ट्युनिसियामा छ महिनामा आठ सय आप्रवासीको डुबेर मृत्यु

ट्युनिसियामा डुङ्गाबाट युरोप पुग्ने क्रममा यस वर्षको पहिलो छ महिनामा करिब ८०० आप्रवासीको डुबेर मृत्यु भएको नेसनल गार्डका प्रवक्ता होउसेम एड्डाइन जेबाब्लीले बिहीबार बताएका छन्।

उनले एएफपीलाई दिएको जानकारीमा भने, '१०२ ट्युनिसियाली, अन्य विदेशी र अज्ञात व्यक्तिसहित ७८९ आप्रवासीको शव समुद्रबाट निकालिएको छ। यो अवधिमा ३४ हजारभन्दा बढीको उद्धार गरिएको छ।'

उत्तर अफ्रिकी देश (ट्युनिसिया) युरोपमा राम्रो जीवनको आशामा जोखिमपूर्ण समुद्री यात्राको प्रयास गरिरहेका अनियमित आप्रवासी र शरण खोज्नेहरूका लागि एक प्रमुख प्रवेशद्वार बनेको छ।

ट्युनिसिया इटालियन टापु लाम्पेडुसाबाट लगभग १३० किलोमिटर को दूरीमा अवस्थित छ।

जेबाब्लीले भने, 'जनवरी १ देखि जुन २० को बीचमा कूल ३४ हजार २९० आप्रवासीलाई रोकेर उद्धार गरिएको छ। यो सङ्ख्या गत वर्षको सोही अवधिको नौ हजार २१७ को तुलनामा निकै बढी हो।'

यस वर्ष उद्धार गरिएकामध्ये ३० हजारभन्दा बढी विदेशी नागरिक रहेको र तीमध्ये अधिकांश सब–सहारा अफ्रिकाका रहेको उनले बताए।

सामुद्रिक सुरक्षा एकाइहरूले पहिलो छ महिनामा एक हजार ३१० उद्धार प्रयासहरू सञ्चालन गरेको र उक्त सङ्ख्या अघिलो बर्षको सोही अवधिको सङ्ख्याभन्दा दोब्बर भन्दा बढी हो।

इटालियन सरकारका अनुसार यस वर्ष अहिलेसम्म ८० हजारभन्दा बढी मानिसहरू भूमध्यसागर पार गरेर यसको किनारमा आइपुगेका छन्, जसमध्ये अधिकांश ट्युनिसिया र युद्धग्रस्त लिबियाबाट आएका हुन्।

अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनका अनुसार सन् २०१४ यता मध्य भूमध्यसागरीय क्षेत्र विश्वको सबैभन्दा खतरनाक आप्रवासी मार्ग बनेको छ र यसले २० हजारभन्दा बढीको ज्यान लिइसकेको छ।

प्रकाशित मिति: : 2023-07-28 06:11:00

प्रतिकृया दिनुहोस्