हो, साँच्चै उनले भनेजस्तै अधिकार माग्नुभन्दा अघि त्यो अधिकारका उपभोग गर्न योग्य छ कि छैन भन्ने कुराको आत्मासमीक्षा जरुरी छ।
नेपाली समाजमा यत्रतत्र अधिकारको माग र दुरुपयोगका घटनाहरु छरपस्ट भइरहेका बेला उनी एक उदाहरणीय पात्रको रुपमा चिनिएकी छिन्।
काठमाडौंको नेवारी समुदाय र खाँटी किसानको परिवारमा जन्मिएकी उनको बाल्यकाल खासै अभावरहित भने हुन सकेन। भनिन्छ नि, अभावमा हुर्केको सन्तान कहिल्यै संघर्षदेखि आत्तिँदैन। उनी पनि सानैदेखि अभाव, दु:ख, कष्ट र संघर्षसँगै परिपक्क भइन्। आफूलाई एक अब्बल, सक्षम, योग्य र दक्ष नेतृत्वदायी भूमिकामा उभ्याउन सफल पनि भइन्।
उनै सशक्त व्यक्तित्वको अन्तरङ्ग चिरफार आजको यस श्रृङ्खलामा प्रस्तुत गरिएको छ–
२०३८ साल मंसिर १० गते गोकर्णेश्वर नगरपालिका वडा नं. ४ मा बुबा रामप्रसाद र आमा बसलादेवी श्रेष्ठको तेश्रो सन्तानको रुपमा जन्मिएकी बालमाया श्रेष्ठले बाल्यकालमा नर्स वा शिक्षक बन्ने सपना देखेकी थिइन्।
गोकर्णेश्वर मा.वि.मा कक्षा एक देखि पाँचसम्म र कक्षा छ देखि दशसम्म सहयोगी मा.वि.मा अध्ययन गरेकी उनलाई लक्ष्यमा पुग्ने सपना बुन्दै गर्दा परिवारबाट विवाहको प्रस्ताव आयो।
रहर त पक्कै थिएन तर त्यतिबेलाको समय आमा-बुबाको कुरालाई नकार्ने हिम्मत र आँट कहाँ हुन्थ्यो र !
तर, विवाहअघि बालमायाले दुई वटा शर्त भने राख्ने हिम्मत गरिन्, जसको फलस्वरुप उनी आजको स्थानसम्म आइपुग्न सफल भएको बताउँछिन्।
विवाहपछि पनि अध्ययनलाई निरन्तरता दिन पाउनुपर्ने र जागीर खान कुनै रोकताेक गर्न नपाउने शर्त उनले आफ्नो हुनेवाला श्रीमानका अघि राखिन्।
शर्तहरु स्वीकार भएपछि २०५७ साल फागुन १५ गते बूढानीलकण्ठ नगरपालिका- ३ का ब्रजेनदेव श्रेष्ठसँग वैवाहिक जीवन गाँसेकी बालमायाको नर्स बन्ने सपना त अधुरो नै रह्याे तर शिक्षक बन्ने लक्ष्यमा भने उनी सफल भएरै छाडिन्।
विवाहपछि पदमकन्या क्याम्पसमा गृहविज्ञान विषय लिएर कक्षा ११ मा पढ्न थालेकी उनी त्यही बेला गर्भवती भइन्। अनि पढाइ रोकियो।
जेठो छोरा चार वर्षको भएपछि फेरि आफ्नो अधुरो पढाइलाई २०६१ सालमा विश्वशान्ति क्याम्पसबाट सुरु गरिन्। पढाइ सँग-सँगै उनले घर नजिकैको गणेश उच्च मा.वि.मा इसिडि (प्रारम्भिक बालविकास) शिक्षकको रुपमा शिक्षण पनि गर्न थालिन्।
‘मेरो घर-परिवार एक शिक्षित र सभ्य परिवार थियो। ससुराबुबा शिक्षक हुनुहुन्थ्यो र हामीलाई सधैं उत्साह, प्रेरणा र हौसला दिनुहुन्थ्यो। विवाहअघिको शर्तअनुसार श्रीमानले सधैं मेरो पढाइ र जागिरमा साथ, सहयोग र ऊर्जा दिइरहनुभयो’ उनी भन्छिन् ‘कक्षा १२ पछि पशुपति बहुमुखी क्याम्पसबाट स्वास्थ्यमा स्नातक, बूढानीलकण्ठ क्याम्पसबाट शिक्षा संकायमा स्नातक र काठमाडौँ शिक्षा क्याम्पसबाट स्नातकोत्तर गर्दै गर्दा पनि श्रीमान क्याम्पससम्मै पुर्याउन र लिन जाने गर्नुभयो।’
घरमा दुई छोराहरूको हेरचाह, आमा-बुवाको स्याहारसुसार सबै जिम्मेवारी श्रीमानले नै सम्हाले।
‘एउटी महिला सफल हुनुको पछाडि उनको घर-परिवार अझ विशेषगरी श्रीमानको भूमिका कति महत्वपूर्ण छ भन्ने कुराको उदाहरण आफैंलाई दिनुमा म गौरव महसुस गर्छु’ गर्वका साथ उनी सुनाउँछिन्।
पढाइ, जागिर, घर-परिवार, पारिवारिक जिम्मेवारी सबैलाई एकसाथ समेटेर अघि बढ्दै जाँदा विभिन्न अप्ठ्यारा परिस्थितीको सामना त गर्नैपर्छ। तर, आफ्नो लक्ष्य र उद्देश्य भेट्न आत्मविश्वास बलियो बनाउने हो भने त्यो इच्छाशक्तिले सफलतामै पुर्याउँछ।
जीवनको यात्रा रफ्तारमा थियो। बूढानीलकण्ठ नगरपालिका वडा नं. ३ मा उनी महिलाकेन्द्रित थुप्रै सीपमूलक तालिम तथा स्वास्थ्य शिविरहरूमा पनि जोडिन थालिन्। सामाजिक कामको सुरुवात त्यसैगरी हुँदै गयो।
आफ्नैं घरवरिपरि हुने यी कामहरूले उनलाई चिनाइरहेको थियो। त्यसलाई अझ बिस्तार गर्नुपर्ने थियो। सामाजिक काम, स्थानीय तहको भूमिकालाई राम्रोसँग बुझेकी बालमायाले अब चुनाव लड्ने निधो गरिन्। २०७९ सालको स्थानीय चुनावमा नेपाली काँग्रेसबाट टिकट लिएर उनी वडा सदस्यका लागि चुनावमा भिडिन्।
संघर्षले खारिँदै सामाजिक व्यक्त्तित्व र शिक्षकको रुपमा वडाभरि चिनिएकी बालमायाको उम्मेदवारीलाई उनको वडावासीले मात्रै होइन तर सिङ्गो बूढानीलकण्ठ नगरपालिकाले नै सकारात्मक रुपमा लियो।
वैशाख ३० को त्यो स्थानीय चुनाव जितेर उनी बूढानीलकण्ठ- ३ को वडा सदस्य भइन्।
‘सम्पूर्ण वडाबासीहरूले आफनो अमूल्य मत प्रदान गरी विजयको ताजसँगै वडाबासीहरूको हकहित र महिला शसक्तिकरणको गहन जिम्मेवारी पनि दिएका छन्’ बलमाया भन्छिन्।
राजनीतीबिना विकास सम्भव छैन। स्थानीय, प्रदेश र केन्द्रको समेत हरेक विकासका कार्यहरूको निम्ति राजनीति अत्यावश्यक छ। सामाजिक कार्य होस् वा अन्य हकहितका कार्य, राजनैतिक तहबाट समन्वय, साथ, सहयोग, सहकार्य र सहभागिताबिना पूर्ण हुन कठिन हुन्छ। त्यसैले प्रत्येक नेपाली महिलाले आफूलाई राज्यको हरेक क्षेत्रमा समाहित गर्दै सहभागी हुनैपर्छ।
‘त्यसको निम्ति आफूलाई समयसापेक्ष अध्यावधिक गर्दै इच्छाशक्तिलाई अझ बढी बलियो बनाएर अघि बढ्नुपर्छ’ बालमायाको भनाइ छ।
यो वडामा प्रत्येक वर्ष बूढानीलकण्ठ नगरपालिका, वडा कार्यालय र स्थानीय व्यक्तिहरूसँगको समन्वय र सक्रिय सहभागितामा पाठेघर क्यान्सरको स्वास्थ्य शिविर सञ्चालन, बेकरी तालिम, सिलाइ-बुनाइ, ब्युटिपार्लर, अचारको परिकार बनाउने तालिम, मन्टेश्वरी तालिमलगायत विभिन्न महिला सशक्तिकरणका तालिम तथा प्रशिक्षणलाई प्रभावकारी रुपमा सञ्चालन तथा समायोजनमा समेत सक्रिय भूमिका निर्वाह गर्दै सामाजिक कार्यहरुमा संलग्न बालमाया यस वडाकी एक सक्रिय वडा सदस्य हुन्।
केही वर्षअघि पाठेघर क्यान्सरको स्वास्थ्य शिविरमा १२ जना महिलामा पाठेघरको क्यान्सर भेटिएको थियो। तर, २०८० सालको स्वास्थ्य शिविरमा त्यो संख्या शून्यमा झर्यो।
‘यसले मलाई झन् खुसी र उत्साह थपेको छ’ उनी भन्छिन्।
बूढानीलकण्ठ चेतनशील महिला सञ्जाल, कृष्णपाटी क्लबलगायत विभिन्न १२ महिला समूहको नेतृत्वदायी भूमिकासमेत निर्वाह गरिरहेकी श्रेष्ठ बूढानीलकण्ठ नगरपालिकाअन्तर्गत सुशासन समितिमा पनि छिन्।
एउटा महिला सफल र सक्षम हुनको निम्ति पहिलो त महिला आफैंमा पनि शिक्षित र अनुशासित हुनुपर्दछ। चेतना हुनुपर्छ। दोश्रो कुरा परिवारको साथ, सहयोग, हौसला, प्रेरणा, समन्वय र सहकार्यको आवश्यक हुन्छ। यी दुईबीच सहज तालमेल हुने हो भने हरेक महिला राज्यको हरेक क्षेत्रमा अब्बल, सक्षम, योग्य, दक्ष हुनसक्छन्।
अनि, नेतृत्व तहमा पुग्न सक्छन् भन्ने उदार सोचाइ राख्ने बालमायाको अनुभवमा जीवन एक संघर्ष हो तर यसलाई सुन्दर र सफल बनाउने निर्णय आफ्नै हातमा रहेको बिचार ब्यक्त गर्छिन्।
‘योसँगै जीवनमा प्रेम चाहिन्छ। त्यो प्रेम आत्मीय र भावनात्मक हुन्छ। यो बिना संसारको कल्पना पनि गर्न सकिँदैन’ बालमाया भन्छिन्।
भिडियाे :