एसियाली खेलकुद : ऐतिहासिक उपलब्धी हासिल गर्ने लक्ष्यसहित तयारी तीव्र

राखेप सदस्यहरु प्रशिक्षणकाे अनुगमन गर्दै दशरथ रंगशाला। तस्बिर: राखेप

विगतमा सन्तोषजनक उपलब्धी हासिल गर्न नसकेको नेपाल यसपटक ऐतिहासिक जितको खोजीमा छ। कडा मिहेनत र नयाँ खेलबाट नै सुखद् नतिजा निकाल्न सकिनेमा राखेपको विश्वस्त छ। 


आगामी सप्टेम्बर २३ देखि अक्टोबर ८ तारिखसम्म चीनको होङझाउमा १९औँ एसियाली खेलकुद प्रतियोगिता हुँदैछ। एसियाका ४५ राष्ट्रहरुले खेलकुदमार्फत् आफ्नो शक्ति प्रदर्शन गर्ने यस प्रतियोगिताका २९ खेलमा नेपालका २३४ खेलाडीले प्रतिस्पर्धा गर्दै छन्।

विगतका प्रतियोगिताहरुमा सन्तोषजनक नजिता निकाल्न नसकेको नेपालले यसपटक उत्कृष्ट नतिजा हात पार्ने लक्ष्य राखेको छ। त्यहीअनुसार तयारी तीव्र पारिएको राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले बताए।

सदस्यसचिव घिसिङले जनाएअनुसार नेपालले यसपटक २९ खेलमा प्रतिस्पर्धा गर्दैछ। विगतमा २३ खेलमा प्रतिस्पर्धा गरेको नेपालले पहिलोपटक २९ खेलमा प्रतिस्पर्धा गर्न लागेको हो।

नेपालले यसअघि तेक्वान्दो, कराँते, बक्सिङ, एथलेटिक्स्, साइक्लिङ, फुटबल, गल्फ, जुडो, पौडी, ट्रायथलन, उसु, कुस्ती, भारोत्तोलन, आर्चरी, बास्केटबल, फेन्सिङ, ह्याण्डबल, कबड्डी, टेबलटेनिस, भलिबल, ब्याडमिन्टन, क्रिकेट र सुटिङ गरी २३ खेलमा सहभागीता जनाउँदै आएको थियो।

यसपटक इ–स्पोर्टस्, डान्स स्पोर्टस्, क्यानोइङ, रग्बी र स्क्बास थप गरी २९ पुर्‍याइएको छ।

विगत बिर्साउने जितको खोजी

सन् १९५१ मा भारतमा भएको पहिलो एसियाली खेलकुदबाटै सहभागिता जनाए पनि नेपालले अहिलेसम्म स्वर्ण हात पारेको छैन। सन् १९५४ र १९६२ को प्रतियोगिताबाहेक सबैमा सहभागी नेपालले १८औँ संस्करणसम्म आइपुग्दा २ रजत र २२ काँस्य पदक मात्रै जितेको छ।

कतिसम्म भने नेपालले दक्षिण कोरियामा भएको १३औँ प्रतियोगितामा त एउटा काँस्यपदक मात्रै जितेको थियो। त्यस्तै सन् २०१० मा भएको प्रतियोगितामा पनि नेपालले एउटा मात्रै काँस्य पदक जितेको थियो।

विगतमा सन्तोषजनक नतिजा निकाल्न नसकेको नेपाल यसपटक ऐतिहासिक जितको खोजीमा छ। ऐतिहासिक जितको खोजीमा रहेको नेपालले तयारीमा गम्भीरताका साथ अगाडि बढाएको छ। मेहेनतलाई नै जितको आधार मानिन्छ।

त्यसमाथि थप गरिएका पाँच खेलबाटै सुखद् नजिता निकाल्न सकिनेमा राखेपका तालिम तथा प्रशिक्षण विभागका निर्देशक प्रचण्ड शर्मा विश्वस्त छन्। ‘यसपटक थप गरिएका खेलबाटै हामीले ऐतिहासिक जित निकाल्न सकिन्छ भन्ने विश्वास छ’, शर्माले भने, ‘पाँचमध्ये इ–स्पोर्टस्लाई प्राथमिकतमा राखिएको छ।’

इ–स्पोर्टस्ले पछिल्लो समय गरेको प्रगतिले देखर थप आशावादी भएको शर्माको भनाइ छ। नेपाली इ–स्पोर्टस् गेमिङले विश्वकप यात्रासमेत तय गरिसकेको छ।

प्रतियोगिता नजिकिँदै गर्दा नेपालले तयारी तीव्र पारेको छ। प्रतियोगितामा सहभागी हुने १ सय २५ महिला र १ सय ९ पुरुष गरी कुल २ सय ३४ जनाले अहिले धमाधम तयारी गरिरहेका छन्।

अधिकांश खेलहरुको तयारी नेपालमै भए पनि केहीको भने विदेशमा पनि भइरहेको छ। नेपालले २९ मध्ये ९ खेल विदेशमा तयारी गरिरहेको छ। ‘हाम्रा खेलाडी अझै सशक्त होऊन भनेर तयारीको लागि विदेशमा पठाएका छौँ’, शर्माले भने।

बजेटमा गुनासो

हरेक चार–चार वर्षमा आयोजना गरिने एसियाली खेलकुद प्रतियोगिताको तयारीको लागि राज्यले ठुलो लगानी गर्नुपर्ने हुन्छ। तर, यही कुरामा नै राज्य अहिलेसम्म चुक्दै आएको गुनासो राखेपको छ।

यसपटकको एसियाली खेलकुद प्रतियोगिताको लागि राखेपले सरकारसँग ३१ करोड बजेट माग गरेको थियो तर पायो २१ करोड मात्रै। जसको असर सिधैं देखिन खेलाडीमा देखिएको छ।

बजेट अभावकै कारण केही खेलहरुको तयारी नै सुरु हुन सकेको छैन। खेल सामाग्रीको अभाव त छँदैछ। एसियाली खेलकुद खेल्ने खेलाडी कुन अवस्थामा छन् ? राज्यले महसुस गर्न सकेको छैन।

‘बजेट अभावकै कारण केही खेलाडी त प्रशिक्षणबाट बञ्जित हुनुभएको छ’, उनले भने, ‘हामीले सरकारसँग थप बजेट माग गरेका छौँ।’ जे होस् जस्तोसुकै समस्याहरु समाधान गरेरै यसपटक ऐतिहासिक उपलब्धी हासिल गर्ने नेपालको लक्ष्य रहेको छ।

प्रकाशित मिति: : 2023-07-31 14:39:00

प्रतिकृया दिनुहोस्