थाइल्यान्डको समुन्द्री तटमा छालले बगाउँदा दुई पर्यटकको मृत्यु

Photo - Bangkok Post
Photo - Bangkok Post

थाइल्यान्डको फुकेटस्थित करोन समुन्द्री तटमा मंगलबार साँझ आएको शक्तिशाली छालले बगाउँदा दुई भारतीय पर्यटकको मृत्यु भएको छ।

समुन्द्री मौसम बिग्रिएको समयमा पौडी खेल्न गएका तीन भारतीयमध्ये एक पर्यटकलाई तत्काल उद्दार गरिएको अधिकारीहरूले जनाएका छन्।

थाइल्यान्डको सबैभन्दा लोकप्रिय फुकेट टापु प्रान्तमा पछिल्लो पाँच दिनमा चार विदेशी पर्यटकको समुन्द्री तटमा डुबेर मृत्यु भएको सुरक्षामा खटिएका प्रहरीले जनाएका छन्।

प्रहरीका अनुसार मंगलबार साँझ भारतीय पर्यटकहरू नागामूर्ति छेउको करोन समुन्द्री तटमा पुगे। उनीहरू त्यहाँ रमाउँदै-रमाउँदै पौडी खेल्दै थिए। त्यतिखेर समुन्द्रबाट हुत्तिएको शक्तिशाली छालले तीनै जनालाई बगायो। र, एक पर्यटको उद्दार गरियो।

पर्यटकहरूलाई ‘पौडी खेल्न नजान चेतावनी दिँदै’ समुन्द्री तटमा रातो रंगका झण्डाहरू गाडिएका थियो। तर भारतीय पर्यटकहरूले जारी गरिएको समुन्द्री सूचनालाई बेवास्ता गर्दा ज्यानै गुमाए।

छालले बगाउँदा-बगाउँदै उद्दार गरिएका भारतीय युवाको यतिबेला पाटोङ अस्पतालमा उपचार भइरहेको छ। अन्य दुई जनालाई पनि पानीबाट निकालेर पाटोङ र चालोङ अस्पताल लगिएको थियो। तर उनीहरू जीवित रहेनन्।

‘उहाँहरूको मंगलबार राति ८ बजेतिर डुबेर मृत्यु भएको रहेछ। भारतीय दूतावास र आफन्तलाई जानकारी गराएका छौँ। उहाँहरूको नाम गोप्य राखिएको छ,’ पातोङका अनुसन्धान प्रमुख चोम्पुन्त अनन्तयाकुलले बताएका छन्।

जुलाई २८ मा फ्रिडम तटमा पौडी खेल्ने क्रममा सेनेगाली पर्यटकको डुबेर मृत्यु भएको थियो। उनको शव गएको आइतबार बिहान फेला परेको प्रहरीले जनाएको छ। त्यस्तै, जुलाई २८ मा एक थाई नागरिकको सुरिन समुन्द्री तटमा डुबेर मृत्यु भएको थियो।

प्रकाशित मिति: : 2023-08-02 13:41:00

प्रतिकृया दिनुहोस्