स्कुल : श्री देवकोटा प्रा.वि.
टाँडी : गाउँ
धोबेनी : गाउँको मुख्य चोक
मिक्लुक खोला : गाउँबीचको खोला
उर्लाबारी : टाँडीबाट १५ किमि दक्षिण, राजमार्गसँग जोडिएको सहर
कौशिला : पत्नी
यो चौर, जहाँ आजभन्दा २० वर्षअगाडि मेरा साना-साना नाङ्गा खुट्टाहरु दौडने गर्दथे। अलिकति कक्षा खुला भयो कि यही चौरमा कहिले भालेजुधाइ त कहिले छोइडुम अनि कहिले झुम्राको गोल खेल्दा खुट्टाका नङहरु उक्किन्थे। तर, पनि हरियो दुबोले ढाकेको त्यो मेरो स्कुलको चौरमा मेरा नाङ्गा पैतालाहरु फितिती कुदिरहन्थे। आज अलि धेरै नाङ्गिएर रुखो माटो मात्र देखिने भइसकेछ। अहिले त साँझ परिसक्यो, स्कुल त ४ बजे नै छुट्टी हुन्छ। मौसमी खेलहरु खेल्थ्यौं। अझै पनि खेल्छन् केटाहरु। तर प्रायः सबै अरबतिर गइसके, आजकल त भन्डैझन्डै सुनसान हुँदोरहेछ। मैले शिशुमा क, ख, ... सिकाउने मेरा विजय सर अहिले त्यस्तै हुनुहुन्छ, पहिला जस्तो हुनुहुन्थ्यो। ऊ त्यो पल्लोपट्टिको कोठा स्कलकाे अफिस, विद्यालयको साइनबोर्ड पनि मक्किएर अफिसभित्रै देखिरहन्थें पोहोर साल। पहिले हामी पढ्दा त अफिसअगाडि साइनबोर्ड अनि छेउमा राष्ट्रिय झन्डा फहराउँथ्यो, सायद आजकल त राख्दैनन् होला।
यो चौर, त्यो कक्षाकोठा मेरो कथा। चौरमुन्तिरको दुईवटा आँपका झ्याङ एउटा कथा, उतापट्टिको फलैंचा अर्को कथा। अलिपरको असारेको बोट एउटा कथा, स्कुलअगाडिको पानीधारा एउटा कथा अनि मेरो घरदेखि स्कुलसम्म जोडिने गोरेटो अर्को कथा। मेरो गाउँमा कथैकथा, कति कथा कति कथा ! आफ्नाे कथा बोकेर वर्षौंदेखि स्थिर छन्, यहाँका कथाहरु। म द्रवित भइसकें, साँच्चै नै द्रवित बनिसकें यी कथाहरु
हेर्दाहेर्दै। र सोच्छु, मैले यी कथाहरु सार्नैपर्छ, लेख्नैपर्छ।
मेरो गाउँ, कति धेरै माया लाग्छ मलाई मेरो गाउँको। साँच्चै नै म मेरो गाउँलाई असाध्यै माया गर्छु। मलाई मेरो गाउँको मायाले घरीघरी रुवाउँछ। कहिलेकाहीँ म यहींँ हुन्छु, मेरो आफ्नै गाउँमा हुन्छु। तर पनि मैले मेरो गाउँलाई नपाइरहेको आभास हुन्छ। मैले देखेदेखि मेरो गाउँ जस्तो थियो, आज त्यस्तै नै छ। यहाँ एउटा मोटरबाटो चाहिने हो। त्यो मिक्लुक खोला बर्खामा तर्नै गाह्रो, एउटा पुल चाहिने हो। प्रायः सबै पाखेबारी छन्, लावाखोलाबाट नहर ल्याउनुपर्ने हो। यसरी अँध्याराले छोप्छ, मेरो गाउँलाई, बिजुली पनि त चाहिने हो। तर, कति हेपिएको मेरो गाउँ, कति गरिब क्या ! हिउँदमा त धोबेनीसम्म यसो गाडी आउँछ, बर्खामा त फेरि यस्तै।
मैले मेरो गाउँलाई छोडेको १० वर्ष भइसकेछ। कहिले क्याम्पस अनि कहिले केके ट्रेनिङ लिन कताकता जाँदाजाँदै आएर बिहे गरियो अनि लगत्तै उर्लाबारीमा नै बस्न थालियो। आजसम्म म तलै छु तर मेरो मन भन्छ, ‘यो गाउँलाई मेरो खाँचो छ।’ मलाई आभास हन्छ, ‘टाँडीले मलाई धेरै माया गर्छ।’ जब म यहाँ आउँछु तब मेरो गाउँ हर्षले रोएको महसुस गर्छु। महिनौंपछि आज फेरि गाउँ आइयो। अनि आज यो चौरको बीचमा बसेर म यो कथा लेखिरहेको छु।
उः त्यो आँपको झ्याङमा लटरम्म आँपहरु फल्थे। खुब चोरीचोरी खाइन्थ्यो अनि आँपधनी आउँदै गरेको देख्यो कि मकैका कलिला बिरुवाहरु माड्दै खुब कुद्थ्यौं हामी। मलाई फटाहा भन्दै गाली गर्नु हुन्थ्यो उहाँ। अहिले त ‘कहिले आइयो नानी ?’ भनेर कति सत्कारले बोल्नुहुन्छ, ती आँपधनी।
उः त्यो पल्लो डिलपर्तिर सानो खोल्सो छ अनि यता आउने मूलबाटो। पापुदाइ, जो हामी बच्चै हुँदा यही चौरमा खुब फुटबल खेल्नुहुन्थ्यो, चुरोट पिउँदै आउनुहुँदैछ। पछाडि-पछाडि १०/११ वर्षको सानो चुलबुल केटा सायद छोरो होला, खितिती हाँसेको सुनें। बुवालाई झुक्याएर काँधमाथि उफ्रँदोरै’छ, रेला पो गर्दोरै’छ। मेरो नजिकैबाट “कहिले भाइ ?” भन्दै उहाँ जानुभयो, केटो भने मेरो यो लेख्दै गरेको कथाको एकदुईवटा अक्षरहरु मुस्किलले पढ्न थाल्यो, मैले शिर उठाएर ऊतिर हेर्दा ऊ लजाउँदै बुवातिरै कुद्यो। ऊ बुवालाई सोध्दै थियो, “बुवा ! त्यो मूर्ति बनाउने दाइ होइन ?”। “हो।” ऊ फेरि बुवाको काँधमा उफ्रेर खितिती हाँस्यो।
अँ साँच्चि ! म त मूर्तिकार पनि। त्यो फुच्चेकै उमेरदेखि मूर्ति बनाउन थालेको। छ कक्षाको परीक्षाका लागि किताब पढ्दै गर्दा अरनिकोको पाठ पढेपछि तुरुन्तै मूर्ति बनाउने रहर जागेको त्यो घडी म बिर्सन्नँ। एउटा सानो फलामे काँटीमा धार बनाएर त्यसले नै सानो ढुङ्गामा मान्छेको अनुहारको आकृति बनाउदा छिमेकीहरु कति छक्क परेका भने, म फुच्चे त फुरुङ्ङै। तल्लो घरको मामाले चाँहि साह्रै फुर्काउने मलाई। मलाई पछि राजाले लान्छ अरे। म पछि ठूलो मान्छे बन्छु अरे। त्यही उक्साहट र हौसलाले मलाई मूर्ति कँुद्न अझ पे्ररित गर्दै गयो। म कहाँबाट निस्किए हुँला त्यस्तो ! पछिसम्म विभिन्न संघ÷संस्थाहरुमा मूर्तिहरु उपहार दिँदै हिँडियो। उनीहरुले काफी हौसला र प्रशंसा दिन्थे। समाजको हौसलाले मलाई निरन्तरताका लागि प्रेरणा मिलोस् भनेरै होला, मेरो बुवाले खोलादेखि ठूलाठूला ढुङ्गाहरु आँगनसम्म बोकी ल्याइदिनुहुन्थ्यो अनि मैले जानीनजानी बनाएका ती मूर्तिहरु सकीनसकी टाढाटाढासम्म बोकेर उपहार दिन लैजान्थ्यौं हामी।
मेरो कला देखेर मेरो बुवा पनि मख्ख भएको पाउँथें म। अँ, आजसम्म लगातार मूर्ति कुँदिरहेको छु तर यहाँ होइन, तल उर्लाबारीमा बसेर। तर ढुङ्गा भने मेरो गाउँको, मेरो मिक्लुक खोलाको। एक हजार विश्वप्रसिद्ध व्यक्तिहरुको ढुङ्गामा अर्धकदका मूर्तिहरु बनाएर यो राष्ट्रलाई उपहार दिने मेरो फलामे सपनाले मलाई धेरै माथिसम्म पुर्यायो। देशप्रतिको मेरो माया र समर्पणलाई सारा देख्नेसुन्नेल मलाई अझ धेरै हौसला दिए र दिँदै छन्। राष्ट्रप्रतिको मेरो त्यागी भावनालाई उनीहरु धन्यवाद दिन्छन् भने उता म मेरो गाउँलाई मुरीमुरी धन्यवाद दिइरहन्छु।
हो, यिनै मेरा छिमेकीहरुको हौसलाले म मूर्तिकार बनें, यिनै ढुङ्गाहरुमा मूर्ति कुँदेर जीवन गुजारा गरिरहेको छु र यिनै ढुङ्गाहरुमा ती हजार मूर्तिहरु कुँदेर राष्ट्रलाई उपहार चढाउने मेरो लक्ष्यमा साथ दिने देवता मेरो गाउँ। म मेरो गाउँप्रति धेरै ऋणी छु। मेरो गाउँका यी माटाका प्रत्येक कणहरुमा लेखिएका कथाहरु, कविताहरु अनि सङ्गीतहरु छ्यासछ्यास्ती छरिएको देख्छु अनि सोच्छु, यी कथाहरु, यी कविताहरु, यी गीतहरु र यी सङ्गीतहरु सम्हाल्नुपर्छ मैले।
यी माथिका हरफहरु लेख्दालेख्दै त्यो साँझ अँध्यारोले छोपिसकेको थियो, त्यसैले आज फेरि एक महिनापछि यहीं बसेर मेरो यो कथा जोडिरहेको छु। आज फेरि यो ढल्किसकेको दिनमा यो चौर अनि यो स्कुल सुनसान छ। मेरो पुरानो बाल्यकालका मेरा पैतालाका डोबहरु यो चौरमा, ती कक्षाकोठाहरुमा अनि यी गोरेटाहरुमा अझै पनि मेटिएका छैनन् जस्तो लाग्छ।
२०४२ सालतिर शिशुमा भर्ना हुँदादेखिका अविस्मरणीय ती स्कुले दिनहरुलाई आज मेरो सामुन्ने ल्याएर हेर्दा त्यतिबेलादेखि नै अलि भावुक रहेछु म। विद्या मिसले मीठो लयमा गीत गाउँदा, उहाँले मलाई सबै विद्यार्थीभन्दा धेरै माया दर्साउँदा म रोएको, स्कुलभरिका विद्यार्थीमध्ये सबैभन्दा अनुशासित विद्यार्थी भनेर पुरस्कार पाएको अनि स्कुलदेखि घर जाँदा मेलापातमा गएकी मेरी आमालाई सम्झँदै बाटोभरि भावनामा डुब्दै हिँडेका ती पलहरु म कसरी भुल्न सक्छु र ! मेरा फुच्चे साथीहरुको कापीभरि म फुच्चे चित्रकारले बनाएका चित्रहरु अझै पनि मेरो मस्तिष्कमा ताजै छन्।
अँ साँच्चि ! म सानैदेखि अलि भावुक रहेछु क्यार। २०४६ सालतिर होला, आफूभन्दा ठूला दाजुहरुको कुरा सुन्थें म। खै कहाँ हो, नेपालमै मान्छे मारामार गरे रे ! अर्को ठाउँमा पनि जुलुस भयो रे ! हुँदाहुँदा अब त बम पनि पड्काउने रे। अहो, त्यहाँदेखि त यो फुच्चे दार्शनिक मञ्जुलको मनमस्तिष्कमा एउटै चिन्ताले डेरा जमायो, किन मान्छेहरु मारामार गरेका होलान् ? एकले अर्कोको शरीर दुखाएर, मारेर के फाइदा होला र ? मलाई यही कुराले मात्र पिरोलिरहन्थ्यो। म त्यही सुर्ताले बिरामी नै परिसकेको थिएँ। पछि मात्र थाहा भयो, त्यतिखेर जनआन्दोलन रहेछ। मकैबारी रुङ्दा आँपको बोटमुनि त्यसकै बारेमा सुर्ता गर्दागर्दै निदाएको थिएँ कति दिन म। पछि झमक्क साँझ परेपछि आमाले लिएर जानुहुन्थ्यो मलाई। यस्तैयस्तै कुराहरु सोच्दै, गीत कथाहरु बुन्दै खुब रुन्थें म त्यो बेला।
भयो, अब अन्तै मोडौं कथा।
मेरा बुवा साह्रै गरिब हुनुहुन्थ्यो। गाउँभरिमा हाम्रो परिवार सबैभन्दा गरिब थियो। तर, पनि हाम्रा बुवाले साहूबाट ऋण काढ्दै भए पनि हामी सातजना छोराछोरीलाई एसएलसीसम्म पढाउनुभयो। त्यसो त हामी पढ्दा पटकपटक काढेको ऋण अझै पनि तिर्न सकिएको छैन। एक छाक खोलेफाँडो खाँदै जाडोमा काम्दै बिताएका ती चिसा रातहरु भर्खरै जाँदै छन्। कस्तै दुःख, अभाव र कष्टको बाबजुद पनि हाम्रा बुवाआमाले हामीलाई पढ्ने वातावरण बनाइदिनुभयो र गाउँभरिकै शिक्षित नमुना परिवार बन्न सफल भयौं हामी।
ठुल्दाजुले त्यहीँको कालिका स्कुलमा जागिर खान थालेपछि केही हल्का भयो घरव्यवहार टार्न तर ठुल्दाजुको उपचारका लागि लिएको ऋण भनेको म्यादमा तिर्न नसक्दा मेरो एसएलसीको प्रमाणपत्र मलाई नै असाध्यै माया गर्ने, मलाई क, ख, ... सिकाउनुभएकी मेरी गुरुमाले जफत गरेर लगिदिँदा हाम्रो परिवारले अनुरोधबाहेक केही विरोध गर्न सकेन, किनकि हामी गरिब, निर्बलिया र निरीह थियौं। ऋणको सट्टामा हामीले हाम्रो दुहुनो गाई दिँदा पनि गरिब र सर्वहारावर्गको उत्थानका लागि राजनीति गर्ने उहाँका पतिले मेरो प्रमाणपत्र फिर्ता दिनुभएन, ताकि हामीले लिएको ऋण गाईको मूल्यभन्दा थोरै थियो। पछि मैले मूर्तिकार भएर पाएको पुरस्कारको रकम उहाँहरुलाई बुझाएर मेरो प्रमाणपत्र वापस लिएर क्याम्पस पढ्न थालें, जबकि उहाँहरुले गर्दा म एक वर्ष अध्ययनबाट वञ्चित हुनुपरेको थियो।
अँ, २०६० साल मंसिरमा निर्दोष ठुल्दाजुलाई सैनिकहरुले बेकसुर हत्या गरेपछि फेरि हाम्रो परिवार र पूरै गाउँ सुनसान भयो, स्तब्ध भयो। त्यो सोझो, इमानदार, रोगी मेरो दाइलाई किन मारियो, मलाई अझै पनि प्रस्ट थाहा छैन। उसलाई उः त्यही धाराको छेउबाट कुद्न लगाएर गोली ठोकेर मारेका रे तिनीहरुले। कहिलेकाँहीं त यी कुराहरु सम्झँदा आफ्नाे गाउँप्रति पनि वितृष्णा पैदा हुन्छ तर फेरि सोच्छु, मैले मेरो धेरै समय यही गाउँसँग बिताएको छु। मैले यहीँका गल्ली र गोरेटाहरुमा हिँड्न सिकेको हुँ, यिनै स्कुलहरुमा कखरा छिचोलेको हुँ।
अनि यहीँका पाखेबारी र उकालीओरालीहरुमा सङ्घर्ष गर्न सिकेको हुँ।
कसरी चटक्क माया मार्न मिल्छ र आफ्नाे गाउँलाई !
साँच्चै नै जीवनमा धेरै सङ्घर्ष गरियो। सङ्घर्षको दौरानमा धेरै दुःखहरु झेलिए तर आजसम्म पनि सङ्घर्षको एकछेउ पनि सकिएको छैन रहेछ। मूर्तिकला सिक्न जाँदा काठमाडौंमा साहूका तीनवटा बडेमानका घरका सिंढीहरु पुछ्नुपर्दा, उनीहरुको हेपाइ खेप्नुपर्दाका ती सङ्घर्षका हारहरुले मलाई अत्याइदिन्थे। सङ्घर्षमा पाएका हारहरुले कहिलेकाँहीँ त जीवन र सोचलाई अन्तै मोडौं झैं लाग्थ्यो। तर, फेरि सोच्थें, म यो देश अनि यो युगका लागि सङ्घर्ष गर्दै छु। म आफैंभित्र प्रेरणाको स्रोत खोज्थें, सङ्घर्ष जित्नकै लागि गरिन्छ, सफलताको ताल्चा कठोर परिश्रमले मात्र खुल्दछ। त्यसो त अझै पनि मेरो सामुन्ने सङ्घर्षको महाभारत नै छ। अँ, मैले सङ्घर्ष गरें। मैले मेरा ती हरदिन र हररातहरुलाई सम्भव भएसम्म सदुपयोग गर्ने प्रयास गरें र गरिरहेको छु।
मेरो सङ्घर्ष मेरो लक्ष्य पूरा गर्नुमा थियो, छ र हुनेछ। राष्ट्रलाई उपहार दिन आजसम्म मेलै विश्वविख्यात व्यक्तिहरुका ३० वटा मूर्ति बनाइसकेको छु। म सोच्थें, हजार मूर्ति बनाइसक्दा मलाई कस्तो अनुभव होला। मैले मेरो यो लक्ष्य मेरा आदर्श व्यक्ति लियोनार्दो दा भिन्चीको मूर्ति कुँदेर सुरुवात गरेका बेला ममा कताकता फराकिलो शून्य आकाशमा रुवाझैं उडेजस्तै अनुभूति भएथ्यो। म छटपटिरहन्थें, अब कहिले १० वटा मूर्ति बनाइसकुँला, कहिले २० वटा, कहिले ३० वटा। अन्ततः कडा मेहनत गरेर मैले तिनीहरुका ३० वटा मूर्ति बनाइसकेर उर्लाबारीमा मेरो पहिलो, ऐतिहासिक, एकल मूर्तिकला प्रदर्शनी गरें।
मेरो कला र सपनालाई हेर्नेहरुले मलाई भारी शुभकामना दिए। प्रदर्शनीको अभिव्यक्ति पुस्तिकामा उनीहरुले लेखिदिएका शुभकामना, सल्लाहसुझाव, आशा र बधाईहरु दोहोर्याई तेहेर्याई पढ्ने गर्छु म। ती अभिव्यक्तिहरुले मलाई थप ऊर्जा थपिदिन्छ, प्रेरणा दिन्छ, हौसला बढाइदिन्छ अनि कहिलेकाँहीँ त सुत्न लागेको बेलामा पनि उठेर मूर्ति कूँद्न बाध्य तुल्याइदिन्छ मलाई। मप्रतिको उनीहरुको सोचाइ, मप्रतिको उनीहरुको आशाका ती अभिव्यक्तिहरुले म द्रवित हुन्छु अनि मेरी कौशिलालाई पढेर सुनाउँदै उनीसँगै रुन्छु म। मेरो सुत्ने ओछ्यानको छेउमै ती मूर्तिहरु हुन्छन्, म ननिदाउन्जेल तिनीहरुलाई हेरिरन्छु। सोच्छु, मख्ख हुन्छु, मेरो फलामे सपना, हजार मूर्ति राष्ट्रलाई उपहार।
म दिनभरि मूर्ति कुँदिरहेको हुन्छु, त्यहीं पल्लो घरमा एउटा मान्छे सोफामा आरामसाथ बसेर दिनभरि टिभी हेरिरहेको हुन्छ। त्यो घरको झ्यालबाट टेलिभिजनको चर्को आवाज सुनिइरहन्छ। क्रमशः दिन ढल्दै जान्छ, मेरो मूर्तिको आकार पूर्ण हुँदै जान्छ, म आफैंमा पूर्ण हुँदै गएको महसुस गर्छु। पल्लो घरमा दिनभरिका टिभी च्यानलका कार्यक्रमहरु सकिँदै जान्छन्, त्यो घरको मान्छेको आफ्नाे मूल्यवान् त्यो दिन पनि ती कार्यक्रमसँगै सकिँदै जान्छ। बेलुका बाटातिर यसो टहल्न निस्कँदा ऊ पनि टहल्दै निस्कन्छ। म तुलना गर्छु, उसको आजको दिन
ऊबाट फुत्केर गयो, मैले मेरो आजको दिनलाई आफ्नाे बसमा राखेको छु।
अँ, आज म अनि मेरो गाउँको वास्तविक कथा लेखिरहेको छु। जति लेखे’नि नसिद्धिने रहेछ मेरो कथा। जति समेटे पनि यति छोटा हरफहरुमा नसमेटिने रहेछन्, मेरो गाउँका कथाहरु। अब त झमक्कै अँध्यारोले छोपिसक्यो, त्यो माथिको दैंतेटार डाँडा पनि मधुरो देखिन थाल्यो। त्यो दैंतेटार डाँडा पनि मेरो एउटा कथा हो। यो कथा टुङ्ग्याउनेबित्तिकै म मेरो गाउँलाई एकचोटि चुम्बन गर्नेछु। त्यो मिक्लुकखोला, त्यो राँकेडाँडा वन, मेरो घर, यो स्कुल, त्यो स्कुल, यो चौर, त्यो गोरेटो, यो फलैंचा, त्यो आरुको बोट, यो आँपको झ्याङ, यी पाखेबारीहरु, यी गाउँले जिन्दगीहरु, म अनि मेरो गाउँका कथाहरु फेरिफेरि पनि म लेखिरहनेछु, लेखिरहनेछु।
२० माघ २०६२
टाँडी