकृयाको काम पूरा गर्ने रहेको बताए।

प्रकाशित मिति: : 2023-08-08 18:21:00

प्रतिकृया दिनुहोस्