प्रश्नहरू लगभग सकिएका छन्। प्रकाशका किरणहरू मधुरिन थाले। अनि प्रश्नहरू सोधिरहेको त्यो नारी आवाज पनि अँध्यारोमै समाहित भयो।
मौनता मिसिएको मधुरो उज्यालो छायो। नेपथ्यमा मधुर संगीत बज्यो। हलभरिका दर्शकका कान तीखा भए, आँखाहरू मथ्थर।
मञ्च उज्यालिन थाल्यो। प्रकाश पोखिएका दृश्यमा कुनै हिमाली गाउँ देखिए। हिमालको खोचमा छन् दुई पात्र। अघि लागेका डाक्टर सिद्धान्त र नाम्लो–भारी बोकेर हिँडिरहेका गाेपी।
दुईजनाबीच केही संवादहरू चल्छन्। गोपीका लवजले कर्णाली बोल्छ। हो, पियन गोपीको आदिभूमि हो कर्णाली हो। कार्यक्षेत्रमा नौलो हुन्छन् डा. सिद्धान्त। बच्चा बिरामी भएपछि डाक्टर लिन आएका गोपी उनका भारी बोकेर पछिपछि छन्।
बाटोमै गाडी बिग्रिन्छ। रातको अँध्यारोले पछ्याउँदैछ, उनीहरू लम्किरहन्छन् चाँडै घर पुग्नुछ। एकैछिन बिसाउँछन्। फेरि हिँड्छन्।
घरमा नौरती छिन्, गोपीको श्रीमती। डाक्टर लिन गएका श्रीमानको बाटो कुर्दै बसेकी। लाग्छ सिङ्गो गाउँमा नौरती र गोपीमात्रै छन्। उनीहरूकै प्राण छ। युद्धले पोलेको त्यो गाँउबाट गएकाहरू त्यसपछि कहिल्यै फर्किएनन्।
युद्ध सकिएपछि फर्किएका एकाध मान्छे गाउँको कष्टसँग फेरि जुध्न सकेनन्। अनि सहरै फर्किए।
गाउँमै बसेका बुढा बा–आमाहरू स्वर्गे भइसके। गोपीका लोग्नेस्वास्नी छन्, साथमा एउटा रवरको बच्चा छ। र आत्माहरूमात्रै बसेका छन्, गाँउभरि।
अझ गोपीको जागिर छ जिल्लाको एउटा अड्डामा। ऊ पिउन हो त्यहाँको। ऊ अफिस जाँदा घरमा नौरती एक्लै बस्छे। घरधन्दा धानेकी छ। अनि प्लास्टिकको बच्चालाई आफ्नै बच्चा ठानेकी छे। ऊ त्यैसँग दिन काट्छे। आफूलाई दिनभरि भुलाउँछे। त्यसैसँग रात कटाउँछे।
अलि अबेर घर पुगेका डाक्टर बच्चाको हेर्न थाल्छन्। हल्लिरहेको झुनेल्नामा बच्चा थिएन। रवर थियो, गुडिया थियो। झुनेल्नामा त्यो रबरको बच्चा देखिपछि रिस उर्लिएको आवेगमा ती डाक्टर फर्किन खोज्छन्। तर गोपी र नौरतीले उनलाई अनेक बिन्ती गरेर फर्किन्न दिन्नन्। रात पनि छिप्पिसकेको हुन्छ। डाक्टर फर्कून् पनि कसरी!
अब कथाले अर्कै रुप लिन्छ। लगभग अब डाक्टरलाई थाहा भइसक्छ कि, गोपी र नौरतीले उनलाई बन्धक बनाइसकेका छन्।
अब डाक्टरले त्यो रबरको बच्चामा प्राण कसरी भरोस्।
नौरतीलाई डाक्टरले बुझाउन खोज्छ। त्यो प्राण भरिएको उसको बच्चा थिएन, त्यो एक रबरको प्राणहीन खेलौनामात्रै थियो।
डाक्टरको लागि त्यो रबर नै हो, प्राणहीन। उसका लागि त्यही नै सत्य हो। नौरतीका लागि त्यो खेलौना थिएन, बरू त्यो उसको आफ्नै प्राण भरिएको सन्तान थियो। अघि भर्खरसम्म हाँस्दै खेल्दै गरेको मुटुको टुक्रा थियो। त्यसैले त अलिकति बिरामी भएपछि उसले गोपीलाई भनेर डाक्टर लिन पठाएकी। नौरतीको सत्य त्यही थियो।
डाक्टर भन्छ, त्यो बोल्दैन। निर्जीव हो। नौरती भन्छे, होइन त्यो उसकै प्राण हो, बिरामी भएर नबोलेको हो। नौरतीका ती दृष्टिभ्रमसँगै डाक्टर त्यहाँ बन्धक नै भयो।
गोपीले श्रीमतीको सत्यलाई पनि स्विकारिरहेको छ। डाक्टरको सत्यलाई पनि। र, आफै ती सत्यको भुङ्ग्रोमा भतभती भएको छ। त्यो सत्यबाट डाक्टर निस्किन सकेको छ न नौरतीको सत्यबाट ऊ आफै।
प्राण भरिएका यी तीन अनि एउटा प्राणहीन पात्रहरू वरिपरि डेढघण्टा घुमिरहेको एउटा कठ्याङ्ग्रिएका जीवनहरूको कथा हो– हिउँभन्दा चिसो।
के त्यो निर्जीव खेलौनामा प्राण नभरी त्यो डाक्टर नौरतीको बन्धनबाट फुत्किएला? के नौरतीको सत्यभन्दा बाहिर अर्को सत्यलाई नौरतीले स्विकार गर्ली? हिउँभन्दा चिसो रहस्य के होला?
यस्तै विवाद, संवाद अनि प्रश्नहरूले दर्शकको माथिङ्गल हल्लाइरहन्छन्।
हिउँभन्दा चिसो रहस्य हुन्छ कि हिउँभन्दा चिसो समयको दोख? के हिउँभन्दा चिसो आसुका गासँहरू हुन्छन्?
वस्! हिउँभन्दा चिसो समय, हिउँभन्दा चिसो विस्मय!
धुरीको खामोभन्दा तलतिर, दैलोको पिँधभन्दा मास्तिर जीवन आफैमा दोख हुन्छ।
हिउँभन्दा चिसो रित्तिएको कोख हुन्छ।
निर्देशक सोमनाथ खनालद्वारा निर्देशित नाटक ‘हिउँभन्दा चिसो’ मण्डला थिएटरमा मञ्चन भइरहेको छ। यो नाटक भारतीय चर्चित नाटककार सौरभ शुक्लाले लेखेको नाटक ‘बर्फ’को नेपाली अनुवाद हो।
अनुवादित नाटक भएपनि यसमा नेपालीपन छ। आफ्नै भोगाइ, बुझाइ, भाषा,संस्कृती र भुगोलमा ढाल्न सफल छ नाटक निर्माण समूह। नाटकमा अभिनय गर्ने कलाकारहरूको अभिनयले नाटकलाइ उचाईमा लगेको छ।
सेट डिजाइन, पार्श्व प्रयोग, डायलग डेलिभरी अनि सङ्गीत सबैकुराले आफैमा पूर्ण अनि उन्नत छ नाटक। यो नाटक हेर्ने दर्शकहरूले हाँसो रोदन सबै पाउँछन्।
नाटकमा भोलाराज सापकोटा, गोविन्द सुनार र रेनु नाथ योगीहरूले अभिनय गरेका छन्।