मन्त्री किराँती र प्रधानमन्त्री प्रचण्ड मिले, अरूलाई थाहै दिएनन्
बुद्ध दर्शनका नाममा मरुन वस्त्रभित्र लुकेका एक जना आपराधिक पृष्ठभूमिका पात्रलाई सरकारले लुम्बिनी विकास कोषको चाबी सुम्पिएको छ।
सरकारले छानेका ती पात्र हुन्- डा. ल्हारक्याल लामा। ‘बुद्धत्वमा डिग्री’ गरेको प्रमाणपत्रपछि उनका दर्जनौँ अपराधका सूचीहरू छन्। जसलाई नजरअन्दाज गर्दै सरकारले संसारभरका बुद्धमार्गीहरूको आस्थाको केन्द्रमा लामालाई लगेर राखेको छ।
त्यसका लागि संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग लामो समय पहल गरेका थिए। उनी अहिले माओवादीका केन्द्रीय सदस्य पनि हुन्।
यो निर्णय पनि सरकारले गुपचुपमा गरेको हो।
सरकारले साउन १६ गतेको मन्त्रिपरिषद्बाट निर्णय गरेर उनलाई लुम्बिनी विकास कोषको उपाध्यक्ष बनाएको भनेको छ। तर, बिहीबारमात्रै सार्वजनिक गरिएका मन्त्रिपरिषद्का निर्णयहरूमा उनको नियुक्तिबारे कुनै पनि कुराहरू लेखिएका छैनन्। सरकारका प्रवक्ता रेखा शर्माले त्यो बैठकका निर्णयहरू सार्वजनिक गरेकी थिइन्।
बैठकमा सहभागी एक जना मन्त्रिकाअनुसार बैठकमा लामाको नियुक्तिबारे कुनै प्रस्ताव पनि गएको थिएन। ‘प्रस्ताव नभएपछि के छलफल हुनु र!’ उनले भने ‘एकाएक कहाँबाट निर्णय बाहिरियो। थाहा भएन।’
भगवान बुद्धको पवित्र जन्मस्थान लुम्बिनी तथा भगवान बुद्धका जीवनीसँग प्रत्यक्ष वा परोक्षरुपमा सम्बन्ध गएका तिलौराकोट (प्राचीन कपिलवस्तु), गोटीहवा, निग्लीहवा, सगरहवा, सिसनियाकोट, कुदान (कपिलवस्तु), देवदह(रुपन्देही), रामग्राम (नवलपरासी) पुरातात्विक क्षेत्रको अन्वेषण, उत्खनन्, संरक्षण तथा विकासका लागि भन्दै २०४२ सालमा लुम्बिनी विकास कोषको स्थापना भएको थियो।
संस्कृतीमन्त्री आफैं अध्यक्ष हुने यो कोषमा उपाध्यक्ष कार्यकारी पद हो। जसले कोषका आर्थिक तथा प्रशासनिक कामहरू आफ्नै ततविजमा गर्नसक्छन्। अर्थ, गृहलगायत मन्त्रालयका सचिवहरू पनि सदस्य त हुन्छन्। तर, उनीहरूको खासै भूमिका हुँदैन।
विश्वसम्पदा सूचीमा परिसकेको लुम्बिनी क्षेत्र नेपालीमात्रै होइन सारा विश्वभरिका बौद्ध धर्मावलम्बीहरूको आस्थाको प्रमुख केन्द्र हो।
यहाँ हरेक वर्ष अर्बौं बजेट परिचालन हुन्छ। अघिल्लो वर्षमात्रै सरकारले यो कोषलाई करिब १ अर्ब २५ करोड रुपैयाँ अनुदान दिएको थियो। त्यो बाहेक हरेक दिन त्यहाँ पुग्ने पर्यटकहरू र अरू वैदेशिक अनुदानबाट पनि कोषमा करोडौं रकम जम्मा हुन्छ।
बृहत्तर लुम्बिनी गुरुयोजनाका कामहरू अझै बाँकी छन्। त्यसका लागि हरेक वर्ष करोडौं रकम खर्च हुन्छ। २०८३ सम्म योजनाका सबै कामहरू सक्नेगरी काम भइरहेको कोषले जनाएको थियो।
बुद्ध दर्शन र राजनीतिको आडमा अपराध श्रृङ्खला
राजनीतिमा आएसँगै एउटा हास्यास्पद् तर गम्भीर विवादमा उनी तानिए त्यो थियो- जन्मजातै डाक्टर। सिन्धुपाल्चोकबाट जारी भएको नेपाली नागरिकतामा नै उनको नामको अघि डाक्टर लेखिएपछि त्यो विवादमा तानिएको थियो।
त्यस्तै उनले खेन्पो छिरिङको नामबाट भारतीय नागरिकता पनि निकालेको पुष्टि भएको थियो। त्यसअघि उनले तिब्बती शरणार्थीको परिचयपत्र पनि बनाएका थिए।
चीन सरकारविरूद्ध धावा बोलेपछि लामो समयदेखि भारतमा शरण लिएर बसेका बौद्ध धर्मगुरु दलाइ लामाका निकट पनि मानिने उनलाई चीनले सर्वाधिक खोजीको सूचीमा पनि राखेको थियो। नेपालका राजनीतिक दलहरूले उनलाई तानातान गर्दा चीनले आपत्ति पनि जनाएको थियो। पछि चीनले उनलाई भारतीय गुप्तचरको आरोप पनि लगायो। त्यसपछि ल्हारक्याल धेरै समय नेपालमा देखिएनन्।
त्यसपछि २०६४ मा नेकपा (एमाले)बाट संविधासभामा समानुपातिक सभासद भए। त्यसपछि एमालेबाटै २०६७ सालमा उनी अर्थ राज्यमन्त्री भए। त्यो बेला झलनाथ खनाल प्रधानमन्त्री थिए।
पहिलो संविधानसभामा एमालेले उनलाई सभासदमात्रै बनाएन, झलनाथ खनाल प्रधानमन्त्री हुँदा अर्थ राज्यमन्त्रीएपछि फरक गुटको भनेर केपी शर्मा ओलीले उनलाई ‘दबाब’मा राख्न थालेपछि दोस्रो संविधानसभाको चुनावताका उनी नेकपा माओवादीतिर लागे।
२०७० कात्तिकतिर माओवादीमा प्रवेश गरेका उनलाई माओवादीले पनि समानुपातिक सांसद बनायो। पहिलो संविधानसभाले संविधान बनाउन नसकेपछि तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले मन्त्रिपरिषदको जिम्मेवारी प्रधानन्यायाधीश खिलराज रेग्मीलाई सुम्पिएर संविधानसभा विघटन गरेका थिए।
र, २०७० सालमा दोस्रो संविधानसभाको चुनाव भएको थियो।
त्यसअघि लामा २०४६ सालको परिवर्तनपछि कांग्रेसको जनलहरतिरै सोझिएका थिए। त्योबेला पनि उनले कांग्रेसमा लागेर लाभका थुप्रै पद लिए।
नेपाली कांग्रेसकै कोटाबाट उनी सरकारले गठन गरेको गुम्बा व्यवस्था तथा विकास समितको अध्यक्ष बनाएको थियो। २०५८ सालदेखि २०६३ सालसम्मै उनी त्यो समितिका कार्यकारी भएर बसे।
त्यो बेला उनले नेपाली कांग्रेसका शक्तिशाली नेताहरूसँग सम्बन्ध गाँसेका थिए। काठमाडौंको बौद्धमै बौद्ध दर्शन पढे पनि उनी लामो समय भारतमा बस्थे। त्यहाँबाट फर्केर सिन्धुपाल्चोकको हेलम्बुमा बौद्ध प्रचवचन दिँदा उनले त्यहीँका नेपाली कांग्रेसका नेता कान्छा लामासँग सम्बन्ध बढाए। लामा नेपालकै ठुला ठेकेदार पनि हुन्।
कान्छा लामाले नै उनलाई त्यो कांग्रेसका नेताहरू खुमबहादुर खड्का(हाल स्व.) तथा अहिलेका स्वास्थ्यमन्त्री (जो सिन्धुपाल्चोककै हुन्) मोहनबहादुर बस्नेतसँग चिनजान गराइदिए। त्यसकै आडमा उनले केही समय कांग्रेसी भागका पदहरूमा बस्न पाए।
झलनाथ खनालको मन्त्रिपरिषद्मा रहँदा उनले नक्कली नागरिकता र पासपोर्टहरू लिएको भन्दै व्यापक आलोचना भयो। त्यसपछि खनालले उनलाई मन्त्रिपरिषदबाट हटाए।
नेपालमा रहँदा उनी करोडौं ठगीका मुद्दामा पनि पक्राउ परे। त्यस्तै एउटा गोली काण्डमा पनि उनी आरोपी थिए। अकुत सम्पत्ति कमाएको भन्दै उनको सम्पत्ति छानबिन गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आदेश दिएको थियो।
नेपाली युवालाई मकाउ पठाउने भन्दै करोड रकम उठाएर भागेका उनीविरूद्ध प्रहरीमा उजुरी परेको थियो। त्यो माओवादीले उनलाई सभासद बनाइसकेपछि हो।
त्यसपछि उनलाई प्रहरीले पक्राउ पनि गर्यो। त्यो बेला उनीमाथि करिब साढे २ करोड ठगीको आरोप लगेको थियो। उनले त्यो पैसा नेपाली युवाबाट मकाउ पठाउनका लागि भिसा लगाइदिने कमिसनवापत लिएका थिए।
त्यसपछि माओवादीले उनलाई सांसद पदबाट निलम्बन गर्यो। केही दिनपछि उनी ३० लाख धरौटीमा छुटेका थिए।
त्यसपछि फेरि सम्पत्ति छानबिनको मुद्दामा उनी मुछिए। त्यसको अनुसन्धानकका क्रममा प्रहरीले उनले बैंकमा लिएको लकरमा १४ थान पेस्तोलका गोली भेटिएका थिए। त्यसपछि फेरि उनी पक्राउ परे। त्यो बेला पनि उनी ६६ हजार धरौटी तिरेर छुटे। इन्भेस्टमेन्ट बैंकमा उनको निजी लकर थियो। त्यहाँ गोली भेटिएपछि प्रहरीले पेस्तोल पनि खोजी गरेको थियो। तर, भेटिएन।
चिनियाँ सरकारी प्रतिनिधिहरूले उनका शंकास्पद गतिविधिहरूबारे पटक-पटक नेपालका राजनीतिक दल र सरकारसँग पनि कुरा उठाएका थिए।
स्वतन्त्र तिब्बत अभियान चलाएका दलाइ लामाका विशेष दूत मानिने लोंगी ग्यारीसँग पनि उनको निकटको साइनो थियो। त्यसैलाई लिएर चिनियाँ अधिकारीहरूले उनलाई भारतीय गुप्तचरको आरोप पनि लगाएका थिए। त्यो बेला उनीसँग भारतीय रासनकार्ड तथा अरू पनि धेरै नक्कली कागजपत्रहरू थिए।
यसअघिका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी (भिक्षु मैत्तेय)को पदावधि साउन ९ गते कार्यकाल सकिएको थियो। उनी २०७५ सालमा लुम्बिनी विकास कोषका उपाध्यक्षमा नियुक्त भएका थिए। त्यसपछि त्यहाँको उपाध्यक्ष बन्नका लागि उनै विवादित ल्हारक्याल लामादेखि चर्चित गायिका आनी छोइङ डोल्मासम्मले लविङ गरेका थिए।
उनीसँगै यो दौडमा, कार्यकाल सकिएका त्रिपाठी तथा यीबाहेक सिद्धार्थ महर्जन, पूर्वसदस्य भिक्षु कुन्डय र स्थानीय सुमार्ग भिक्षुहरू पनि महर्जन कोषका पूर्वउपाध्यक्ष पनि हुन्।
ल्हारक्याल लामालाई नियुक्त गर्न लागिएको शंका पाएपछि विभिन्न बौद्धमार्गी संघ–संस्थाहरूले विरोध जनाएका थिए। तर, सरकारले कसैको भनाइ सुन्दै नसुनेर अरू मन्त्रिहरूसँग समेत छलफल नगरेरै उनलाई नियुक्ति दिएको छ।
तामाङ–बौद्ध महासंघलगायत विभिन्न बौद्धमार्गीहरूका संघ संस्थाहरूले त्यसको बिरोध गरेका थिए।
तामाङ–बौद्ध महासंघनेपालका महासचिव टेकराज मोक्तानले ‘खल्तीबाट झिकेर विवादित मान्छे’ नियुक्त गर्न लागेको भन्दै आफूले त्यसलाई स्वीकार नगर्ने बताएका थिए।
कोषको उपाध्यक्ष र कर्मचारी नियुक्ति गर्दा सरकारले बुद्धको अनुयायी, कुनै पनि राजनीतिक दलमा नमुछिएको र कुनै पनि फौजदारी कसुर नलागेको तथा फौजदारी कसुरमा सजाय नपाएको व्यक्ति नियुक्त गर्नुपर्ने उनीहरूको माग थियो।
‘हिजोका दिनमा राज्यलाई बदनाम गरेका र मुद्दा चलेका व्यक्तिको नियुक्तको बिरोधमा हामीले देशभरिमात्रै होइन, संसारभरिका बौद्धमार्गीहरूलाई लुम्बिनीमा उर्ताने छौं’, उनले भनेका थिए, ‘हामी शान्ति अग्रदुतका अनुयायी हुँदाहुँदै पनि, हामी लाखौं लाख बुद्धका शिष्य यहाँ रहँदा पनि त्यहाँ आफ्नो पकेटका व्यक्तिहरु त्यहाँ नियुक्ति गरिरहँदा, कर्मचारी भर्ती गरिरहँदा शान्तिमय क्षेत्रलाई विवादमा तानिएको छ।’
चौतर्फी विवाद हुँदा पनि यो नियुक्ति प्रकरणबारे अहिलेसम्म सरकारका कुनै प्रतिनिधहरूले जवाफ दिएका छैनन्। केही सञ्चारमाध्यमको सम्पर्कमा आएका संस्कृती मन्त्री सुदन किराँतीले ‘आफ्नै केन्द्रीय सदस्य भएका कारण परेको बेहोर्नेछौं’ भनेका छन्।
उनको नियुक्तिबारे समाचारहरू बाहिरिएपछि सामाजिक सञ्जालहरूमा व्यापक चर्चा र आलोचना सुरु भएको थियो।
कुनै राजनीतिक दलहरूले अहिलेसम्म प्रतिक्रिया नजनाएपछि सरकारमै सामेल तथा प्रतिपक्षसँग सम्बन्धित कतिपय नेता कार्यकर्ताहरूले सामाजिक सञ्जालमा बिरोध गरेका छन्।